• २ भदौ २०८२, सोमबार

गोरखापत्रको पूर्वाधार : काठमाडौँ, विराटनगर हुँदै कोहलपुरसम्म

blog

काठमाडौँ धर्मपथस्थित गोरखापत्र संस्थानको केन्द्रीय कार्यालय भवन ।

गोरखापत्र नेपालको ऐतिहासिक सञ्चार संस्था हो । यस संस्थाको भौतिक संरचना खोजी गर्दा काठमाडौँ महानगर, बाँकेको कोहलपुर र मोरङको विराटनगर महानगरपालिकामै पुग्नु पर्छ ।

१. विषय परिचय

एक सय २४ वर्षअगाडि नेपाली भाषाको पहिलो समाचारपत्रका रूपमा प्रकाशित ‘गोर्खापत्र’ अहिले ‘गोरखापत्र’ (विसं १९५८ वैशाख २४ गतेदेखि ‘गोर्खापत्र’, भाग २६ सङ्ख्या ५ मिति १९८३ जेठ ४ गते सोमबारदेखि ‘गोरखापत्र’, २०६२ असार २३ देखि फेरि ‘गोर्खापत्र’ र २०६३ वैशाख १८ देखि पुनः ‘गोरखापत्र’) नेपालको इतिहासको एक मात्र साक्षी अखबार हो । गोरखापत्रलाई धेरैले नेपालको जेठो अखबारका रूपमा चिन्छन् । गोरखापत्र एउटा अखबार मात्र नभएर नेपाली पत्रकारिता र इतिहासको सङ्ग्रहालय पनि हो । इतिहासको सत्य पुष्टि गर्न अनुसन्धानकर्ताले गोरखापत्र पल्टाएकै हुन्छन् । गोरखापत्र इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, साहित्य, पत्रकारिता र इतिहासका विद्यार्थी र अनुसन्धानकर्ताको पूर्वकार्य र विश्लेषणमा जोडिएको छ । राणा शासकले आफ्नो प्रचारका लागि वा जनतालाई आफ्नो सरकारले गरेका कामको जानकारी गराउन सुरु गरेको गोरखापत्र आज नेपाली पत्रकारिताको जननी बनेको छ । यो गोरखापत्र संस्थानका लागि गौरवको विषय हो । नेपाली भूमिमा प्रकाशित भई निरन्तरता पाइरहेको यो नेपालको पहिलो अखबार हो (आचार्य, २०७३, पृ.७७) । यसको निरन्तरतामा अहिलेसम्म कुनै अवरोध आएको छैन ।

शताब्दी लामो इतिहास भएको गोरखापत्र अखबार पूर्वाधारको दृष्टिले भने कमजोर छ । काठमाडौँ महानगरपालिका–२२, धर्मपथको जुद्ध सडकबाट देखिने पुरानो र भत्किनै लागेको भवन नै गोरखापत्रको प्रतीक हो । १२४ वर्षको जीवित इतिहास भएको गोरखापत्रलाई सुन्दर भवनमा सजाउने सपना व्यवस्थापनले पटक पटक देखे पनि त्यो पूरा हुन भने सकेको छैन । 

गोरखापत्र कार्यालयका बारेमा विभिन्न भनाइ र लेखोट पाइन्छन् । ग्रीष्मबहादुर देवकोटादेखि गोरखापत्र संस्थानमा कार्यकारी भूमिका निर्वाह गरेका व्यवस्थापकसम्मले गोरखापत्रको सुरुवात र यसको कार्यालयका बारे विभिन्न लेख र इतिहास कोट्याएका छन् । गोरखापत्रका प्रधान सम्पादक, पुराना कर्मचारी र पत्रकारले यसको सुरुवात र कार्यालयका बारे विभिन्न प्रमाण पेस गरेका छन् । गोरखापत्रको सुरुवात धर्मपथबाट भएको होइन भन्ने प्रमाण भने प्रशस्त पाइन्छन् । 

विसं १९५८ मा देवशमशेरबाट मुद्रण र व्यवस्थापनको जिम्मा पाएका पं. नरदेवले सुरुवाती दिनमा गोरखापत्रलाई फसिकेब ‘(नेवारी शब्द ‘फसिक्यब’, नेपाली अर्थ फर्सीको बारी)’ मा राखे पनि चन्द्रशमशेर शासनमा आएपछि उनकै ज्वाइँ जयपृथ्वीबहादुर सिंहलाई तालुकदारमा नियुक्त गरेपछि उनले आफ्नै बसाइको पायक पर्ने गरी नारायणचौर नक्सालमा सारे (कोइराला, २०७४, पृ.४०) । यसरी यो संस्थाको स्थानान्तरण र पुनस्र्थापना भएको पाइन्छ ।

मुलुकको जेठो पत्रिका गोरखापत्रको स्थापना र उत्थानमा जयपृथ्वीबहादुर सिंहको अहम् भूमिका रहेको पाइन्छ । विसं १९५७ मा गोरखापत्र प्रकाशनार्थ सिंहले आवश्यक तयारीमा सहयोग गरेका थिए । उनकै सहयोगमा १९५८ सालदेखि गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित हुन थालेको हो । सुरुवातमा जयपृथ्वीले गोरखापत्रको सञ्चालक भएर काम गरेको पाइन्छ । सर्वहितैषी चरित्रका जयपृथ्वी बहादुरले नै गोरखापत्रको मूलमन्त्रका रूपमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जन ।।’ चयन गरेका थिए (भण्डारी, २०७९, https://gorkhapatraonline.com/news/16583  । त्यसपछि आजसम्म यो विचार नै गोरखापत्रको विचार वाक्य वा पहिचान बनिरहेको छ ।

गोरखापत्रको पूर्वाधारको खोजी गर्दा छापाखानाको इतिहास खोज्नुपर्ने देखिन्छ । ‘केही तथ्यले गोरखापत्रको पूर्वाधार खोज्दा प्रेसलाई पछ्याउनुपर्ने बाध्यता’ बनाएको हो । जहाँ प्रेस थियो त्यही गोरखापत्रको ठेगाना भयो । काठमाडौँ नक्सालको नन्दीकिशोर बहाल (अहिले नन्दी माध्यमिक विद्यालय भएको स्थान) मा राममणि आदिको नेतृत्वमा चन्द्रशमशेरले बनाएको ‘नेपाल भाषा प्रकाशिनी समिति’ थियो । नेपालको भाषा प्रचारका लागि चन्द्रशमशेरले त्यो स्थापना गरेका थिए । प्रकाशिनी समितिले पाठ्यपुस्तक र अन्य किताब निकाल्ने गरेको पाइन्छ । यसलाई आधार मान्दा सुरुमा गोरखापत्र त्यहीँ छापियो भनेर अनुमान गर्न सकिन्छ । नेपालमा छापाखाना ल्याउन राणा शासन अवधिमा पहल भएका छन् । गोरखा भाषा प्रकाशिनी समितिको स्थापना चन्द्रशमशेरले गरेका हुन् । राणा शासकले नन्दी माध्यमिक विद्यालय खोलेको र त्यहाँ गोरखा भाषा प्रकाशिनी समिति स्थापना भएको विषय उल्लेख छ । ‘(अधिकारी, २०७८, पृ.३९)’ ।  यसरी हेर्दा गोरखापत्र र गोरखा भाषा प्रकाशिनी समितिको भगिनी सम्बन्ध देखिन्छ । 

