• २ वैशाख २०८३, बुधबार

सम्मानयोग्य नेपाली उद्यमी

blog

हिजोआज मैले भेट्ने हरेक नेपाली जनताबाट समान किसिमको सकारात्मक ऊर्जाको महसुस हुन्छ । यही वर्ष मार्च २७ मा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले देखाइरहेको आशा र सकारात्मक सोचबाट पनि ऊर्जा थपिएको अनुभूति हुन्छ । हामीले विगतदेखि ‘अर्थतन्त्र भनेको मनोविज्ञान हो’ भन्दै आएका छौँ । यसको अर्थ आर्थिक अभिनेताको धारणाले वास्तविक अर्थतन्त्रलाई प्रभाव पार्ने गरेको छ । नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाट पारित भएको सयबुँदे कार्यसूची जुन गतिमा घोषणा गरिएको थियो, त्यो त्यति नै प्रभावशाली देखिन्छ । म स्वयम्ले मन्त्रीपरिषद्बाट पारित भएको सयबुँदे कार्यसूची एक एक गरेर अध्ययन गरेँ । तीमध्ये ६० औँ बुँदा आर्थिक पक्षसँग सम्बन्धित रहेकाले महत्व दिएँ । उक्त बुँदाको विषयवस्तुमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन योजना (पिएसपिपी) तत्काल  स्वीकृत र कार्यान्वयन गरिने छ भन्ने रहेको छ । नेपालमा उद्यमशीलतालाई बढावा दिन यो एक अत्यन्त स्वागतयोग्य पहल हो भन्ने लाग्छ । गत वर्ष सेप्टेम्बर महिनामा जेनजी आन्दोलनका क्रममा निजी उद्यमीहरूको सम्पत्ति र व्यावसायिक स्थलहरू क्षतिग्रस्त भएका घटनाले निकै नै पीडा महसुस भएको थियो । किनकि त्यस घटनाले आर्थिक क्षति मात्र निम्त्याएन; त्यसका अलावा लगानी गर्ने उद्यमीहरूको भावनालाई पनि कमजोर बनाएको थियो ।

अर्थतन्त्र मनोविज्ञान हो भन्ने भनाइलाई सार्थक बनाउन व्यवसायप्रति जनताको धारणा एक महत्वपूर्ण मनोवैज्ञानिक सूचकका रूपमा लिन सकिन्छ । कोरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (केसिसिआई) ले हरेक वर्ष फेब्रुअरीमा देशभरका एक हजार वयस्क पुरुष र महिलालाई लक्ष्य गरी ‘कर्पोरेट फेवरेट इन्डेक्स’ (सिएफआई) सर्वेक्षण गर्दै आएको छ । यस सर्वेक्षणले आमजनताले व्यावसायिक प्रतिष्ठानप्रति कस्तो किसिमको धारणा राखेका हुन्छन् भन्ने कुराको मापन र निर्धारण गर्छ । गत वर्ष सय पूर्णाङ्कमध्ये ५६ अङ्क प्राप्त गरेको थियो । उक्त प्राप्ताङ्क २० वर्षअघिको ३८ अङ्कबाट निरन्तर बढ्दै गएको छ । यस सर्वेक्षणले अनुकूलता र प्रतिकूलता दुवैका कारणहरूको पनि अनुसन्धान गर्दै आएको छ । अनुकूलताका कारण राष्ट्रिय अर्थतन्त्रमा योगदान, रोजगारी सिर्जना र कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) गतिविधिहरू रहेका छन् । प्रतिकूल दृष्टिकोणसम्बन्धी कारणहरूमा कर्पोरेट संस्कृति सुधार गर्ने प्रयासको अभाव, कमजोर व्यवस्थापन तथा कमजोर नियम पालन, नैतिक कमजोरी तथा जनता र व्यावसायिक प्रतिष्ठानबिच ‘विन विन’ व्यवस्थापनको अभावलाई देखाएको छ । उच्च गुणस्तरको रोजगारी सिर्जना जनताले व्यावसायिक प्रतिष्ठानबाट प्राथमिकतामा राखेका अपेक्षा थियो ।

