• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित कांग्रेसका ५७ सांसद (तस्बिरसहितको विवरण)

blog

काठमाडौं, मङ्सिर १८ गते। मङ्सिर ४ गते सम्पन्न सङ्घीय चुनावको मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ दोलखाबाहेक १६४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

सत्ता गठबन्धनको तर्फबाट दोलखामा नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार उठाएकाले अब कांग्रेसले प्रत्यक्षतर्फ कुनै सिट पाउने छैन। सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस ५७ क्षेत्रमा निर्वाचित भएको छ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित ५७ क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेस विजयी हुनुभएको छ। सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गरेर सङ्घीय चुनावमा गएको कांग्रेसबाट प्रत्यक्षतर्फ तेह्रथुममा सीता गुरुङ एक जना मात्र महिला जनप्रतिनिधि निर्वाचित हुनुभएको छ। 


प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका ५७ सांसद (विस्तृत विवरण हेर्न नीलो अक्षरमा थिच्नुहोस)

बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो ।


नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । नेता गुरुङले ५ हजार ६२७ मतान्तरसहित विजयी हुनुभएको हाे । कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत  प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का पद्मा अर्यालले २५ हजार ८२९ मत ल्याउनुभएको छ । 


नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको छ । मन्त्री कार्कीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।


उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा.खड्का विजयी हुनुभएको छ ।


बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठोर विजयी हुनु भएको छ । राठोरले नेकपा९एमाले०का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनु भएको हो । 


रामेछाप रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ [कान्छाराम] विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । 


कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट  ४३० मतान्तरले प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। लिम्बूले  २७ हजार २९७   मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार घनश्याम खतिवडाले २६ हजार ८६७  मत प्राप्त गर्नुभयो।


मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनु भएको छ। उहाँले  १४ हजार ७०६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार ७१० मत प्राप्त गर्नुभएको छ।


कपिलवस्तु २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्य ३१७ मतान्तरले विजयी भएका हुनु भएको छ । उहाँले एमालेका बृजेशकुमार गुप्तालाई पराजित गर्दै विजयी हुनु भएको छ ।


सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।


महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका महेन्द्र कुमार राय निर्वाचित हुनु भएको छ । रायले जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनु भएको हो । 


तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक हजार ७९ मतान्तर छ । 


प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो । 


मोरङ ३ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनु भएको छ ।शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो  ।


धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ। धादिङ कांग्रेसका जिल्ला समापति अधिकारीले नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गर्नुभएको हो। कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउनुभएको छ भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाउनुभएको छ। यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको थियो। 


प्रतिनिधि सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्का निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका खड्काले ३२ हजार १५८ मत प्राप्त गरी विजयी बन्नुभएको हो ।


मङ्सिर ४ गते भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गर्नुभएको हो ।


निर्वाचन क्षेत्र नम्बर १ गुल्मीमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ । उहाँले ३३ हजार ७४४ मत ल्याउदा नेकपा (एमाले)का प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ । भण्डारीले एक हजार ५९२ मतले ज्ञवालीलाई पछाडी पार्दै विजयी हुनुभएको हो ।


कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गर्नुभएको हो । पन्तले २१ हजार ३९२ मत प्राप्त गर्नुभयो भने पराजित रानाले २० हजार ३१८ मत पाउनुभयो । 


धनुषा क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव एमालेका उम्मेदवार उमाशंकर अरगरियाभन्दा १५७ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ । यादवले २० हजार ११२ मत प्राप्त गर्नुभएको छ भने अरगरियाले १९ हजार ९५५ मत प्राप्त गर्नुभएको छ ।


दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी हुनुभएको छ । पूर्व सिचाई मन्त्री समेत रहनुभएका गठबन्धनका उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरी दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।


मोरङ क्षेत्र नम्बर ६ बाट बाम–गठबन्धन तर्फका नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी हुनु भएको छ । प्रतिनिधि सभा सदस्यमा  नेपाली कांग्रेसका नेता कोइरालाले प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु पण्डितलाई १२ हजार २८६ को भारी मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।


प्रतिनिधिसभा–२ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनभएको छ । बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शेरबहादुर तामाङले २७ हजार ४९३ मत प्राप्त गर्नु भएको छ ।


उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर  (पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार चौधरी सात हजार १५१ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ४५९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ । 


बर्दिया–१ प्रतिनिधि सभामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । गौतम ३० हजार ६६१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत पाउनुभयो ।


सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ। उहाँ ११ हजार ६१९ मतान्तरले खड्का विजयी हुनुभएको हो। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गर्नुभयो। उपसभापति खड्का पाँचौँ पटक विजय हुनुभएको हो।