२. स्थापना : स्थानान्तरण र स्थायित्व

गोरखापत्र प्रकाशनअगाडिका तयारी र पृष्ठभूमिका किस्सा फरक अनुसन्धानका विषय बन्छन् । गोरखापत्रको पहिलो अङ्क १९५८ साल वैशाख २४ गते तदनुसार सन् १९०१ को मे ६ तारिखका दिन प्रकाशित भयो । पहिलो अङ्कको पुछारको पृष्ठमा उल्लेख भएको ठेगानामा ‘पं. नरदेव, मोतीकृष्ण शर्मा, पशुपत–प्रेस, नेपाल ।’ लेखिएको छ (१९५८, पृ.१, गोरखापत्र) । यसरी हेर्दा गोरखापत्रको ठेगाना कार्यालयभन्दा पनि छापाखानाको ठेगानामा प्रकाशन हुन थालेको देखिन्छ । 

पशुपत छापाखाना पहिले ठँहिटी र पछि फसिकेबमा सरेको थियो । त्यो बेला ‘गोर्खापत्र’ साप्ताहिक थियो । नेपाल संवत् १९५९ मिति श्रावण वदी १ सोमबारदेखि ‘ठेगाना–म्यानेजर, गोरखापत्र–छापाखाना, नक्साल, नेपाल’ छापिन थाल्यो । यो गोरखापत्रको आफ्नै छापाखाना थियो । पशुपत छापाखानाबाट सुरु भएको यो समाचारपत्र जङ्गबहादुरले भित्र्याएको गिद्धे प्रेसमा पनि छापिन्थ्यो (अधिकारी, २०८०, पृ. ११)। 

‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’  किताबमा ग्रीष्मबहादुर देवकोटाले गोरखापत्रका बारेमा धेरै कुरा उल्लेख गरेको भेटिन्छ । गोरखापत्रको कार्यालय वा भौतिक संरचनाको खोजी गर्दा यो किताब एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री बनेको छ । गोरखापत्र कहिले कहिले कहाँ कहाँबाट छापियो भन्ने प्रश्नको जवाफ देवकोटाको नेपालको छापाखाना पुस्तकको एउटा अनुच्छेदबाट प्रस्ट हुन सकिन्छ : 


‘यस पत्रिकाको सुरु वर्ष १ सङ्ख्या १ देखि वर्ष २ सङ्ख्या ११ सम्म पं. नरदेव मोतीकृष्ण शर्माद्वारा ‘पशुपति प्रेस’ ‘ठँहिटी आढतबाट मुद्रित भई प्रकाशित भयो । पं. नरदेव पाण्डेबाट ये पत्रिका छापी प्रकाशित गर्ने कार्य झिकी राजा जयपृथ्वीबहादुर सिंहको तालुकमा दिइएपछि यो पत्रिका वर्ष २ सङ्ख्या १२ मिति १९५९ श्रावण वदी १ सोमबारदेखिको अङ्क ‘गोरखापत्र छापाखाना’ नक्सालबाट मुद्रित भई प्रकाशित हुन थाल्यो । वर्ष २ सङ्ख्या १२ देखि वर्ष २६ सङ्ख्या ४९ सम्मको अङ्कमा– ‘मेनेजर गोरखापत्र छापाखाना, नकसाल, नेपाल’ भनी देखिएको छ ।’ यस समयमसम्म नेपालमा हातेप्रेस मात्र थियो । नेपालबाट बिजुलीद्वारा सञ्चालित प्रेसको स्थापना भएपछि यो पत्रिका इलेक्ट्रिक मसिन–प्रेसबाट छापिन थाल्यो । वर्ष २६ सङ्ख्या ५० मिति १९८३।१२।२९ देखिको पत्रिकामा “मेनेजर गोरखापत्र इलेक्ट्रीक मेशिन प्रेस, नकसाल नेपालबाट छपाई प्रकाशित भयो । (देवकोटा, २०५९, पृ. ७०) ।” 

यसरी विभिन्न छापाखाना र ठेगानामा छापिने गोरखापत्र बसाइँ सर्दै सर्दै नयाँ सडक पुगेको इतिहास पाइन्छ । २०८१ सालमा आइपुग्दा गोरखापत्रमा जुद्ध सडकको ठेगाना लेख्न थालेको र त्यो अवधि पनि अब ८५ वर्ष पूरा भएको छ । १९९६ साल वैशाख ९ गते शुव्रmबार प्रकाशित गोरखापत्रको पृष्ठ २ को तेस्रो ‘कोलम’ मा गोरखापत्रको कार्यालय ठेगाना परिवर्तन भएको सूचना छ :

 सूचना

‘यो ९६ साल वैशाख १ गतेदेखि गोरखापत्र कार्यालय जुद्ध सडक्मा स¥यो । यस कारण गोरखापत्रसम्बन्धी कुरामा लेखापढी र भेटघाट गर्न चाहने महाशयले यो तलको ठेगानामा ध्यान दिनु आवश्यक छ ।

ठेगाना 

गोरखापत्र–कार्यालय जुद्धसडक, नेपाल  (गोरखापत्र, १९९६, पृ. २)।’

‘यो सूचनामा यसअगाडि गोरखापत्र कहाँ थियो भन्ने कुरा उल्लेख छैन । १९९१ साल वैशाख ४–११ को अङ्कदेखि गोरखापत्रमा सम्पादकको नाम छाप्न थालिएको पाइन्छ । त्यस बेलादेखि ‘सम्पादक प्रेमराज शर्माद्वारा गोरखापत्र छापाखाना नक्साल नेपालबाट प्रकाशित’ भनी प्रिन्ट लाइनमा छाप्न थालिएको छ (अधिकारी, २०८०, पृ.१२) ।’

‘जुद्ध सडकमा ठेगाना सर्नुअगाडि संस्थानको छापाखाना नक्सालमा भएको खुले पनि गोरखापत्रको भौतिक संरचना के थियो भन्ने कुरा अनुसन्धानको विषय हो ।’ १९९० सालको भूकम्पले नक्सालबाट जुद्ध सडक सरेको अनुमान गर्न सकिन्छ । जुद्ध सडकमा रहेको राणाहरूको घोडाको तबेलाका दुई वटा टहराबाट गोरखापत्र सञ्चालन भएको कुरा पुराना कर्मचारीले बताउने गरेका छन् । 

सरसर्ती हेर्दा १९९० सालको माघ २ गतेको गोरखापत्र केही रहस्यमय ढङ्गले प्रकाशित भएको फेला पर्छ । यसको पृष्ठ–२ मा ‘भूकम्पले ठूलो नोक्सान भयो’ भन्ने शीर्षकमा समाचार छापिएको छ (गोरखापत्र, १९९०, पृ.२) । माघ २ गते दिउँसो २ बजे भूकम्प गएको समाचार त्यही दिनको मितिमा छापिएको छ । कसरी पत्रिका भूकम्प गएकै दिन छापियो र पछाडिका केही अङ्क छापिन सकेनन् भन्ने कुरा अनुसन्धानकर्ताका लागि महìवपूर्ण विषय बन्न सक्छ । 

भूकम्प गएकै दिन पत्रिका छापेको गोरखापत्रले त्यसपछिको अङ्कमा भने  भूकम्पले भौतिक संरचना र प्रेसमा असर गरेकाले हामीले नियमित छाप्न सकेनौँ भनेर सूचना छापेको छ । ‘भूकम्पपछि १९९० साल माघ ९–१६ गते संङ्ख्या ३९ र ४० एकसाथ छापिएको छ । उक्त पत्रिकाको पृष्ठ १ मा भूकम्पले ‘गोरखापत्र’ को छापाखाना, अफिसघरै समेत भत्की प्रेस, केश आदि थिचिई–मिचिई घरले भयंकर रुप धारण गरेको उल्लेख छ । उक्त सूचनामा भूकम्पको कारण गोरखापत्रको अंक ३९ र ४० एकसाथ छाप्न नसकेको र ग्राहकसँग बल्लतल्ल सेवामा आएको उल्लेख छ । तर त्यो भवन कहाँ थियो भनेर उल्लेख गरिएको छैन ।’ 

