रामकृष्ण बोहरा
बागलुङ, बैशाख २२ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले विशेषज्ञ सेवा थप्दै गएको छ । मानसिक रोग, मिर्गौला तथा पिसाबसम्बन्धी उपचार सेवा विस्तार गरेको अस्पतालले नशारोग सम्बन्धी विशेषज्ञ सेवा थप गर्ने निर्णय गरेको हो ।
प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि यहाँ अपरेशनबाहेक अत्यावश्यक र पछिल्लो समय देखिएका रोगको उपचारमा दर्जन बढी विशेषज्ञ सेवा दिन थालिएको छ ।
अस्पतालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजसँगको सहकार्यमा विशेषज्ञ सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।
नशारोग विशेषज्ञ प्रा. डा. याम बहादुर रोका नेतृत्वको टोलीले प्रत्येक महिनाको चौथो शनिबार सेवा दिनु हुनेछ । आगामी चैत २६ गतेबाट यो सेवा सुरु हुँदैछ । दक्ष जनशक्तिको व्यवस्थापन नभएसम्म प्रतिष्ठानका चिकित्सकबाट सेवा प्रवाह हुने र आवश्यक दरबन्दी ल्याएर नियमित सेवा सञ्चालन गरिने डा. तिवारीको भनाइ छ ।
‘‘सुरुवातमा विभिन्न अस्पतालसँगको साझेदारीमा सेवा सञ्चालन गरेका छौं, चिकित्सकको दरबन्दी आएपछि नियमित सेवा सञ्चालन हुनेछ’’ डा. तिवारीले भन्नुभयो । अस्पतालमा मुटु रोगको उपचार सेवा सञ्चालन गर्न सेवाग्राहीको माग छ ।
बिरामीको मृत्युदर घटाउन पनि मुटुरोग सेवा आवश्यक भएको डा. तिवारीले बताउनुभयो । नशारोग सम्बन्धी विशिष्टिकृत सेवाबाट पुरानो ढाड र गर्दन दुखाइ, टाउको दुखाइ र माइग्रेन, नशा च्यापिने समस्या, शल्यक्रियापछिको फलोअप, छारेरोग र काप्ने समस्या तथा ब्रेन ट्युमरका बिरामीहरु लाभान्वित हुनेछन् । अस्पतालमा नशारोगसम्बन्धी उपचार सुविधा नहुँदा धेरै बिरामी पोखरा र काठमाडौंको अस्पतालमा धाउन बाध्य थिए ।
आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन र ट्रमा उपचार कक्ष पनि सञ्चालनमा छ । जलन कक्षबाट १० देखि १५ प्रतिशतसम्म जलनका बिरामीको उपचार हुँदैआएको छ । हरि खड्का ट्रमा सेन्टर बनाउने योजना पूरा नभए पनि सेवाको रेकर्ड राख्ने र सिटि स्यानसहितका मेसिन जडान गरी सेवा दिइएको छ ।
अस्पतालमा ग्रामीण प्रसूति भिडियो एक्सरे तालिम साइट समेत सञ्चालनमा ल्याइएको छ । दक्ष स्वास्थ्यकर्मीको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका महिलामा गर्भावस्थामा देखिने समस्याको समयमै पहिचान गर्न र निदान खोज्न ग्रामीण प्रसूति भिडियो एक्सरे तालिमले प्रभावकारी भूमिका खेलेको डा. तिवारीले जानकारी दिनुभयो ।
अस्पतालमा हाल २४ विशेषज्ञ चिकित्सकसहित १२ मेडिकल अधिकृतको दरबन्दी छ । प्रसूति, हाडजोर्नी, बालरोग, फिजियो थेरापीजस्ता विशेषज्ञ सेवा पनि नियमित सञ्चालनमा छन् । अस्पतालबाट वर्षमा १ लाख ५० हजार जनाभन्दा बढीले उपचार सेवा पाएका छन् । तीमध्ये स्वास्थ्य बिमाअन्तर्गत वर्षमा ६८ हजार बढीले सेवा लिएको तथ्याङ्क छ ।