प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख २ गते । इलामको सिद्धिखोलामा निर्माणाधिन सिद्धि हाइड्रोपावर कम्पनीको बिजुलीको परीक्षण प्रसारण सम्पन्न भई राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
सिद्धि हाइड्रोपावरको प्रवद्र्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली कम्पनी आफैँले इलामको लसुनेमा निर्माण गरेको सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जडान भएको हो।
उक्त आयोजनाको बिजुली उत्पादनको सफल परीक्षण पछि राष्ट्रिय ग्रिडमा जडान गरिएको कम्पनीले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका बिचको सिद्धिखोलामा उक्त आयोजना निर्माण गरिएको छ। सिटिजन्स बैंकको एकल ऋण लगानीमा बनेको यो आयोजनाको बिजुली उत्पादन क्षमता १० मेगावाटको रहेको छ।
आयोजनाको लगात प्रतिमेगावटा २१ करोड रुपियाँ रहेको कम्पनीले जनाएको छ। रोङ गाउँपालिका वडा ६ र सूर्याेदय नगरपालिका वडा ५ को सिमाना रहेको खरवनि पम्पलेमा हेड ट्याङ्क रहि साढे तीन किलोमिटर लत पाईप लाईन निर्माण गरि तातोपानीमा पावर हाउस निर्माण सम्पन्न भएपछि लसुने सव स्टेसनवाट राष्ट्रिय ग्रिडमा विद्युत जडान गरिएको सिद्धिहाइड्रो पावर कम्पनीका सरोज पौडेलले बताउनुभयो ।
२०८० असोजवाट निर्माण थालिएको उक्त आयोजना गत मंसिरमा सम्पन्न गरिने अन्तिम तयारी भइसकेकोमा गत असोज १८ र १९ को प्राकृतिक प्रोकोपका कारण करिव ६ महिना ढिलो भएको थियो । उक्त वाढी पहिरोवाट करिव ५० करोडको क्षति परियोजनालाई भएको पौडेलको भनाई रहेको छ ।