• २ वैशाख २०८३, बुधबार

वृद्धालाई करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत अशक्त रहेकी वृद्धालाई जबरजस्ती करणी गर्ने व्यक्त पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलका अनुसार वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा साङ्केतिक वतन ०१–९ का २९ वर्षीय विनोद सार्की पक्राउ परेका छन् । 

विभिन्न डरत्रास र धम्की देखाई गएको सोमबार राति वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा सार्कीलाई इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार तेल्लोकबाट खटेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा सार्कीलाई मङ्गलबार पक्राउ गरेको हो । यता पक्राउ परेका सार्कीलाई घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।