सूचना छापिएपछि गोरखापत्र दुई पटक १५ दिनमा मात्र छापिएको छ । माघ–२३ र फागुन १ गते सोमबारको सङ्ख्या ४१–४२ एकसाथ १५ दिनमा छापिएको छ भने फागुन ८ र १५ गतेको सङ्ख्या ४३–५५ समेत दुई अङ्क एकसाथ छापिएको छ । ९० सालको भूकम्पपछि फागुन २२ गते सोमबारको ४५ अङ्कदेखि भने गोरखापत्र साप्ताहिक रूपमा छापिएको छ । यसरी हेर्दा गोरखापत्रका भौतिक संरचनामा १९९० सालको भूकम्पको ठुलो असर देख्न सकिन्छ । 

३. गोरखापत्रको जग्गा 

गोरखापत्र संस्थानको भौतिक संरचनाको इतिहास राणा शासक (जुद्धशमशेरको घोडा बाँध्ने तबेला) को घोडा तबेलाबाट सुरु हुन्छ । गोरखापत्र संस्थानको पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ धर्मपथमा कित्ता नम्बर १००५ को एक रोपनी १२ आना तीन पैसा तीन दाम (१–१२–३–३) जग्गा छ । यो संस्थानको पुरानो सम्पत्ति हो ।  गोरखापत्रको काठमाडौँमा बाहेक अन्यत्र पनि जग्गा देखिन्छ । लुम्बिनी प्रदेशको बाँके जिल्लाको कोहलपुर नगरपालिका रझेनामा एक बिघा जग्गा छ । कित्ता नम्बर २८४ रहेको आफ्नै स्वामित्वको यो जग्गामा दुई वटा जस्ताको छानो भएको गोदाम र प्रेस भवन निर्माणाधीन अवस्थामा छन् । यी भवन प्रयोगमा छैनन् । 

कोशी प्रदेशको मोरङ जिल्लास्थित विराटनगरको कञ्चनबारीमा सात कट्ठा १७ धुर (०–७–१७) क्षेत्रफलको कित्ता नम्बर १०५८ रहेको प्रयोगमा नरहेको जग्गा छ । खरिद गरेर रेखदेख नहुँदा सँधियारबाट जग्गा मिचिएकाले उक्त जग्गा प्रयोगमै अवरोध सिर्जना भइरहेको छ । 

त्यसै गरी विराटनगरकै बैजनाथपुर–५ मा कित्ता नम्बर १४२ को सात कट्ठा जग्गा छ । सात वटा भवन रहेको उक्त जग्गामा तीन वटा पक्की भवन छन् । चार वटा कच्ची जस्ताको छाना भएको गोदाम, प्रेस, चमेनागृह र गार्ड पोस्ट रहेका छन् । यी भवन २०७६ असार ३० गते नेपाल सरकारले निर्माण सम्पन्न गरेर गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको हो । अहिले सातमध्ये छ वटा भवन कार्यालय प्रयोजनमा छन् भने एउटा आवासमा उपयोग भएको छ (बस्नेत, २०८१ कुराकानी) । विराटनगरको संरचनालाई संस्थानले व्यवस्थित गर्ने प्रयास गरेको देखिन्छ । 

४. गोरखापत्रको भौतिक पूर्वाधार 

गोरखापत्र संस्थानको भौतिक पूर्वाधार काठमाडौँ धर्मपथको केन्द्रीय कार्यालय, मोरङ र बाँकेमा छन् । प्रदेश कार्यालय हरेक प्रदेशमा छन् । सात वटा प्रदेश कार्यालयमध्ये लुम्बिनी र विराटनगरको प्रदेश कार्यालय आफ्नै भवनमा भए पनि मधेशको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा र कर्णालीको सुर्खेत कार्यालय भाडामा बसेका छन् । 

४.१. धर्मपथ काठमाडौँ केन्द्रीय कार्यालय

गोरखापत्र संस्थानको पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ धर्मपथ काठमाडौँमा एक रोपनी १२ आना तीन पैसा र तीन दाम (१–१२–३–३) जग्गा छ । उक्त जग्गामा तीन वटा भवन छन् । तीन दशकभन्दा बढी बसेको ठाउँ (नक्साल) ९० सालको भुइँचालोले प्रभावित पारेपछि ठाउँ सार्न धेरै प्रयास भयो । दुई÷तीन वर्ष कुर्दा पनि गतिलो र भरपर्दो ठाउँ नपाएपछि हालको नयाँ सडक पिपलबोटमा रहेको हनुमानढोका दरबारको घोडा तबेलाकोे अँध्यारो छिँडीमा ठाउँ पायो (कोइराला, २०७४, पृ.४०) । त्यही ठाउँमा अहिलेसम्म गोरखापत्रले केन्द्रीय कार्यालयको सम्पूर्ण काम गर्दै आएको छ ।

यहाँ बनेका तीन वटा भवन केन्द्रीय कार्यालय र प्रेसका लागि उपयोग भएका छन् । यिनै भवनबाट उत्पादन र सम्पादकीय समूहको सम्पूर्ण काम हुन्छ । केन्द्रीय कार्यालयको तीन नम्बर भवनमा सिटुपी (कम्प्युटर टु प्लेट) मेसिन एक थानसहित आधुनिक प्रेस सञ्चालनमा छन् । 


गोरखापत्रको केन्द्रीय कार्यालयका तीन वटा भवनमध्ये एउटा जीर्ण अवस्थाको छ । २०७२ सालको भूकम्पपछि बस्न नमिल्ने भनिएको भवनमा अहिले पनि सयौँ कर्मचारी दैनिक प्रशासनिक काम गर्दै आएका छन् । कमजोर संरचनाका कारण भूकम्पले घोडा तबेलामा पनि नबस्न भनेको छ । युग अनुरूप गोपमा परिवर्तन आवश्यक छ (कोइराला, २०७३ पृ.१६) । यो जीर्ण भवनमा प्रशासन प्रमुखदेखि वितरण विभागका कर्मचारीसम्म बसेर काम गर्न बाध्य छन् । तीन तलाको यो भवनको छतमा ट्रस्ट राखेर सामान्य प्रशासन शाखा सञ्चालनमा ल्याइएको छ । अर्को तीन तलाको भवनमा प्रेस, नवनिर्मित समाचार कक्ष, अध्यक्षको कार्यकक्ष, व्यापार विभागलगायत प्रशासनिक काम हुन्छन् । अर्को ट्रस्टसहित चार तलाको भवनमा लाइब्रेरी, अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’, गोरखापत्र दैनिक, ‘मधुपर्क’, ‘मुना’ र ‘युवामञ्च’  को समाचार कक्ष छन् । गोरखापत्रको नेतृत्व वा व्यवस्थापनले केन्द्रीय कार्यालय सार्नका लागि विभिन्न योजना र अवधारणा अगाडि सारे पनि त्यो सम्भव नभएको देखिन्छ । भूकम्पपछि यसका लागि तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले केही प्रयास गरेको देखिन्छ । केन्द्रीय कार्यालय स्थानान्तरणका लागि धेरै प्रयास भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयसँग गरिएको आग्रह अनुसार कामको प्रकृति मिल्ने सिंहदरबारस्थित मुद्रण विभाग र गोरखापत्रसँगै बस्ने चाँजोपाँचो मिल्दै थियो । अन्तिममा तत्कालीन मुख्य सचिवले योजना आयोग सार्ने आदेश दिएपछि मुद्रण विभाग नै आफ्नो थलो छोडेर बाहिरिनु प¥यो, गोरखापत्रको त कुरै भएन (कोइराला, २०७४, पृ.४१) । केही प्राविधिक कारणले पहल भएर पनि गोरखापत्रले केन्द्रीय कार्यालय साँघुरो क्षेत्रमा सञ्चालन गर्न बाध्य भएको देखिन्छ ।


४.२.  बाँकेको कोहलपुरको रझेना

लुम्बिनी प्रदेशको बाँके जिल्लाको कोहलपुर नगरपालिका रझेनामा गोरखापत्र संस्थानको एक बिघा जग्गा छ । कित्ता नम्बर २८४ रहेको आफ्नै स्वामित्वको यो जग्गामा दुई वटा जस्ताको छानो भएको गोदाम र प्रेस भवन छन् । यो कार्यालयमा ‘फोरएचवान’ वेब मेसिन छ । यहाँ प्रशासकीय भवन नहँुदा नेपाल टेलिभिजनको कार्यालयबाट प्रशासनिक काम सञ्चालन भइराखेको छ । भवन बनाउन हामीसँग पैसा छैन र सरकारले बनाउन पहल गरेको छैन (कुराकानी, २०८१) । 

कोहलपुरमा दुई चरणमा भवन निर्माण भएका छन् । पहिलो चरणमा कम्पाउन्ड वाल, गेट र पालेघर बनेका छन् । यो सबै काम संस्थान आफैँले गरेको हो । यसका लागि ३४ लाख ८५ हजार १४३ रुपियाँ खर्च गरेको छ ।

प्रेस भवन, गोदाम र सिटुपी कोठासहित प्रिफ्याबका भवन बनेका छन् । यी भवन निर्माणका लागि २०७७ साल साउन ८ गते सम्झौता भएको हो । सम्झौता अनुसार तीन करोड २९ लाख १० हजार १२० रुपियाँमा टेन्डर भएर काम भएको हो । भवन निर्माण सुरु भएपछि कोरोना महामारीको असर व्यापक भएकाले तोकिएको समयभन्दा केही ढिला गरी उमा एन्ड कम्पनी शिवालय जेभीले २०७९ असार २७ गते हस्तान्तरण गरेको हो । 


४.३. विराटनगरको बैजनाथपुर

विराटनगर उपमहानगरपालिका–१९, बैजनाथपुरमा कित्ता नम्बर १४२ को सात कट्ठा जग्गा छ (०२३–७०.२० वर्ग मिटर) । विराटनगरको यो जग्गा २०७२ साल जेठ १८ गते खरिद भएको हो । यो खरिद गर्दाको लागत प्रतिकट्ठा नौ लाख २५ हजार रुपियाँ परेको छ । यो जग्गा खरिदमा कुल ६४ लाख ७५ हजार तिरिएको थियो (बस्नेत, २०८१, कुराकानी) । सात वटा भवन रहेको उक्त जग्गामा तीन वटा पक्की भवन छन् । चार वटा कच्ची जस्ताको छाना भएको गोदाम, प्रेस, चमेनागृह र गार्ड पोस्ट रहेका छन् । यी भवन २०७६ असार ३० गते हस्तान्तरण भएका हुन् । यी भवनको लागत मूल्य सात करोड ४७ लाख रहेको छ । अहिले सातमध्ये छ वटा भवन कार्यालय प्रयोजनमा छन् भने एउटा आवासमा उपयोग भएको छ । 

विराटनगरमा प्रदेश कार्यालय र छापाखानाका लागि महत्वपूर्ण संरचना बनेका छन् । सम्पादकीय, प्रशासन, आवास, प्रेस, गोदाम र सुरक्षाका लागि भवन बनेका हुन् । विराटनगरमा बनेका संरचनालाई यसरी बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ :

  दुई तलाको सम्पादकीय भवन,

  तीन तलाको प्रशासन भवन,  

  दुई तलाको आवास भवन, 

  जस्ताको छानो भएको प्रेस भवन

  जस्ताको छाना भएको चमेनागृह,

  जस्ताको छानो भएको सुरक्षा गार्ड भवन,

  जस्ताको छानो भएको गोदाम भवन ।

यी सबै भवन नेपाल सरकारको लागतमा बनेका हुन् । सबै भवन एकसाथ भवन विभागले ठेक्का लगाएर बनाएको हो (शाह, २०८१ कुराकानी) । यी संरचनाले विराटनगरको प्रदेश कार्यालयलाई व्यवस्थित गरेको छ ।  

कोशी प्रदेशको मोरङ जिल्लास्थित विराटनगर नगरपालिका–३, कञ्चनबारीस्थित पुष्पलाल चोकमा सात कट्ठा १७ धुर (०–७–१७) क्षेत्रफलको कित्ता नम्बर १०५८ रहेको प्रयोगमा नरहेको जग्गा छ । विराटनगर नगरपालिकाले दिएपछि रेखदेख नहुँदा सँधियारबाट जग्गा मिचिएकाले उक्त जग्गा प्रयोगमै अवरोध सिर्जना भइरहेको छ । विवादित यो जग्गा मोरङको ग्रामथाम गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । ग्रामथान क्षेत्रका स्थानीयले सडक विस्तार हुँदा व्यक्तिको जग्गा नकाटी गोरखापत्रको जग्गाबाटै सबै सडक बनाउन दबाब दिएपछि यो जग्गा प्रयोगविहीन बनेको छ । केही केही टुक्र प्रयोगयोग्य भए पनि अधिकांश भाग भने बाटोले काटेको छ (बस्नेत, २०८० कुराकानी) । यो जग्गाको सुरक्षाका लागि ठुलो प्रयास भएको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा जग्गाको सुरक्षाका लागि पहल भए पनि सम्भव नभएको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ । अझैसम्म दुईदेखि तीन कट्ठा जग्गा सुरक्षित गर्न सक्ने अवस्थाको छ । नगरपालिकाका प्रतिनिधिसँग पटक पटक गएर कुरा गर्दा जनतालाई बाटो छेक्न नहुने बताउँदै आएका छन् । 

५. जीर्ण भौतिक संरचनाका महत्वपूर्ण प्रकाशन

माथिका जीर्ण भौतिक संरचनामा ‘गोरखापत्र दैनिक’, ‘अङ्ग्रेजी दी राइजिङ नेपाल’ दैनिक, ‘गोरखापत्र अनलाइन’ र ‘राइजिङ नेपाल डेली अनलाइन’ सँगै केही महत्वपूर्ण सहप्रकाशन नियमित प्रकाशनमा छन् । गोरखापत्र संस्थानले २०२२ साल पुस १ गतेबाट अङ्ग्रेजी भाषाको ‘दी राइजिङ नेपाल’ दैनिक प्रकाशनमा ल्याएको हो । २०२५ साल जेठ महिनादेखि मासिक साहित्यिक प्रकाशन ‘मधुपर्क’ ल्याएको संस्थानले २०४५ साल वैशाखदेखि युवालक्षित मासिक ‘युवामञ्च’ प्रकाशनमा ल्यायो भने २०४७ साल पुस महिनादेखि बालबालिका केन्द्रित ‘मुना’ मासिकको प्रकाशन निरन्तर गर्दै आएको छ । यसका अतिरिक्त ‘गोरखापत्र अनलाइन’ र ‘दी राइजिङ नेपाल’ डेली अनलाइनले नेपालको डिजिटल पत्रकारिताको नेतृत्व गरिराखेका छन् । गोरखापत्र दैनिकले २०६४ असोज १ गतेदेखि बहुभाषिक पृष्ठ (नयाँ नेपाल) प्रकाशन आरम्भ गरेको हो (चौधरी, २०७४, पृ.१२५) । यी प्रकाशनले गोरखापत्रलाई भाषिक ढङ्गले समृद्ध बनाएको छ ।

