अमरराज नहर्की
तनहुँ, वैशाख २३ गते । व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सङ्घीय सरकारको निर्णय कार्यान्वयन गर्दै नगरपालिकाले अर्को व्यवस्था नहुँदासम्मका लागि आइतबार विद्यालय बन्द रहने व्यवस्था मिलाएको हो ।
वर्षे बिदा र स्थानीय बिदाबाट कट्टा हुने गरी आइतबार बिदा दिने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो । यसअघि विद्यार्थीको पढाइमा असर पर्ने भन्दै आइतबार विद्यालय खुला राख्ने विषयमा छलफल भए पनि पछिल्लो निर्णय अनुसार बिदा नै कायम गरिएको हो । साथै, विद्यालय सञ्चालन समयसम्बन्धी विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न शिक्षा शाखालाई निर्देशन दिइएको छ ।
यसैबिच, पठनपाठनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएका छ वटा सामुदायिक प्राथमिक विद्यालय समायोजन गर्ने निर्णय गरेको छ । समायोजन हुने विद्यालयहरूमा व्यास–१ को जनसेविका, व्यास–५ को मानुङ, व्यास–७ को वसन्तकाली, व्यास–८ का कृष्णालय र सोमाजन तथा व्यास–१२ को जनमिलन प्राथमिक विद्यालय रहेका छन् ।
नगरपालिकाका अनुसार ती विद्यालयमा बाल विकास कक्षा मात्र कायम रहने छ भने अन्य कक्षाका विद्यार्थीलाई पायक पर्ने नजिकका विद्यालयमा व्यवस्थापन गरिने छ। विद्यालय समायोजनसँगै आवश्यक शिक्षक दरबन्दी मिलान तथा कर्मचारी स्थानान्तरणका लागि नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले शैक्षिक गुणस्तर सुधारका लागि दरबन्दी मिलान, स्रोत व्यवस्थापन र पूर्वाधार सुदृढीकरणलाई सँगसँगै अघि बढाइने बताउनुभयो ।