पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २३ गते । सर्वोत्तम सिमेन्ट लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण सुरु गरेको छ।
कोभिड–१९ महामारीकै समयमा कम्पनी र नगरपालिकाबिच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो। लिफ्टसहितको तीनतले “सर्वोत्तम इमर्जेन्सी अस्पताल” करिब ४ करोड रुपियाँ लागतमा निर्माण हुन लागेको हो।
निर्माणको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ। अस्पताल एक वर्षभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरिने कम्पनीका महाप्रबन्धक नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो।
नगरप्रमुख विमला अर्यालका अनुसार जग्गा अभावका कारण केही समय रोकिएको परियोजनाका लागि नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो। निवर्तमान नगरप्रमुख भीमबहादुर थापाको कार्यकालमा भएको सम्झौता अहिले कार्यान्वयनमा आएको हो।
महामारीका बेला कम्पनीले नगरपालिकालाई १७ वटा भेन्टिलेटरसमेत उपलब्ध गराएको थियो। अस्पताल निर्माणपछि ती उपकरणको सर्भिसिङ गरी सोही अस्पतालमा व्यवस्थापन गरिने जनाइएको छ। यस परियोजनाले सुनवल क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।