‘अहिले गोरखापत्र दैनिकले ४५ भाषामा बहुभाषिक पृष्ठ प्रकाशन गर्दै आएको छ । २०८१ साल पुसदेखि वाम्बुले राई भाषाको नयाँ पृष्ठ सुरु भएको छ । विसं २०८१ पुस ११ गते बिहीबार प्रकाशन प्रारम्भ भएको वाम्बुले राई भाषापृष्ठ सिंहदबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिक रूपमा सो पृष्ठको सार्वजनिक गर्नुभयो (गोरखापत्र अनलाइन, २०८१) । यसले गोरखापत्रलाई बहुभाषिक बनाउन महत्वपूर्ण योगदान सरकारको नेतृत्व र तालुकदार मन्त्रालयले दिएको प्रस्ट देख्न सकिन्छ ।’

गोरखापत्रले सहप्रकाशन भएकामध्ये The Nepal Prespective  अङ्ग्रेजी भाषाको साप्ताहिक प्रकाशन २०२१ सालमा सुरु भएर २०३२ सालमा बन्द भयो भने २०४७ वैशाखमा प्रकाशन सुरु भएको अर्को अङ्ग्रेजी साप्ताहिक Sundey Dispatch  ‘सन्डे डिस्प्याच’ छोटो समयमै बन्द भयो । २०५५ साल वैशाखमा सुरु भएको मनोरञ्जनात्मक मासिक पत्रिका ‘मनोरम अप्सरा’ २०५७ मङ्सिरमा बन्द भयो (अधिकारी, २०८० पृ. २६) । यसरी विभिन्न समयमा भएका भगिनी प्रकाशनको आरम्भ र अवसानको कथाव्यथा पनि गोरखापत्रसँग रहेको छ ।           


६. जग्गाको जोहो र भवन निर्माण प्रयास  

गोरखापत्र संस्थान व्यवस्थापनले केन्द्रीय कार्यालय भवन निर्माणका लागि पटक पटक प्रक्रिया अगाडि बढाएर पनि काम सम्पन्न हुन नसकेको देखिन्छ । २०७२ सालको भूकम्पपछि जुद्ध सडकमा रहेको संस्थानको राणाकालीन भवनलाई भत्काएर नयाँ भवन बनाउनका लागि बजेटसमेत विनियोजन भएपछि प्रक्रिया अगाडि बढ्न नसकेको पाइन्छ ।

तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले केन्द्रीय कार्यालय खुला र फराकिलो ठाउँमा सार्न रेडियो नेपालको ललितपुरस्थित खुमलटारको जग्गालाई राम्रो विकल्पका रूपमा अगाडि सारेर प्रक्रिया अगाडि बढे पनि त्यो काम सफल नभएको देखिन्छ ।

संस्थानको तालुकदार सञ्चारमन्त्री शेरधन राई भएको समयमा खुमलटारको रेडियो नेपालको जग्गा प्राप्तिका लागि सकारात्मक छलफल भएर त्यसपछि सञ्चारमन्त्री बन्नुभएका सुरेन्द्रकुमार कार्की (राम कार्की) को पहलमा आवश्यक रकम दूरसञ्चार प्राधिकरणले दिने र नेपाल सरकारले खुमलटारस्थित रेडियो नेपालको १० रोपनी जग्गा गोखापत्रलाई छुट्याएर बाँकी जग्गा दूरसञ्चार प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको दाबी तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले गर्नुभएको छ तर उक्त जग्गा प्राप्तिको नतिजा अहिलेसम्म देखिएको छैन । 

६.१ २०७२ सालको भूकम्पपछि केन्द्रीय कार्यालय भवन निर्माणको पहल जीर्ण अवस्थामा रहेको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि २०७२ को भूकम्पपछि विभिन्न प्रयास भएका छन् । त्यसपछिका व्यवस्थापनले भवन निर्माणका लागि पहल गरेका छन् । 

२०७४/११/२१ मा तत्कालीन महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहल, काठमाडौँलाई ‘भवन डिजाइन सम्बन्धमा’ विषयमा पत्र लेखेर २०७४/११/१५ को निर्णय अनुसार अनुरोध गर्नुभएको छ । पत्रमा एकाइको मिति २०७४/८/२० र २०७४/१०/१९ को पत्र अनुसार संस्थानको धर्मपथमा रहेको जग्गामा भवन निर्माण कार्यका लागि डिजाइन गर्न धनीपुर्जाको फोटोकपी, नापनक्सा (टे«सिङ) र कार्यालयलाई आवश्यक कोठाको विवरणसमेत पठाएको जानकारी गराएका छन् (उपाध्याय, २०७४, पत्र) । 

मिति २०७५/०४/१० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) जिल्ला आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख इन्जिनियर लीला खतिवडाले आर्थिक वर्ष २०७४/७५ को स्वीकृत कार्यक्रममा ‘गोरखापत्र संस्थान धर्मपथ काठमाडौँ’ को कार्यालय भवन डिजाइन परामर्श सेवा खरिदका लागि वार्षिक बजेट विनियोजन भई आएको हुँदा उक्त कार्यका लागि गत आवको स्वीकृत कार्यक्रमबाट नै परामर्शतादाको छनोटका लागि भ्इक्ष् प्रक्रिया सुरु भइसकेको र यस आव २०७५/७६ मा उक्त भवन डिजाइनका लागि परामर्शदाता छनोट गरी कार्य अगाडि बढाइने बेहोरा अनुरोध गरिएको छ (खतिवडा, २०७५, पत्र) । यो पत्र गोरखापत्र संस्थानमा २०७५/४/१३ मा दर्ता भएको छ । यसको दर्ता नम्बर ४९९ उल्लेख छ । 

२०७५ साल माघ २१ गते तत्कालीन कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, विज्ञ सल्लाहकार टीकाराम राई, कानुनी सल्लाहकार कुमारप्रसाद भट्टराई, अर्थ निर्देशक यमप्रसाद कँडेल, नि. निर्देशक प्रशासन मो. जैनुल हक, नि. निर्देशक सोमबहादुर घले, प्रबन्धक सामान्य प्रशासन भगीरथ बस्नेत, योजना प्रबन्धक ताराबहादुर बस्याल, सामान्य प्रशासन प्रबन्धक गंग ब. पन्थी, प्रबन्धक राजुकुमार महत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर विमल गिरी, डिजिकमका प्रबन्ध निर्देशक रामउदार यादव, डिजिकमका निर्देशक चेतनाथ पाण्डे, आर्किटेक्ट जय थापालगायतको उपस्थितिमा बसेको बैठकले गोरखापत्र संस्थानको पुरानो भवन भत्काएर नयाँ भवन बनाउन डिजाइन नक्सा तयार गर्नका लागि काठमाडौँ जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) बाट नियुक्त भएका कन्सल्टेन्टलाई दिने निर्णय गरेको छ (माइन्युट, २०७५) । यो प्रक्रिया पूरा गर्नका निम्ति पटक पटक ताकिता भए पनि त्यो काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन । 

