पटना (विहार), वैशाख २ गते । भारतको विहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार विहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आउनुभएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ ।
राज्य सभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय विहारको नेतृत्व सम्हाल्नुभएका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास विहार लोक भवनमा पुग्नुभएको थियो । त्यहीँ विहारका राज्यपाल सैयद अता हसनैनले उहाँलाई मुख्यमन्त्री पदको शपथ दिलाउनुभएको हो ।
नितिश कुमारको राजीनामापछि चौधरी विहारका पहिलो भाजपा मुख्यमन्त्री बन्नुभएको छ । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले ऐतिहासिक जित दर्ता गरेपछि उहाँले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको थियो । यसले राज्य राजनीतिमा लामो समयसम्म उहाँको प्रभाव देखाएको थियो ।
तर अब ५७ वर्षीय सम्राट चौधरीले उहाँको स्थान लिँदै विहारको नेतृत्व सम्हाल्नुभएको छ । उहाँको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई विहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।
सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ । राजनीतिमा प्रारम्भिक प्रवेश उहाँले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी)बाट गर्नुभएको थियो भने पछि सन् २०१८ मा उहाँ भाजपा प्रवेश गर्नुभएको हो । सन् २०२३ मा उहाँलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उहाँले विहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सन् १९६८ मा जन्मनुभएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आउनुभएको हो । उहाँका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट छ पटक विधायक निर्वाचित हुनुभएको थियो भने आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जित्नुभएको थियो ।
पहिले नितिश कुमारका कट्टर आलोचक रहनुभएका चौधरी सन् २०२४ मा भाजपा–जेडियू गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिनुभएको थियो । सन् २०२२ मा उहाँले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताउनुभएको थियो, जसले उहाँको आक्रामक राजनीतिक शैली झल्काउँथ्यो ।
आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा विहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
सम्राट चौधरीको नेतृत्वलाई ओबिसी समुदाय, विशेषगरी कोइरी-कुशवाहा समूहबिच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ । रासस/एएनआई