शेरबहादुर सिंह
महेन्द्रनगर (कञ्चनपुर), वैशाख २२ गते । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ ।
यस विद्यालयमा नयाँ शैक्षिकसत्रमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या विद्यालयले धान्न नसक्ने गरी आइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विसं २०७१ अघिसम्म ३७१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल भर्नाका लागि प्रवेश परीक्षा दिन आउनेको भिड लागेको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तरमाथि गरिने शङ्का यस विद्यालये भने चिरेको छ ।
आधारभूत तह र माध्यमिक तहमा गरी तीन हजार विद्यार्थी अध्ययरत महेन्द्रनगर माविमा ९२ जना शिक्षक कर्मचारी कार्यरत छन् । विसं २०७२ मा विद्यार्थी व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्व गरिरहनुभएका वीरेन्द्रराज विष्ट चौथोपटक विद्यालय व्यवस्थापनको नेतृत्वमा हुनुहुन्छ ।
“म विद्यालय व्यवस्थापन समितिमा प्रवेश गर्दा ३७१ विद्यार्थी र १४–१५ जनामात्रै शिक्षक कर्मचारी थिए”, अध्यक्ष विष्टले भन्नुभयो, “यसपटक व्यवस्थापन समितिबाट बाहिरिन खोजेको तर अभिभावकहरूले दिनुभएन ।” यो विद्यालय सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो ।
“त्यो बेला तीन जना दरबन्दीको शिक्षकको तलबबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउनुपर्ने परिस्थिति थियो । विद्यालयको आर्थिक स्रोत निकै कमजाेर थियो”, अध्यक्ष विष्टले भन्नुभयो, “अहिले निजी स्रोतका शिक्षकहरूलाई पनि सरकारले तोके अनुरुपकै तलब खुवाउन सक्ने भएका छौँ ।”
एक्काइस वर्षको उमेरमै विद्यालय व्यवस्थापन समितिको बागडोर सम्हाल्नुभएका विष्टकै सक्रियतामा हाल विद्यालयमा प्राविधिकतर्फ र नियमित गरी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । विसं २०३३ मा स्थापना भएको उक्त विद्यालयको समग्र अवस्थाबारे बुझ्न अहिले मुलुकभरबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारी आउने गर्छन् ।
विद्यालयमा ७२ जना आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारी कार्यरत छन् । तीस जना शिक्षक कर्मचारी दरबन्दीमा कार्यरत छन् । “नर्सरीदेखि १२ कक्षासम्म प्रवेश परीक्षा लिएरमात्र भर्ना लिन्छौँ”, विष्टले भन्नुभयो, “अहिले भर्नाका बेला सिट क्षमताभन्दा तेब्बरले प्रवेश परीक्षा दिइरहेका छन् ।”
यो विद्यालय २०७५ देखि सिटिइभिटी कार्यक्रम अन्तर्गत बाली विज्ञान, २०७६ देखि सिभिल ओभरसियर, २०७९ बाट सब ओभरसियर, २०७६ मा नमूना विद्यालयमा छनोट भएको थियो । “२०७८ देखि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन छ । २४ जना छात्र छात्रावासमा आश्रित छन्”, उहाँले भन्नुभयो, “विज्ञान, वाणिज्य, शिक्षा, कानुन र प्राविधिकतर्फ कार्यक्रम सञ्चालित छन् ।” दुई वर्षअघिदेखि यहाँ २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम पनि सञ्चालनमा छ ।
“कक्षा ८, ९ र १० का विद्यार्थीलाई ‘संसार चिनाउ’ कार्यक्रम सञ्चालन छ, हाम्रोमा कार्यरत शिक्षक कर्मचारी सबैका छोराछोरी यहीँ अध्ययनरत छन्”, उहाँले भन्नुभयो । विद्यालयको शैक्षिक गुणस्तरमा भएको सुधार र आन्तरिक व्यवस्थापन सक्षम भएकै कारण करिब २० किलोमिटर टाढादेखि विद्यार्थी साइकल चढेर आउने गरेको समितिले जनाएको छ । रासस