सोही पहलबमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) का इन्जिनियर एवं आयोजना प्रमुख सुदीप आचार्यले २०७६।०९।०३ मा ‘लागत अनुमान तथा नक्सा स्वीकृत सम्बन्धमा’ विषय उल्लेख गरेर पत्र लेखेका छन् । उक्त पत्रमा आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यव्रmम अनुसार गोरखापत्र संस्थानको भवन निर्माण कार्यको म्चबधष्लन म्भकष्नल तथा लागत अनुमान स्वीकृतसम्बन्धी टिप्पणी पठाइएको उल्लेख छ (आचार्य, २०७६ पत्र) । भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि भएको पहल अनुसार प्रस्तावित नक्साको छायाप्रति जानकारीका लागि संलग्न गरी पठाएको जानकारी २०७८/३/२५ मा पत्र लेखेर तत्कालीन प्रशासन विभागका निमित्त निर्देशक ताराबहादुर बस्यालले कार्यकारी अध्यक्षलाई बोधार्थ लेखेर संस्थानका सम्पूर्ण प्रकाशन र विभागमा पठाउनुभएको छ (बस्याल, २०७८, पत्र) । यो प्रयासलाई निष्कर्षसम्म लैजान भने व्यवस्थापन सफल नभएको देखिन्छ ।

मिति २०७८/०५/२३ मा निमित्त महाप्रबन्धक हुँदा शिवकुमार भट्टराईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ‘भवन निर्माण सम्बन्धमा’ विषय उल्लेख गरेर पत्र लेख्नुभएको छ । उहाँले लेख्नुभएको पत्रमा भवन पुनर्निर्माण कार्य गर्न कन्सल्टेन्ट डिजिकम एमआरबी युनाइडेड जेभी नियुक्त भई संलग्नबमोजिम भवन डिजाइन गरी बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी प्राप्त भएको उल्लेख गर्नुहुँदै बजेट निकासा नहुँदा ठेक्कापट्टाका लागि बोलपत्र सूचनासमेत प्रकाशन गर्न नसकेको जानकारी गराउनुभएको छ (भट्टराई २०७८, पत्र) । छोटो समय मात्र नेतृत्वमा बसेर काम गर्ने अवसर पाउँदा हरेक पटक भवन निर्माणको कामले पूर्णता नपाएको पाइन्छ ।

मिति २०८७/०५/२५ मा गोरखापत्र संस्थानका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई तत्कालीन प्रशासन तथा व्यापार विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले ‘विवरण उपलब्ध गराइदिने बारे’ विषयमा पत्र लेख्नुभएको छ । उक्त पत्रमा भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माणका लागि ड्रोइङ डिजाइन तथा लागत अनुमानसमेत गरी नेपाल सरकारको वार्षिक विकास कार्यक्रम (आव २०७६/७७ र २०७७/७८) मा समावेश भएर कार्य प्रक्रिया अगाडि बढेकोमा सो को हालसम्मको कार्यप्रगतिको यथार्थ अवस्थाका बारेमा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ (भुसाल, २०७८, पत्र) । सम्बन्धित निकायले पहल गर्दासमेत भवन निर्माणले पूर्णता पाउन नसकेको उदाहरण यो पत्रबाट पुष्टि हुन्छ ।

७. वर्तमान नेतृत्वको पहल 

२०७८ असोज १३ गते संस्थानको कार्यकारी अध्यक्षका रूपमा विष्णुप्रसाद सुवेदीले हाजिर गर्नुभयो । उहाँले कार्यालयमा हाजिर गरेकै दिन भवन निर्माणको पहल थाल्नुभएको छ । संस्थानमा कार्यभार समालेलगत्तै सोही दिन उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर ताकिता गर्नुभएको छ । ‘भवन निर्माण सम्बन्धमा’ विषयको पत्रमा अध्यक्ष सुवेदीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले संस्थानको भवनको डिपिआर बनाउन डिजिकम इन्जिनियरिङ/एमआरबी एन्ड एसोसिएसन/युनाइटेड नेपाल इन्जिनियरिङ कन्सल्ट जेभी कमलादी काठमाडौँसँग सम्झौता गरी ३९ करोड १५ लाख १० हजार ६८५ रुपियाँ १६ पैसाको डिपिआर तयार गरी आव २०७६/७७ मा १० करोड, आव २०७७/७८ मा सात करोड २० लाख रुपियाँ वार्षिक लक्ष्यसहित बजेट विनियोजन गरी वार्षिक विकास कार्यक्रम समावेश गरिएकोमा चालु आवको विकास कार्यक्रममा बजेट विनियोजन गरी वार्षिक विकास कार्यव्रmममा समावेश गरिएको नपाएको भन्दै उहाँले जानकारी गराउनुभएको छ । उक्त पत्रमा भवन विभागका महानिर्देशकसहितको नेतृत्वसँगको छलफलमा २०७८ पुस महिनामा प्राधिकरण खारेज हुने भएकाले प्राधिकरणबाट सञ्चालित परियोजनाहरू भवन विभाग तथा सम्बन्धित मन्त्रालयलाई हस्ताक्षर गरेको बेहोरासमेत अनुरोध गर्नुभएको छ (सुवेदी, २०७८, पत्र) । 

विसं २०७८ चैत १७ गतेको मन्त्रीपरिषद् बैठकले महाप्रबन्धकका रूपमा लालबहादुर ऐरीलाई नियुक्त गरेपछि भवन निर्माणका लागि महत्वपूर्ण पहलसमेत भएका छन् ।  

त्यसपछि समेत व्यवस्थापनले जीर्ण भवन र त्यहाँ जोखिमपूर्ण अवस्थामा कार्यरत कर्मचारीका बारे मन्त्रालय र मातहतका निकायमा पटक पटक जानकारी गराएको छ । मिति २०७९/०३/२९ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहरी विकास मन्त्रालयलाई क्षतिग्रस्त भवन पुनर्निर्माण सम्बन्धमा गोरखापत्रलाई बोधार्थ लेख्दै पत्र पठाएको छ । शाखा अधिकृत बन्धना श्रेष्ठले पठाएको पत्रमा आव २०७९/८० भित्रै संस्थानको भवन पुनर्निर्माणको आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको बेहोरा आदेशानुसार अनुरोध छ भनेर उल्लेख गरिएको छ । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले २०७९/०४/११ गते सहरी विकास मन्त्रीलाई ‘क्षतिग्रस्त भवन पुनर्निर्माण सम्बन्धमा’ विषयमा पत्र लेख्नुभएको छ । उक्त पत्रमा भवन निर्माणका लागि सहरी विकास मन्त्रालय अन्तर्गत पुनर्निर्माण कार्य क्रममार्फत आव २०७९/८० को बजेटमा पुनर्निर्माण व्यवस्थाका लागि अनुरोध गरिएको छ (सुवेदी, २०७९, पत्र) । यही बेहोराको पत्र मिति २०७९/०३/२८ मा कार्यकारी अध्यक्षले तत्कालीन सञ्चार सचिवलाई सम्बोधन गर्दै अनुरोध पत्र लेख्नुभएको छ । 

त्यसै गरी २०७९ साउन १३ गते कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय योजना, अनुगमन तथा मूल्याङ्कन शाखा सिंहदरबारलाई ‘क्षतिग्रस्त भवन पुनर्निर्माण सम्बन्धमा’ शीर्षकमा पत्र लेख्नुभएको छ । उक्त पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) को आव २०७४/७५ को स्वीकृत कार्यक्रममा गोरखापत्र संस्थानको भवन निर्माणका लागि बजेटसमेत स्वीकृत भएको र आव २०७५/७६ मा परामर्शदाता DGICON/MRB UNITED J.V ले तयार गरेको Conceptual Design संस्थानको तर्फबाट सहमति जनाई राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन एकाइ अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) मा पठाइएको बेहोरा अनुरोध गरिएको छ (सुवेदी, २०७९ पत्र) । यो प्रयासलाई थप निरन्तरता दिइरहेको व्यवस्थापन पक्षले बताए पनि ठोस काम भने हुन नसकेको देखिन्छ । 

