काठमाडौँ, वैशाख २ गते । गोरखापत्र संस्थानअन्तर्गतको अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादक पदमा ऋतुराज सुबेदी नियुक्त हुनुभएको छ । संस्थान व्यवस्थापनले उहाँलाई वैशाख ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि सो जिम्मेवारी सुम्पिएको हो ।
सुबेदी हाल संस्थानमा दशौँ तहको कार्यकारी सम्पादकका रूपमा कार्यरत रहँदै फिचर शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । वि.सं. २०२८ कात्तिक ४ गते सिन्धुलीको कमलामाई नगरपालिका–१० मा जन्मनुभएका सुबेदीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९९५ मा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।
सन् १९९१ मा जनकपुरबाट प्रकाशित ‘नयाँ पाइला’ साप्ताहिकमार्फत पत्रकारिता यात्रा प्रारम्भ गर्नुभएका सुबेदीसँग अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता तालिम र अनुभव रहेको छ । उहाँले सन् २००३ मा श्रीलङ्काको विदेश मन्त्रालयद्वारा सञ्चालित आधारभूत पत्रकारिता तालिम लिनुका साथै सन् २००६ मा दक्षिण एसियाली पत्रकार फेलोसिप र कोरियन प्रेस फाउन्डेसन फेलोसिप अन्तर्गत सियोलमा सहभागिता जनाउनुभएको थियो ।
उहाँले विश्व व्यापार सङ्गठन (डब्लुटीओ) का जेनेभा र हङकङमा आयोजित शिखर सम्मेलनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चको प्रत्यक्ष रिपोर्टिङ गर्नुभएको छ । डेढ दशकभन्दा बढी समयदेखि ‘द राइजिङ नेपाल’ मा नियमित स्तम्भकारका रूपमा समेत सक्रिय सुबेदीसँग पत्रकारिता क्षेत्रको लामो अनुभव रहेको छ ।