मेरो जानकारीमा नेपाली व्यवसायीहरूप्रति नेपाली नागरिकले अनुकूलता मापन गर्ने कुनै सूचकाङ्कबारे थाहा छैन । यद्यपि कुनै परिमाणात्मक सूचकाङ्क नभए पनि गुणात्मक रूपमा अवश्य मापक सूचकाङ्क प्रतिकूलता प्रमुख हुन सक्छ । यो प्रतिकूलताको कारण माथिको सर्वेक्षण परिणाममा उद्धृत गरिएकासँग मिल्दोजुल्दो नै हुन्छ । नियमसङ्गत व्यवस्थापन आर्थिक संस्थाका रूपमा कर्पोरेट व्यवस्थापनका लागि आधारभूत दृष्टिकोणको रूपमा हेर्न सकिन्छ । मलाई विश्वास छ, नेपाली उद्योगहरूले राष्ट्रिय अर्थतन्त्र र रोजगारी सिर्जनामा गरेको योगदानको निष्पक्ष मूल्याङ्कन नभएको पक्ष नै उनीहरूको अनुकूलताको कारण बन्दै आएको छ । नेपालमा निजी क्षेत्रले रोजगारीको ८५.६ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रले ८१ देखि ८३ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको छ । नेपाली कम्पनीहरूप्रति अनुकूलताको सन्तुलित मूल्याङ्कनका लागि व्यावसायिक प्रतिष्ठान स्वयम्ले गर्ने प्रयास सार्वजनिक हुनु पर्छ यद्यपि समग्रमा कम्पनीहरूको वरपरको नकारात्मक सामाजिक टिप्पणीलाई पनि परिवर्तन गर्न आवश्यक देखिन्छ ।

यसमा गणतन्त्र कोरियालाई उदाहरणका रूपमा लिन सकिन्छ । कोरिया एक विकासशील देशको अवस्थामा रहँदा धेरै कम्पनीले भ्रष्टाचारमार्फत आफ्नो व्यवसाय व्यवस्थापन गर्थे । एक समय कस्तो थियो भने व्यवसायीहरू जुनसुकै अवस्थामा नाफा आर्जन (रेन्ट–सिकिङ) मा मग्न थिए । त्यस समयमा उद्यमीप्रति कोरियाली जनताको हेराइ अत्यन्त नकारात्मक थियो । सफल उद्यमीले राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याउँदै रोजगारीका अवसर सिर्जना गर्दै जाँदा भने कर्पोरेट अनुकूलताउन्मुख वातावरण तय हुँदै गयो । सरकारले व्यवसायीलाई अर्थतन्त्र र रोजगारीमा गरेको योगदानलाई कदर गर्दै पुरस्कृत ग¥यो । मिडियाले सामान्य सुरुवातबाट उठेका उद्यमीबारे विशेष रिपोर्ट तय गर्दै सकारात्मक सफलताका कथा समावेश भएका प्रचार सामग्री (नाटक आदि) सञ्चार हुन थाले र उक्त सकारात्मक सुरुवातको प्रशंसा बढ्दै जाँदा जनताले चासोका साथ हेर्न थाले । म स्वयम्ले किशोरावस्थामा हुन्डाई मोटरका संस्थापक स्वर्गीय छङ जुयङबारेको सफल कथा समावेश गरिएको ड्रामा (नाटक) को मनोरञ्जन लिएको मिठो सम्झना रहेको छ । आजका दिनमा पनि कोरियामा सामाजिक मान्यताविपरीतका घटना भएमा सार्वजनिक सजायको सामना गर्नु पर्छ । कुनै व्यक्तिले सामाजिक मूल्यमान्यताविपरीत गतिविधि गरेमा न्यायिक प्रक्रिया अनुसार समाधान गरिनु पर्छ तर व्यावसायिक प्रतिष्ठान, सम्पूर्ण कर्पोरेट क्षेत्रविरुद्ध सामाजिक रूपमा नकारात्मक दिशातर्फ धकेल्ने प्रयास न्यायसङ्गत हुँदैन ।  

नेपालमा धेरै उद्यमी छन् । उनीहरू सामाजिक रूपमा सम्मानयोग्य छन् । उदाहरणका लागि नेपालको अग्रणी व्यापार सङ्घ (एफएनसिसिआई) को अध्यक्षका रूपमा आफ्नो तीनबर्से कार्यकाल समापन गर्न लागेका चन्द्रप्रसाद ढकालले आफ्नो विश्वविद्यालय शिक्षाका लागि काठमाडौँमा पहिलो पटक पाइला राख्नुअघि गण्डकी प्रदेशको बागलुङमा सामान्य जीवन बिताउनुभएको थियो । सङ्घीय राजधानी काठमाडौँ आएर बैङ्कमा काम गरेपछि निजी व्यवसाय सुरु गर्न थाल्नुभयो । उहाँको सफलताको कथा मैले उहाँ स्वयम्बाट जान्ने मौका पाएँ । गत आर्थिक वर्षमा उहाँले स्थापना गर्नुभएको आइएमई लिमिटेडलाई नेपाल सरकार आन्तरिक राजस्व विभागले रेमिट्यान्स भित्र्याएर सबैभन्दा धेरै कर तिर्ने कम्पनीका रूपमा सम्मान दिएको थियो । मलाई आशा छ, धेरै नेपाली युवा उद्यमी उहाँको उद्यमशीलताको भावनाबाट प्रेरित भएर उदाउने छन् । उहाँले नेपाली अर्थतन्त्रको सम्भावनालाई प्रवर्धन गर्न र लगानीलाई प्रोत्साहित गर्न कोरियालगायत विश्वका विभिन्न मुलुक यात्रा गरेको जानकारी पाएको छु । विगत तीन वर्षमा आफ्नो सम्पूर्ण क्षमता र व्यक्त्गित समय संस्थाको हितका लागि लगानी गर्नु पक्कै सजिलो थिएन । यो उहाँको व्यक्तिगत त्याग र सेवाप्रतिको सम्मान हो । तीन वर्षको सेवा पूरा गरेर आफ्नो भारी बिसाउन लाग्नुभएका अध्यक्ष ढकाललाई व्यक्तिगत रूपमा सम्मानसहित प्रशंसा पनि व्यक्त गर्दछु ।

त्यसै गरी अर्का नेपाली व्यवसायीबाट पनि म प्रभावित भएको छु । १८ वर्ष गणतन्त्र कोरियामा आप्रवासी कामदारका रूपमा रहेर सन् २०१० मा स्वदेश फर्किई हाल ९० जनाभन्दा बढी व्यक्तिलाई रोजगारी दिन सफल प्रेमकुमार गुरुङसँग परिचित छु । गुरुङ काठमाडौँमा शिक्षा, भोजनालय, कफी सप आदि व्यवसाय स्थापना गरेर एकल प्रयासमा धेरै रोजगारी सिर्जना गर्न सफल हुनुभएको छ । त्यसै गरी हालै कोरियाबाट स्वदेश फर्किएका सफल उद्यमीहरू भेला गरी नेपाल–कोरिया व्यापार उद्यमी सङ्घ (एनकेविइए) स्थापना गरी उहाँले अध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ । वैदेशिक रोजगारीको अनुभव भएका उद्यमीहरूको नेतृत्वमा नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको यो पहिलो निजी सङ्घ हो भन्ने जानकारी पाएको छु । उक्त सङ्घमा हाल तीन सय सदस्य छन्; जसले कोरियाबाट विभिन्न प्रविधि, अनुभव र पुँजी ल्याएर स्वदेशमा उत्पादक क्षेत्रमा छुट्टै पहिचान दिएको छ । साथै रोजगारी सिर्जनामा उल्लेख्य भूमिका खेलेको छ । त्यसै गरी कोरिया र नेपालका व्यवसायी तथा लगानीकर्ताबिचको सञ्जाल विस्तार गर्दै सङ्घले भविष्यमा वैदेशिक रोजगारीको अनुभव समेटेर ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

