काठमाडौँ, साउन १० गते । नेपाली कांग्रेसका नेता एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले मतदाताका कुरालाई प्राथमिकता दिएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५३ औं शृङ्खलामा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
‘‘मतदाता मेरा मालिक हुन् । म जनताकाे लागि रौतहट-४ मा काम गरिराखेको छु। सकेसम्म मालिकको सेवा गरिराखेको छु । अहिले तराईको समस्याको बारे सदनमा कुरा उठाएको छु। मतदाताका दैनिक जीवनसँग जोडिएका सवाललाई प्राथमिकता दिएको छु।’’
दोस्रो पटक रौतहट-४ बाट निर्वाचित हुनुभएका तिमलसिनाको जन्म २०२७ साल असोज १५ गते रौतहट चन्द्रपुरस्थित चेतनगरमा भएको हो। गाउँकै स्थानीय विद्यालयमा औपचारिक शिक्षा आर्जन गर्नुभएका तिमलसिनाले प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ। २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय तिमलसिना जनमत सङ्ग्रहसँगै नेविसङ्घमार्फत् कांग्रेसमा आबद्ध हुनुभएको हो।
उहाँ २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौतहट-४ मा ३४ हजार १६१ मत ल्याएर विजयी हुनुभयो। उहाँले नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको हो। एमालेका रेग्मीले २६ हजार ५५९ मत ल्याउनुभएको थियो। यसअघि उहाँ २०७४ मा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। ०७४ मा २८ हजार २२८ मत ल्याएर उहाँले एमालेका वंशिधर मिश्रालाई पाँच हजार २२२ मतको अन्तरले पराजित गर्नुभएको थियो । नेता तिमलसिना २०३६ को जनमत सङ्ग्रह, २०४६ र २०६२-६३ सालको जनआन्दोलनमा गरेर पटकपटक जेल पर्नुभएको छ। उहाँ प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य हुनुहुन्छ।
प्रस्तुत छ- नेपाली कांग्रेसका नेता, प्रतिनिधि सभा सदस्य एवम् संसदको सार्वजनिक लेखा समिति सदस्य देवप्रसाद तिमलसिनासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५३ औं शृङ्खलामा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः