जनार्जन खत्री
सर्लाही, फागुन १५ गते । सर्लाही सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न तीन जना अभियुक्त पक्राउ परेका छन्।
सिरहाको सुखीपुर नगरपालिका–९, वैशाखा घर भएका ३६ वर्षीय यादवको हत्यामा संलग्न अभियुक्त र घटनाको सम्बन्धमा सर्लाही प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। सब–इन्जिनियर यादवसँगै एक वर्षअघि मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गरेका र वैकल्पिक उम्मेदवारको सूचीमा रहेका व्यक्तिको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई सर्लाहीको बरहथवा नगरपालिका–९, शान्ति टोलमा डेरा गरी बस्ने ३४ वर्षीय गणेशकुमार महतोको योजनामा यादवको हत्या भएको प्रहरीले जनाएको छ। मुख्य अभियुक्त महतो सर्लाहीको रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
वि.सं. २०८१ फागुन ४ गते मधेश प्रदेश लोक सेवा आयोगले लिएको सहायक पाँचौँ तहको सब–इन्जिनियर पदमा मृतक यादवको नाम निस्किएको थियो। उहाँको हत्यामा संलग्न महतोको नाम भने वैकल्पिक सूचीमा थियो। नियुक्त भएको उम्मेदवारको एक वर्षभित्र मृत्यु भएमा वैकल्पिक उम्मेदवारको नाम सिफारिस हुने प्रावधान रहेकाले सोही लोभमा परेर महतोले यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।
सब–इन्जिनियर यादवको फागुन ३ गते मलङ्गवा नगरपालिका–१० स्थित डेराको बरन्डामा गोली प्रहार गरी हत्या गरिएको थियो। मुख्य योजनाकार महतोले आफ्ना सालो २२ वर्षीय चन्द्रकिशोर कुशवाहा र भाइ २२ वर्षीय विजयकुमार महतोको सहयोगमा सो हत्याको योजना बुनेको खुलेको छ। प्रहरीले तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार महतोले हत्याको योजनासहित दशैँअघि नै भाइ विजयकुमारलाई पेस्तोल खरिदका लागि ८० हजार रुपियाँ दिएका थिए। हत्यामा प्रयोग भएको पेस्तोल, एक थान खोका, एउटा मोटरसाइकल र तीन थान मोबाइल प्रहरीले बरामद गरेको छ। पक्राउ परेका तीनै जना विरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा हतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले बताउनुभयो।