गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २२ गते । नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलंकामा आफ्नो सेवा बिस्तार गरेको छ । यसक्रममा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसायिक सञ्चार प्रणालीका लागि एआइमा आधारित सेवा दिने सम्झौता गरेको छ।
इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधिहरु प्रयोग गर्न चाहनेलाई सेवा दिदैंआएको छ। यो कम्पनी ट्रेस नामक श्रीलंकाको सार्वजनिक संस्थामा सुचिकृत छ। ट्रेसले श्रीलंकामा नयाँ व्यवसाय, आविस्कार र उद्यम गर्न चाहनेहरुलाई सहयोग गर्छ। टिङटिङले श्रीलंकामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकलाई सेवा दिने योजना अगाडि बढाइसकेको छ।
टिङटिङले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दैगएको छ। टिङटिङका सिइओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको बताउनुभयो।
इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले एआइमा आधारित सेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनु खुसीको विषय रहेको बताउनुभयो। यस सहकार्यले श्रीलंकाका उद्यमी र सेवा प्रदायकलाई ठुलो लाभ मिल्ने बताउनुभयो।
हाल श्रीलङ्कामा धेरैजसो व्यवसायीहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, विद्युतीय हुलाक, वेब संवाद तथा कल केन्द्रमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्दैआएका छन् । यसका कारण सन्देश छुट्ने, उत्तर दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो सन्दर्भ हराउने, कलको चाप बढ्ने तथा सेवा गुणस्तरको स्पष्ट जानकारी नहुनेजस्ता समस्या देखिएका छन्।
यी सबैले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, व्यवस्थापन तथा कल केन्द्र सञ्चालनलाई एउटै प्रणालीमार्फत सञ्चालन गर्न सहयोग गर्छन् । यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावना विश्लेषण, कृत्रिम बुद्धिमत्ताद्वारा तयार गरिएको सारांश, प्रत्यक्ष विवरण प्यानल तथा सम्पूर्ण संवादको स्पष्ट दृश्यता प्राप्त गर्न सकिन्छ ।