विजयकुमार साह
ढल्केबर, वैशाख २२ गते । धनुषाको धनुषाधाम नगरपालिका –४, रामपुरमा १५० विपन्न परिवार झुल र ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मङ्गलबार स्थानीय समाजसेवी टिकाराम बरालले व्यक्ति खर्चमा विपन्न परिवारलाई झुल र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
बरालले बढ्दो गर्मी र लामखुट्टेको प्रकोपबाट हुने डेङ्गु तथा मलेरिया जस्ता रोगबाट बच्नका लागि वडाका अति विपन्न परिवारलाई झुल वितरण गरिएको बताउनुभयो । यसैगरी, बालबालिकाको उज्ज्वल भविष्य र शिक्षामा पहुँच पु¥याउने उद्देश्यले जनता आधारभूत प्राथमिक विद्यालय गोयाहीका ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय नागेन्द्र महराले स्थानीय युवा अमित महरा र वडा अध्यक्ष मनोज यादवको पहलमा बरालले सो सामग्रीहरू वितरण गरिएको बताउनुभयो । वडाध्यक्ष यादवले दाता बराललाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।