• २ वैशाख २०८३, बुधबार

बुटवलमा सधैँ पहिरोको त्रास

blog

माथि पहिरो, तलतिर ज्योतिनगर बस्ती ।

बुटवल समाचारदाता

बुटवल, वैशाख २ गते । वर्षा सुरु हुनासाथ बुटवल उपमहानगरपालिका अन्तर्गत ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दामा पहिरो र बाढीको त्रास दोहोरिने गरेको छ । यहाँको विपत् आकस्मिक घटना नभई बर्सेनि दोहोरिने नियति जस्तै बनेको छ । हरेक वर्ष दोहोरिने यस्ता विपत्का घटनाबाट त्रास कायम रहेको छ भन्दै ज्योतिनगरस्थित मिलनपथका पहिरोपीडित सत्यनारायण शर्माले दीर्घकालीन समाधानका लागि राज्यले चासो नदिएको गुनासो गर्नुभयो । उहाँले बर्सातमा घरभित्र लेदो पस्ने समस्या नियमित जस्तै बनेको बताउनुभयो । चेतना पासाङटोलका बासिन्दा कमला पाण्डेले पनि प्रत्येक वर्ष त्रासमा बस्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गर्नुभयो ।

वडा सदस्य अमृत खड्काका अनुसार स्थानीयवासीले खोल्सो सफाइलगायतका काम स्वयम् गरिरहेका छन् । उहाँले भन्नुभयो, “स्थानीय तहले सक्दो सहयोग गरिरहेको छ तर सीमित बजेटले पर्याप्त काम गर्न सम्भव छैन ।” बुटवल उपमहानगरपालिकाका विपत् व्यवस्थापन शाखाका इन्जिनियर योगेश चापागाईंका अनुसार उक्त क्षेत्रमा करिब तीन सय घरपरिवार उच्च जोखिममा रहँदै आएका छन् । 

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा विपत् व्यवस्थापनका लागि दुई करोड रुपियाँ र पहिरो नियन्त्रणका लागि थप ५० लाख रुपियाँ विनियोजन गरे पनि ती कार्यक्रम कार्यान्वयन गर्न निकै ढिलो भएको छ । रुपन्देहीको सम्मरीमाई र मर्चवारी क्षेत्रमा पनि बाढी तथा नदी कटानको समस्या उस्तै छ । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवका अनुसार यहाँका करिब ४० प्रतिशत जनसङ्ख्या डुबानको जोखिममा छ । स्रोत अभावका कारण विपत् व्यवस्थापनका लागि चाहिने जति बजेट विनियोजन गर्न नसकिएको पालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेशभर मनसुनजन्य विपत्को जोखिम उच्च रहेको तथ्याङ्कले देखाउँछ । प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष ८९३ विपत्का घटनामा १७५ जनाको मृत्यु, ४४५ जना घाइते र १२ जना बेपत्ता भएका थिए । प्रदेशका पाँच लाखभन्दा बढी नागरिक जोखिममा छन् । संविधान र कानुनले सङ्घ, प्रदेश र स्थानीय तहलाई विपत् व्यवस्थापनको साझा जिम्मेवारी दिए पनि व्यवहारमा भने प्रभावकारी समन्वयको अभाव देखिन्छ । स्थानीय जनप्रतिनिधिले सङ्घीय संरचनामा अधिकारको स्पष्ट वितरण नहुँदा दीर्घकालीन समाधानमा समस्या भएको बताएका छन् ।

विज्ञहरूका अनुसार मनसुनजन्य विपत् रोक्न नसकिए पनि प्रभावकारी पूर्वतयारी, समन्वय र संरचनागत सुधारमार्फत क्षति न्यूनीकरण गर्न सकिन्छ । आवश्यक उपकरण खरिददेखि पूर्वतयारीसम्मका कामहरू कागजमै सीमित हुँदा भने जोखिम झनै बढ्दै गएको देखिन्छ ।