• २ वैशाख २०८३, बुधबार

‘वाइनकप’ च्याउ नयाँ सम्भावना

blog

काठमाडौँ, वैशाख २ गते । च्याउ बन्द कोठाभित्र निश्चित तापक्रममा फलाउने तरकारी भनेर धेरैले बुझेका छन् तर खुला आकाशमै आलु खेती जस्तै माटोको ड्याङ (रिज) बनाएर उत्पादन गर्न सकिने ‘वाइन कप’ च्याउको नेपालमा सफल परीक्षण भएसँगै सम्भावनाको नयाँ ढोका खुलेको यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् ।  

कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनालीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले परीक्षण गरेको यो च्याउको उत्पादन राम्रो देखिएकाले यसको खेती विस्तार उपयोगी हुने उल्लेख गर्नुभयो । ४५ दिनमै न्यून लागतमा उच्च उत्पादन दिन सक्ने भएकाले नेपाली ग्रामीण किसानका लागि यो निकै फलदायी हुन सक्ने उहाँको दाबी छ । ३२ डिग्रीभन्दा कम तापक्रम हुने ठाउँमा यो च्याउ बाह्रै महिना लगाउन सकिने यो क्षेत्रका अनुसन्धानकर्ता डा. शैलेश रञ्जितकारले उल्लेख गर्नुभयो । चीनमा खनिज पदार्थ उत्खनन गरेपछिको बाँझो जमिनमा सुरुमा यसको प्रयोग भएको थियो । सो समयमा चीनको युयान प्रान्तमा सफल भएपछि नेपालमा ल्याउने अधिकतम प्रयास भएका थिए । सोही प्रयासस्वरूप नेपालमा तीन याम (सिजन) नै यसको सफल परीक्षण गरिएको छ । तीन सिजनमा ललितपुरको गोदावरीमा भएको परीक्षणमा दुई आना क्षेत्रफलमा चार सय किलो च्याउ उत्पादन भएको हो । यसले थोरै जग्गामा पनि धेरै उत्पादन गर्न सक्ने पुष्टि भएको रञ्जितकारले बताउनुभयो । न्यून लागत, सजिलो प्रविधि र छोटो समयमा उत्पादन दिन सक्ने भएकाले यसले साना किसान, सहकारी तथा सामुदायिक वन उपभोक्ता समूहका लागि आयआर्जनको नयाँ ढोका खोल्ने उहाँको विश्वास छ ।  

उहाँका अनुसार यो च्याउ प्रविधि चीनबाट जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नेपालमा भित्र्याइएको हो ।  प्रारम्भिक परीक्षणपछि स्थानीय वातावरण अनुसार परिमार्जन तथा अनुकूलन (एडाप्टेसन) गरिएकाले अहिले नेपाली माटोमा सफलतापूर्वक उत्पादन सम्भव भएको उहाँले बताउनुभयो । पहाडी तथा तराई दुवै क्षेत्रमा उपलब्ध जैविक सामग्री प्रयोग गरेर यो च्याउ उत्पादन गर्न सकिने भएकाले यसको विस्तारको सम्भावना उच्च देखिएको उहाँको भनाइ छ ।  

‘वाइन कप’ च्याउ उत्पादनका लागि विशेष जटिल संरचना आवश्यक नपर्ने बताइएको छ । आलु रोप्ने तरिका जस्तै माटोको ड्याङ बनाएर उत्पादन गर्न सकिन्छ । उहाँका अनुसार काठको धुलो र पराल मिसाएर कम्पोस्ट तयार गर्ने,  ड्याङ बनाएर कम्पोस्ट र बिउ (स्पन) राख्ने, करिब पाँच मिलिमिटर माटोले छोप्ने र परालले मल्चिङ गरी करिब ७० प्रतिशत चिस्यान कायम राखेपछि ४५ दिनमै उत्पादन लिन सकिने उहाँले बताउनुभयो ।

कृषि अर्थशास्त्रीका अनुसार यस्तो उत्पादन क्षमताले बजार सुनिश्चित भएमा ग्रामीण अर्थतन्त्रमा उल्लेख्य योगदान दिन सक्ने छ । वनक्षेत्रमा पाइने पराल, काठको धुलो जस्ता सामग्री उपयोग हुने भएकाले यो वातावरणमैत्री प्रविधि पनि मानिन्छ । उत्पादन बढेसँगै बजार व्यवस्थापन र मूल्य निर्धारण मुख्य चुनौतीका रूपमा देखिएको छ । हाल नेपालमा च्याउ बजार प्रायः बटन र ओइस्टर च्याउमा केन्द्रित रहेकाले नयाँ प्रजातिको बजार विस्तारका लागि उपभोक्ता सचेतना आवश्यक रहेको विज्ञको भनाइ छ । 

त्यसै गरी कृषि अनुसन्धानकर्ताले ‘प्लान्ट ब्रिडिङ’ जस्तै ‘मसरुम ब्रिडिङ’ लाई पनि कानुनी मान्यता दिई बिउ (स्पन) उत्पादन, दर्ता र गुणस्तर नियमनलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नवीन प्रविधि विस्तारका लागि तालिम, अनुदान र बजार पहुँच विस्तारमा जोड दिन आवश्यक छ । सहकारीमार्फत सामूहिक उत्पादन र बजारीकरण गरिएमा यो च्याउ ग्रामीण आयआर्जनको भरपर्दो माध्यम बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तनका कारण परम्परागत खेतीमा देखिएको जोखिम न्यूनीकरण गर्न वैकल्पिक बाली आवश्यक भइरहेका बेला ‘वाइन कप’ च्याउ उपयुक्त विकल्प बन्न सक्छ । उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन सकियो भने यो प्रविधि नेपालका साना किसानका लागि ‘कम लगानी, उच्च प्रतिफल’ दिने व्यवसायका रूपमा स्थापित हुन सक्ने देखिन्छ । यसको मूल्य पनि राम्रो रहेको र साना र मध्यम खालका किसानले राम्रो मुनाफा लिन सक्ने लामो समयदेखि कृषिक्षेत्रमा क्रियाशील कृष्ण धितालले बताउनुभयो । 

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।