• २४ कात्तिक २०८२, सोमबार

उच्च ठाउँमा भिडियो छायाङ्कन

blog

गिनिज बुक अफ वल्र्ड रेकर्डले अनौठो काम गर्नेलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिन्छ । त्यसका लागि ठुलो मेहनत गर्नु पर्छ । आफ्नो रुचि र इच्छा अनुसार नेपालबाट यस्ता सयौँ कीर्तिमान बनेका छन् । सोलुखुम्बुका सन्चबहादुर राईले विश्वकै अग्लो ठाउँमा म्युजिक भिडियो छायाङ्कन गरेर विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँ २०४८ फागुन १० गते सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२, ठुलो ढुङ्गामा जन्मिनुभएको हो । गाउँकै चन्द्रदोय प्राविबाट शिक्षा प्रारम्भ गर्नुभएका राईले २०६७ सालमा श्रीबासा खाली माविबाट एसएलसी दिनुभएको हो । सोलुखुम्बुको जनजागृति माविबाट उच्च शिक्षा आर्जन गर्नुभएका राईले इटलीको एक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ । 

उहाँले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा रहेको गोक्यो तालमा गएर ‘गोक्यो रे’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गर्दै विश्व कीर्तिमान बनाउनुभएको हो । यो ठाउँ समुद्री सतहदेखि चार हजार ८१३ मिटरको उचाइमा पर्छ । यसअघि कसैले पनि यत्ति धेरै उचाइमा म्युजिक भिडियो नबनाएको भन्दै उहाँलाई गिनिजले विश्व कीर्तिमानको प्रमाणपत्र दिएको हो । उहाँले यो कीर्तिमान २०७७ कात्तिक २१ गते कायम गर्नुभएको हो । यो विश्व कीर्तिमान बनाउँदा उहाँले विभिन्न नौवटा क्षेत्रीय रेकर्डसमेत तोड्नुभएको छ । 

त्यसलगत्तै राईले पाँच हजार २० मिटर उचाइमा साथीहरूसँग मिलेर म्युजिक भिडियो छायाङ्कनको कीर्तिमान कायम गर्नुभएको छ । २०७८ भदौ १६ गते गायक टेकबहादुर राई, गायिका माया गुरुङ, गीतकार तथा निर्देशक बुद्धिराज राई, मोडल सिर्जना किराँती र शिखरजङ्ग श्रेष्ठले संयुक्त रूपमा कीर्तिमान राख्नुभएको हो । यो कीर्तिमानका लागि राई नेतृत्वको टोली सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–३ को खारे भन्ने ठाउँमा पुगेको थियो । 

उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । कक्षा ८ पढ्दा सन् २००६ बाट नै उहाँले भरियाका रूपमा पर्यटन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले गाइड तालिम लिएर सन् २०११ बाट पर्यटन क्षेत्रलाई व्यवसायका रूपमा अगाडि बढाउनुभयो । सन् २०१८ मा खुम्बु क्लाइम्बिङ सेन्टरमा स्वयंसेवक भएर काम गरेको अनुभवसमेत उहाँसँग छ । पर्यटन क्षेत्रमा विशेष योगदान गरेबापत राईले इन्टरनेसनल युथ आइकन, पिपल्स च्वाइस, ब्रिलियन्ट पर्सनालिटी अवार्डका अतिरिक्त इटलीको कुनियो विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधिसमेत प्राप्त गर्नुभएको छ । 

“विश्व कीर्तिमानले आर्थिक रूपमा केही सहयोग दिँदैन । यो देशको प्रतिष्ठा हो । विश्वको एउटा अवार्ड हो । विश्वलाई देश चिनाउने माध्यम हो,” उहाँले भन्नुभयो । उहाँ कोरोना सङ्क्रमणका समयमा फुर्सदिलो बन्नुभयो । त्यही समयमा उहाँले विश्व कीर्तिमानको योजना बनाउनुभएको थियो । “लकडाउनमा हिमाल जान पाइएन । त्यसपछि साथीभाइ मिलेर गोक्यो हिल ट्रेकिङ जाने र त्यही म्युजिक भिडियो छायाङ्कन गर्ने योजना बन्यो । यो सबै विश्व पर्यटन प्रवर्धनका लागि गरेको प्रयास हो,” उहाँले भन्नुभयो । उहाँ विश्व कीर्तिमानी समाजको अध्यक्षसमेत हुनुहुन्छ ।  

मुना