राधाकृष्ण डुम्रे
स्याङ्जा, वैशाख २ गते । स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नगरपालिका–२ का ४० जना स्थानीय बासिन्दाले रिजर्भ गरी लगेको ग. १ ख. ९५६२ नम्बरको बस फिर्ता हुने क्रममा पोखरा महानगरपालिका–२२ स्थित सिद्धार्थ राजमार्गमा आगलागी भएको हो ।
नयाँ वर्षको पहिलो दिन पर्यटकीय स्थल घुमेर फर्कँदै गरेका यात्रुहरू बसमा अचानक धुवाँ र आगोको लप्का देखिएपछि त्रसित बनेका थिए । यात्रु दिपेन्द्र जिटीका अनुसार गियर बक्स नजिकैबाट अचानक धुवाँ निस्किएर आगो बल्न थालेको थियो । "आगो देखिनेबित्तिकै हामी सबै आत्तिएर कोही ढोकाबाट त कोही सिसा फुटाएर बाहिर निस्कन सफल भयौँ," उहाँले भन्नुभयो ।
कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । चालक दलका सदस्यहरूका अनुसार गुडिरहेको बसमा 'वायरिङ' सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले यात्रुहरूलाई अन्य सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति वालिङका प्रमुख विमल अर्यालले घटनाको प्राविधिक अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनुसार मानवीय क्षति नभए पनि बस भने पूर्णरूपमा जलेर नष्ट भएको छ । समितिले मातहतका सवारी साधनमा यस्ता प्राविधिक समस्या आउन नदिन आगामी दिनमा थप सतर्कता र पूर्वतयारी अपनाउने प्रतिबद्धता जनाएको छ ।