वासुदेव शर्मा
जाजरकोट, वैशाख २२ गते । जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शिवालय गाउँपालिका–१, छेडाचौर बजारमा नलगाड नगरपालिका–७ का सौगात सुनार, नरेन्द्र सुनार, भूपेन्द्र सुनार र नेत्रबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जबाट जाजरकोटतर्फ आउँदै गरेका २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भूपेन्द्र सुनार र १८ वर्षीय ‘कवि’ भन्ने नेत्रबहादुर सुनारको साथबाट छुट्टाछुट्टै सात वटा प्लास्टिकका पोका भित्र ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर, दुई वटा मोबाइल र विभिन्न दरका २१ हजार ९० रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पक्राउ परेका माथि जाजरकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।