विजयकुमार साह
ढल्केबर, वैशाख २३ गते । धनुषामा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक जनालाई जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालत धनुषा का न्यायाधीश कपिलमणि गौतमको इजलासले मिथिला बिहारी नगरपालिका–१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई जन्मकैदको फैसला सुनाएको हो। सो फैसला गत बिहीबार सुनाइएको र मङ्गलबार प्रमाणीकरण गरिएको अदालतले जनाएको छ।
अदालतका अनुसार २०७८ फागुन २८ गते भएको घटनामा मण्डलले सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको ठहर गरिएको छ। सोही कसुरमा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ।
फैसलामा प्रतिवादी मण्डलले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१)(२) अन्तर्गतको कसुर गरेको ठहर गरिएको उल्लेख छ। उक्त संहिताको दफा २१९(३)(क) अनुसार पीडिता १० वर्षभन्दा कम उमेरकी भएकाले जन्मकैदको सजाय सुनाइएको हो।
अदालतका अभिलेखअनुसार मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पुर्याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए।
मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाक्रम, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणका आधारमा कसुर प्रमाणित भएको अदालतले जनाएको छ।