पत्रमा भवन निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) काठमाडौँको आव २०७७/७८ को स्वीकृत कार्यक्रम तथा बजेटमा सात करोड २० लाख विनियोजन भएको तर डिपिआरको अन्तिम तयारीलगायत कारण उक्त आवमा खरिद प्रक्रियामा जान नसकेको र आव २०७८/७९ को स्वीकृत कार्यक्रममा छुट भएको जानकारी केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जानकारी गराएको बेहोरा उल्लेख छ (सुवेदी, २०७९) । उक्त पत्रमा कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र संस्थान सरकारी स्वामित्वको सेवामूलक संस्था भएको र आर्थिक अवस्था कमजोर भएका कारण आफ्नै स्रोतबाट भवन निर्माण सम्भव नभएको र भूकम्पबाट जीर्ण भवन कुनै पनि बेला दुर्घटना भई मानवीय क्षति हुन सक्ने बेहोरासमेत अनुरोध गर्दै सहरी विकास मन्त्रालय अन्तर्गत पुनर्निर्माण कार्यक्रममार्फत आव २०७९/८० को बजेटमा पुनर्निर्माण व्यवस्थाका लागि अनुरोधसमेत गर्नुभएको छ । 

यो पत्रलगत्तै २०७९ भदौ २३ गते गोरखापत्र संस्थानको क्षतिग्रस्त भवनको निर्माणको सम्बन्धमा संस्थान कार्यकारी अध्यक्ष सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीको उपस्थितिमा (CLPIU) का आयोजना निर्देशक कोषनाथ अधिकारी, लीला खतिवडा आयोजना उपनिर्देशक, डिजिकम प्रालिका निर्देशक चेतनाथ पाण्डे, गोरखापत्र संस्थान प्रशासन निर्देशक ओम भुसाल, अर्थ निर्देशक यमप्रसाद कँडेल, शिवकुमार भट्टराई निमित्त प्रधान सम्पादक गोरखापत्र दैनिक, डिजिकन इन्जिनियरिङ प्रालि सिनियर इन्जिनियर भूपेन्द्र यादव र आर्किटेक इन्जिनियर मञ्जु मानन्धरको उपस्थितिमा बसेको बैठकले नयाँ भवन बनाउँदा पुरानो भवनको फोहोर व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । पुरानो भवन भत्काउने र सोबाट प्राप्त हुने सामग्रीलाई सकार्ने सम्बन्धमा सो भवन भत्काउन लाग्ने सम्पूर्ण खर्च र सो भवन भत्काई प्राप्त हुने सामग्रीलाई सकार्न Demqlition र Scrap value  को सम्पूर्ण item हरूलाई नयाँ भवन निर्माण कार्यको ठेक्कामा नै समावेश गरी सोही निर्माण व्यवसायीबाट गर्ने गरी नयाँ भवनका लागि परामर्शदाता बनाउने निर्णयसमेत गरेको छ । 

सोही बैठकले संस्थानबाट स्वीकृत भएको योजना अनुसार केही आन्तरिक पार्टेसनलाई सुधार र परिमार्जन गर्दै डिजाइन तथा नक्सालाई अन्तिम रूप दिने र स्रोत सुनिश्चितता प्राप्त भएपश्चात् ठेक्काको सूचना प्रकाशनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको  छ (भुसाल, कुराकानी २०८१) । महत्वपूर्ण पहल भए पनि ठोस काम नहुँदा राज्य भने चुप बसेको विभिन्न अवधिका प्रयासबाट पुष्टि गर्न सकिन्छ । 

८. सहरी विकास मन्त्रालयको पहल 

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको पत्रलगत्तै सहरी विकास मन्त्रालय योजना तथा निर्देशक कार्यान्वयन शाखाबाट इन्जिनियर एलिसा शिवाकोटीले २०७९ भदौ १९ गते कार्यक्रम संशोधन/बजेट व्यवस्थापन सम्बन्धमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखालाई पत्र पठाएको पाइन्छ ।

उक्त पत्रमा संस्थानको भवन पुनर्निर्माण कार्य Post Diaster Recovery Framework मा परेको र उक्त भवन पुनर्निर्माणका लागि आव २०७६/७७ मा तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) काठमाडौँबाट भवन निर्माणको डिपिआर तयार भएको र आव २०७७/७८ मा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रममा सात करोड २० लाख विनियोजित भए पनि बहुवर्षीय खरिद गुरुयोजना एवं स्रोत सुनिश्चितता स्वीकृत नभएको कारण उल्लेख गरिएको छ । अघिल्लो आवमा स्रोत सुनिश्चित नभएका कारण यस आवमा नै मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना एकाइको स्वीकृत वार्षिक कार्यक्रममा समेत कार्यक्रम/बजेट विनियोजन हुन छुट भएकाले कुल लागत अनुमान ४६,९८,०१,८९५/३२ रहेको भवन निर्माणका लागि चालु आवमा १५ करोड रुपियाँ विनियोजन गर्ने गरी कार्यक्रम संशोधन/बजेट व्यवस्थापन गरिदिनुहुन नेपाल सरकार (सचिवस्तर) मिति २०७९/०५/१७ को निर्णयानुसार अनुरोध गरिएको छ । यो पत्रमा टिप्पणी तीन पाना र अन्य भवन निर्माण र नक्सासम्बन्धी ५९ पानासमेत समावेश गरिएको उल्लेख छ । (एलिसा, २०७९) । यसरी पटक पटक ताकिता गरेर पहल गरे पनि काम हुन नसकेको देखिन्छ । 

९. निष्कर्ष   

गोरखापत्र नेपालको ऐतिहासिक सञ्चार संस्था हो । यस संस्थाको भौतिक संरचनाको खोजी गर्दा काठमाडौँ महानगर, बाँकेको कोहलपुर र मोरङको विराटनगर महानगरपालिकामै पुग्नु पर्छ । त्यसमध्ये विराटनगरमा व्यवस्थित कार्यालय बनेको छ । कोहलपुरमा सामान्य संरचनामा काम भइरहेको छ भने केन्द्रीय कार्यालयका दुई भवन पक्की भए पनि एउटा जीर्ण भवनमा सयौँ कर्मचारी काम गर्न बाध्य छन् । देशको इतिहास, सञ्चार र संस्कृतिसँगै अनुसन्धानका लागि महत्वपूर्ण मानिएको संस्थानले भौतिक पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । 

गोरखापत्र  व्यवस्थापनले पटक पटक भौतिक पूर्वाधारका लागि पहल गरे पनि त्यो काम सम्पन्न नहुनुमा सरकारी कामको प्रक्रियागत झन्झट एउटा कारण बनेको देखिन्छ । सरकार परिवर्तनसँगै व्यवस्थापनको नेतृत्वसमेत परिवर्तन हुने हुँदा हरेक व्यवस्थापनले योजना बनाए पनि कार्यान्वयनमा समस्या भएको देखिन्छ । 

संस्थानले कामको योजना बने पनि तालुकदार मन्त्रालयका मन्त्री, सचिव र व्यवस्थापनको जुहारीले काम नबनेको पाइन्छ । कतिपय अवस्थामा कर्मचारीको लापर्बाही र अटेरीले योजना अलपत्र परेका छन् । २०५८ साल साउन १८ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि गोरखापत्र संस्थानको महाप्रबन्धक तथा गोरखापत्र दैनिकको प्रधान सम्पादक बन्नुभएका किशोर नेपालको अनुभवले समेत गोरखापत्रमा काम गर्न सहज नभएको पुष्टि गर्छ । 