अन्ततः सङ्घ स्थापना गर्नुको मूल उद्देश्य नेपालको विकासमा योगदान पु¥याउनुका साथै नेपाली युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु हो । साथै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पनि हो । नेपालमा अवस्थित गणतन्त्र कोरियाली दूतावासले सफलताका कथा संलग्न भएको पुस्तक प्रकाशन, ‘स्टार्टअप’ प्रतियोगिता आयोजना, ‘स्टार्टअप’ सम्बन्धी प्रशिक्षण प्रदान र ‘स्टार्टअप’ कोषमार्फत आवश्यक पुँजीको व्यवस्थापन गर्दै आएको छ । यी कार्यक्रमले कोरियाबाट फर्केका व्यक्तिलाई उद्यमशीलता प्रवर्धनमा सघाउँदै आएको छ । स्वदेश फर्केका उद्यमीले स्वेच्छाले यस्तो सङ्घ स्थापना गर्नु र नेपालमा रोजगारी सिर्जना र विकासमा योगदान पु¥याउनुको उद्देश्य निकै प्रेरणादायी छ । सङ्घका अधिकांश सदस्यका कम्पनी भने साना तथा मझौला उद्यम हुन्, ठुला प्रतिष्ठान होइनन् । विश्वव्यापी मान्यता अनुसार रोजगारी सिर्जनाका प्राथमिक चालक नै साना तथा मझौला उद्योग हुन् । यस समूहले नेपालको रोजगारीमा सघाउने सम्भावना देखिएको छ ।

नेपालका लागि कोरियाली राजदूत भएको नाताले मैले मौका मिलेसम्म यस्ता कम्पनीको भ्रमण गर्दै आएको छु । उद्यमीहरूको ‘स्टार्टअप’ कथा सुन्दै आएको छु । उहाँहरूलाई हृदयदेखि नै सम्मान गर्न चाहन्छु । व्यवसायीले ‘स्टार्टअप’ प्रक्रियाका क्रममा सामना गरेका विभिन्न कठिनाइ पार गर्नुलाई असाधारण उद्यमशीलताका रूपमा लिन सकिन्छ ।  कोरियामा सिकेको सिप र अनुभवले नेपालमा व्यवसाय गर्न प्रेरित हुनुका साथै सफल हुने आधार तय भएको पनि उनीहरूले भन्ने गरेका छन् । म उहाँहरूका चम्किला आँखा र साकार हुन सम्भव सपनाले नेपालको उज्ज्वल भविष्य सहजै अनुमान गरिरहेको छु । अर्थशास्त्र मनोविज्ञान हो भन्ने भनाइ फेरि एक पटक दिमागमा आउँछ । जब उद्यमीलाई उचित तथा सकारात्मक अनुग्रह र सम्मान दिइन्छ तब व्यवसाय गर्ने र उद्यमशीलताको भावना जगाउने इच्छा जागृत हुने छ । उद्यमीहरूलाई सम्मान र प्रशंसा गरिने सामाजिक वातावरण भएमा धेरै युवाले उद्यमशीलतालाई अँगाल्ने छन् र व्यवसाय सुरुवातका कठिन चुनौतीलाई सहज रूपमा लिने छन् ।

भर्खरै गठन भएको नेपालको नयाँ सरकारको निजी क्षेत्र संरक्षण र प्रवर्धन रणनीति (पिएसपिपी) सफल कार्यान्वयनका लागि अग्रिम बधाई दिन चाहन्छु । नेपालमा चौथो ठुलो वैदेशिक लगानीकर्ता कोरिया नेपालको नयाँ सरकारसँग हातेमालो गर्दै लगानीमैत्री वातावरणमा ठुलो मात्रामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मार्फत रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका अवसर विस्तार गर्न सदा साथमा रहेको छ । लगानीमैत्री वातावरणमार्पmत नेपाली व्यवसायीले राष्ट्रिय आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान पु¥याएर सकारात्मक प्रतिफल दिने छन् भन्ने विश्वास पनि लिएको छु । अर्थतन्त्र मनोविज्ञान हो र उक्त मनोविज्ञानलाई अवसरका रूपमा ग्रहण गरेर नेपालको आर्थिक वृद्धिमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि सम्भव छ भन्ने ऊर्जा ‘रिचार्ज’ भइरहेको महसुस गरेको छु । म नेपाल सरकार, उद्योगी र प्रतिष्ठित व्यवसायीलाई अवसरको ढोका बुद्धिमानीपूर्वक उत्पादनसँग जोड्नका लागि कोरिया सरकार सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी गराउँछु ।

(लेखक पार्क थेयङ नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुनुहुन्छ ।)