पूर्वी नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली  कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ । नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीलाई दुई हजार बढी मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो । कार्कीले ३६ हजार १ सय ४ मत ल्याउनु भएको छ भने महतले ३४ हजार ८३ मत प्र्राप्त गर्नुभएको छ  ।   


सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गर्नुभयो ।


सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । थानीले ३४ हजार ६२५ मतसहित विजय हुनुभएको हो । थानीका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित हुनुभएको हो । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको छ ।


रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी हुनुभएको छ । तिमिल्सिनाले ३४ हजार १६१ मत प्राप्त गर्नुभएको छ । उहाँले निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको हो । रेग्मीले २६ हजार ५५९ मत प्राप्त गर्नुभएको छ । यसअघि तिमिल्सिना २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार १२६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।


भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।  उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गर्नुभयाे । 


प्रधानमन्त्रीका दाबेदार तनहुँ–१ को प्रतिनिधी सभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारी मतान्तरले विजयी हुनुभएको छ ।  पौडेलले प्रस्तिपर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी हुनुहुभयो ।


रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले)का छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै आचार्य विजयी हुनुभएको हो । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाउनुभएको छ ।  आचार्य र तामाङबीचको मतान्तर ९ हजार ६२१ रहेको छ ।


सिन्धुली– १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे । उहाँले ३० हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेद्वार प्रदीप कटुवालले २५ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।


गोरखा–१ बाट वाम–गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस राजेन्द्र बजगाईँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतलाई भारी मतान्तरले हराउँदै विजयी बन्नु भएको हो । 


कैलाली क्षेत्र नं. ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ । बलायरले २६ हजार १७१ मत पाएर विजय हाँसिल गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमाले का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट २२ हजार ५८७ मत पाएर पराजित हुनुभयो । 


दैलेख निर्वाचन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिकपाल कुमार शाही विजयी हुनुभएको छ । शाहीले  २० हजार १५८ मत सहित विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का  २० हजार ५ मत प्राप्त गर्नुभयो । 


दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दुई हजार १३४ मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गर्नु भएको हो । एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाउनुभयो ।


म्याग्दी प्रतिनिधि सभा सदस्य तर्फ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा [खम्बिर] विजयी हुनुभएको छ । खर्बुजाले २४ हजार २१ मत ल्याउनु भएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत ल्याउनु  भएको थियो ।


कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी हुनु भएको छ । साउदले २८ हजार एक सय मत ल्याउनु भएको थियो भने नेकपा (एमाले)का नर बहादुर धामीले २१ हजार ६४५ ल्याउनु भएको थियो ।


कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ । लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो । लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो । 


पर्सा २ बाट नेपाली कांग्रेसका अजय चौरसिया विजयी हुनुभएको छ। नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मत अन्तरले पराजित गर्नुभएको हो। चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मीले २२ हजार ४४५मत पाउनु भएको छ। 


झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अग्नि खरेलले २५ हजार ३४९ मत पाउनुभएको छ। खरेलभन्दा १४ हजार २७५ मत बढी ल्याएर शर्मा विजयी हुनुभएको हो। 


अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो।  शाहले २२ हजार ९५४ मत ल्याएर विजयी हुनुभयो भने निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभएको छ। 


ओखलढुंगाको प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका रामहरि खतिवडा  विजयी हुनुभएको छ। खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गर्नुभएको छ । 


पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रमेशरिजाल विजयी हुनुभएको छ । नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पाँच हजार पाँच सय ३० मत अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका रिजाल विजयी हुनुभएको हो । रिजालले ३१ हजार एक सय ४२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको हो ।


काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी हुनुभएको छ । चालिसे १५ हजार १५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हजार १९६ मत प्राप्त गर्नुभएको छ।


तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी विजयी हुनुभएको छ । २९ हजार ६४५ मत ल्याएर भण्डारी विजयी हुनुभएको हो ।


काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी  विजयी हुनुभएको छ । केसी १४ हजार ४५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याउनुभएको छ ।  


 प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको छ ।


ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ ।


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक संसद् पदमा निर्वाचित हुनुभएको हो। काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाउनुभएको छ। ५ हजार  ६५ मत अन्तरले पौडेल विजयी हुनुभएको हो।


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ। सिंह सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको हो। सिंह उहाँका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको हो। मिश्रले सात हजार ११ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।


मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।


हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो । 


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।४६ वर्षीय थापाले २१ हजार ३०१ मत प्राप्त गर्नुभएको जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नुभएको हो