इस्लामावाद, वैशाख २२ गते । संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त स्थित इरानको सिमानामा रहेको तटीय जिल्ला ग्वादरको गब्द रिमदान सीमा नाकाबाट उनीहरूलाई हस्तान्त्रण गरिएको ग्वादरका उपायुक्त नकीबुल्लाह काकरले पुष्टि गर्नु भएको छ । पाकिस्तानको मध्यस्थतामा दुई पक्षबिच आवश्यक समन्वय र छलफलपछि चालक दलका सदस्यलाई औपचारिकरूपमा इरानी अधिकारीलाई हस्तान्तरण गरिएको काकरलाई उदृत गर्दै सिन्हुवाले बताएको छ ।
हस्तातण गरिएका १५ जना चालक दलका सदस्य संयुक्त राज्य अमेरिकाले कब्जा गरेको कन्टेनर जहाजमा रहेका २२ जना इरानी नागरिक मध्यका भएको जनाइएको छ । जसलाई गत महिना अमेरिकाले कब्जामा लिएर पछि पाकिस्तान लगिएको थियो । बाँकी चालक दलका सदस्यलाई अर्को चरणमा फिर्ता गर्ने अपेक्षा गरिएको सुरक्षा स्रोतले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।
यस अघि पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको विश्वास निर्माण गर्ने उपायको रूपमा चालक दलका सदस्यको स्थानान्तरणलाई सहज बनाएको जनाएको थियो । जस अनुरूप उनीहरूलाई इरानमा फिर्ता गर्नका लागि रातारात पाकिस्तान लगिएको जनाइएको छ । रासस/सिन्ह्वा