हुम्ला समाचारदाता
हुम्ला, वैशाख २ गते । हिमाली जिल्ला हुम्लामा राष्ट्रिय आर्थिक गणना गर्ने कार्य सुरु भएको छ । यसका लागि छनोट हुनु भएका गणकहरु आफु खटिएको गाउँपालिकामा पुग्नु भएको हो ।
आजबाट राष्ट्रिय आर्थिक गणनाको कार्य सात वटै गाउँपालिकामा सुरु भएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो । यसका लागि जिल्लाभर एघार जना गणक र दुई जना सुपरिवेक्षक खटिएको उहाँले बताउनुभयो । अब खटिएका गणकहरु मध्य सिमकोट, खार्पुनाथ, चङ्खेली र अदानचुली गाउँपालिकामा दुई दुई जना र नाम्खा, सर्केगार्ड र ताँजाकोट गाउँपालिका गरी तीन वटामा एक जना गणक गणना कार्य सुरु गर्नु भएको छ ।
यसैगरी ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगार्ड गाउँपालिकमा एक जना सुपरिवेक्षक र खार्पुनाथ, सिमकोट नाम्खा गाउँपालिका गरि तीन वटा गाउँपालिकामा एक जना सुपरिवेक्षकले काम गर्नु पर्नेछ । यो काम आगामी असार ७ गतेसम्म सम्पन्न गर्नु पर्नेछ । यसअघि गणकहरुले तालिम प्राप्त गरेपछि आवश्यक बन्दोबस्तीका सामाग्रीसहित सम्वन्धित गाउँपाकिलामा पुग्नु भएको थियो । यस पटक दुई हजार आठ सय प्रतिष्ठान हुने अनुमान कार्यालयले गरेको छ । २०७५ सालको आर्थिक गणनामा दुई हजार एक सय आर्थिक प्रतिष्ठान रहेका थिए ।