काठमाडौँ, वैशाख २२ गते । डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा मङ्गलबार भएको फाइनलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० गोलले हरायो ।
मनास्लुको जितमा ‘म्यान अफ दि म्याच’ विमल तामाङ र संगम तामाङले एक एक गोल गर्नुभयो । उपाधिसँगै मनास्लुले ३० हजार रुपियाँ पुरस्कार पायो । बाल व्यवसायीले १५ हजार रुपियाँ प्राप्त गर्यो ।
काठमाडौँ महानगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा मनास्लुका संगम तामाङ सर्वोत्कृष्ट खेलाडी, मनास्लुका विमल तामाङ उत्कृष्ट खेलाडी, बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर, मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक तथा क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित हुनुभयो ।
सबै जनाले जनही २५ सय रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई विराटजंग शाही, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले पुरस्कार प्रदान गर्नुभयो ।