• २३ वैशाख २०८३, बुधबार

कोहलपुर गोल्डकप : आजदेखि सेमिफाइनल खेल सुरु

blog

नेपाल पुलिस क्लब र राइजिङ स्टार क्लबबीच प्रतिस्पर्धा गर्दै खेलाडीहरू। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २३ गते ।
बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा समूह चरणको खेल सम्पन्न भई सेमिफाइनल समीकरण पूरा भएको छ।

बुधबारदेखि सेमिफाइनल खेल सुरु हुने आयोजकले जनाएको छ। मङ्गलबार सम्पन्न दुई खेलसँगै समूह चरण पूरा भएको हो। उक्त खेलमा लालीगुराँस एसोसिएसन क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्।

पहिलो खेलमा लालीगुराँस एसोसिएसन क्लबले सातदोबाटो युथ क्लब, काठमाडौँलाई १–० गोल अन्तरले पराजित गरेको हो।
लालीगुराँसलाई जित दिलाउन जर्सी नम्बर १८ का रोशन छन्त्यालले खेलको ९४औँ मिनेटमा निर्णायक गोल गर्नुभयो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा अन्तिम समयमा गोल भएको हो।

उक्त खेलमा रोशन छन्त्याल ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। उहाँलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो।

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता राइजिङ स्टार क्लब, सुनवल (नवलपरासी) लाई २–० गोल अन्तरले पराजित गरेको छ।

पुलिस क्लबलाई जित दिलाउन आशिष थारुले खेलको २६औँ र ९१औँ मिनेटमा दुई गोल गर्नुभयो। उहाँ नै ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो र नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभयो।

यससँगै समूह चरणको समीकरण पूरा भएको छ। समूह चरणबाट कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), लालीगुराँस एसोसिएसन क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्यस्तै, पञ्चकोशी युथ क्लब (सुदूरपश्चिम), रोयल फुटबल क्लब (कर्णाली प्रदेश), सातदोबाटो युथ क्लब (काठमाडौँ) र राइजिङ स्टार क्लब प्रतियोगिताबाट बाहिरिएका छन्।

आयोजकका अनुसार सेमिफाइनल खेल आजदेखि सुरु हुनेछ। म्याच कमिस्नार दयाराम सापकोटाका अनुसार पहिलो सेमिफाइनल आज र दोस्रो बिहीबार हुनेछन्। फाइनल प्रवेश गर्ने टोलीबीच वैशाख २५ गते प्रि–म्याच प्रेस कन्फ्रेन्स हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन) ले जितेको थियो। दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लब र तेस्रो संस्करणको उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए। यो संस्करणको प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ। विजेताले आठ लाख रुपियाँ र उपविजेताले चार लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।