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक नेपालले आफ्नो संस्मरणात्मक कृति ‘मेरो समय’ मा संस्थानमा सात महिना काम गर्दाको अनुभवलाई सङ्क्षेपमा उल्लेख गर्नुभएको छ । प्रशासन, आर्थिक विभाग र सम्पादकीय विभाग सबैतिर फैलिएको अव्यवस्था र कोलाहललाई चिरेर संस्थानमा व्यापक सुधार ल्याउनु सहज थिएन । संस्थानमा मेरा प्रयासलाई सघाउनेहरू थोरै थिए । सुधारका प्रयत्नको विरोधमा पत्रकारहरू आफैँ उभिन्थे (नेपाल, पृ. ४५९) । संस्थानले आफू भवन निर्माण गर्न नसक्ने र सरकारले बजेट विनियोजन गर्दा पनि उचित पहल हुन नसक्दा गौरवपूर्ण इतिहास बोकेको संस्थानले भौतिक संरचनामा फड्को मार्न नसकेको देखिन्छ । 

सन्दर्भ सामग्री  

  • अधिकारी, प्रकृति (२०७८). राणाकालीन शिक्षा काठमाडौँ :  इडियु सञ्जाल ।
  • अधिकारी, प्रकृति (२०८०). ‘गोरखापत्र र यसका सहप्रकाशन’ गोरखापत्र प्रकाशन शैली, पृ.११/१२/२६/२७. काठमाडौँ : गोरखापत्र संस्थान । 
  • अधिकारी, प्रकृति (२०८१) मङ्सिर ५ गते लेखकले गरेको कुराकानी ।
  • आचार्य, सुदीप (२०७६)०९।०३ को पत्रसङ्ख्या ०७६/७७, चलानी नम्बर ६८६ : पुनर्निर्माण प्राधिकरण ।
  • भुसाल, ओमप्रसाद (२०८०/०६/१७). कुराकानी, नि. निर्देशक उत्पादन विभाग : गोरखापत्र संस्थान । 
  • बस्नेत, भगीरथ (२०८०/०८/१). कुराकानी, नि. निर्देशक योजना 
  • विभाग : गोरखापत्र संस्थान । 
  • शाह, सच्चु सेन (२०८०/०८/१). कुराकानी, प्रमुख सामान्य प्रशासन 
  • शाखा : गोरखापत्र संस्थान । 
  • उपाध्याय, वसन्तप्रकाश (२०७४/११/२१). पत्रसङ्ख्या÷चलानी नम्बर १५९०/२०७४/०७५, महाप्रबन्धक : गोरखापत्र संस्थान ।
  • नेपाल, किशोर (२०७०). मेरो समय. (पृ.४५९). ललितपुर : फाइन प्रिन्ट । 
  • आचार्य, रामप्रसाद (२०७३) ‘सम्प्रेषण’ (पृ.७७). काठमाडौँ : नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान ।  
  • कोइराला, सुशील (२०५८–२०७४) गोरखापत्र स्मारिका, ‘महाप्रबन्धक भएपछि’ (पृ.४०/४१). काठमाडौँ : गोरखापत्र संस्थान । 
  • कोइराला, सुशील (२०७३) सम्प्रेषण, (पृ.१५–१६). काठमाडौँ : नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान ।
  • खतिवडा, लीला, (२०७५/०४/१०, पत्र सङ्ख्या ०७५/७६, चलानी नम्बर ४५, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण)
  • २०७५/१०/२१ मा बसेको संस्थान पदाधिकारी र पुनर्निर्माण प्राधिकरण र डिजिकमका इन्जिनियरको पहिलो बैठकको माइन्युट) 
  • चौधरी, लक्की ((१९५८–२०७४) (पृ.१२५). गोरखापत्र स्मारिका, काठमाडौँ : गोरखापत्र संस्थान ।
  • गोरखापत्रमा थपियो रानाथारू भाषा पृष्ठ, २०८१, असोज १ गते मङ्गलबार संस्थान बोर्डको निर्णय, असोज २२ गतेदेखि रानाथारू भाषा प्रकाशन सुरु ।=https://epaper.gorkhapatraonline.com/pdf/2425?file=/uploads/file/2024/10/other/2024-10-20-09-22-25-44-bhasa-naya-nepal.pdf
  • ‘गोरखापत्र अब ४५ भाषामा’, गोरखापत्र अनलाइन (२०८१) : गोरखापत्र संस्थान । https://gorkhapatraonline.com/news/136278
  • देवकोटा, ग्रीष्मबहादुर (ते.स. २०५९). नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (पृ.७०). ललितपुर : साझा प्रकाशन । 
  • भट्टराई, शिवकुमार ((२०७८/०५/२३) पत्रसङ्ख्या २५६/०७८/७९) : गोरखापत्र संस्थान । 
  • भण्डारी, रतन (२०७९), ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह’ गोरखापत्र अनलाइन : गोरखापत्र संस्थान । https://gorkhapatraonline.com/news/16583)
  • (गोरखापत्र साप्ताहिक, भाग ३९, सङ्ख्या २, १९९६, वैशाख ९ गते, शुक्रबार, पृ.२) ।
  • बस्याल, ताराबहादुर (२०७८;३;२५) पत्रसङ्ख्या सा.पं ३७६/०७७/०७८ : गोरखापत्र संस्थान)
  • गौतम, नारद (२०७३). सम्प्रेषण (पृ.१३६). काठमाडौँ :  नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान । 
  • सुवेदी, विष्णुप्रसाद (२०७९/०४/११ गते, पत्र सङ्ख्या १०८।०७९।८०), गोरखापत्र संस्थान ।
  • सुवेदी, विष्णुप्रसाद, (२०७९/०३/२८, पत्र सङ्ख्या २८०८।०७८।७९), गोरखापत्र संस्थान)
  • सुवेदी, विष्णुप्रसाद, (२०७९/०४/१३ गते सञ्चार मन्त्रालयलाई लेखेको पत्र, पत्र सङ्ख्या १८९/०७९/८०) गोरखापत्र संस्थान । 
  • सिवाकोटी, एलिशा (२०७९/०५/१९, पत्र सङ्ख्या यो.०७९/८०/९१ को चलानी नम्बर ३४३) गोरखापत्र संस्थान । 
  • सुवेदी, विष्णुप्रसाद, (२०७८/०६/१३, पत्र सङ्ख्या ४७६।०७८।७९), गोरखापत्र संस्थान ।
  • श्रेष्ठ, बन्धना, (२०७९/०३/२९ गते, प.सं ०७८। ७९ सं.स.१२, च.नं. २३३९ ‘क’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ।
  • भाग, १, साप्ताहिक समाचारपत्र, नेपाल संवत् १९५८, जेष्ठ वदी ३ सोमबार, सङ्ख्या  १ : गोर्खापत्र ।
  • भाग, ३३, १९९० साल माघ ९–१६ सोमबार, सङ्ख्या ३९–४०, पृष्ठ १ : गोरखापत्र ।
  • भाग, ३३, १९९० साल माघ २३ र फागुन १ सोमबार, सङ्ख्या ४१–४२, पृष्ठ १ : गोरखापत्र ।
  • भाग, ३३, १९९०, फागुन ८–१५ सोमबार, सङ्ख्या ४३–४४ : गोरखापत्र ।
  • भाग, ३३, १९९०, फागुन २२ सोमबार, सङ्ख्या  ४५ : गोरखापत्र ।   

लेखक गोरखापत्र अनलाइन प्रकाशनका पत्रकार हुनुहुन्छ ।

प्रस्तुत आलेख ‘ गोरखापत्रको पूर्वाधार : काठमाडौँ, विराटनगर हुँदै कोहलपुरसम्म ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।