• १५ फागुन २०८२, शुक्रबार

सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा

blog

आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

छविलाल पाण्डे

बुटवल, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ । उहाँले नेपाली कांग्रेस बदलिएर आएकाले नेपाली जनताको विश्वासमा अब देशको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्ने दाबी समेत गर्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले कांग्रेसले यस पटक मौका पायो भने देश बनाउँछ भन्ने विश्वास आम जनतामा जागृत भएकोले कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताउनुभयो ।


उहाँले कांग्रेसको संगठन सबैभन्दा ठूलो तागत हो भन्दै अब कांग्रेस अब उत्तेजनाको राजनीतिले देश नबन्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको गाडीमा सबैलाई हालेर मिलाएर लैजान्छौँ भन्दै विगतमा सबै दल देश चलाउन चुकेकाले अब कांग्रेसले नेतृत्व गरेर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

सभापति थापाले कांग्रेस 'टिम नेपाल'को अवधारणासहित आएकाले अब देशका ६ हजार ७ सय ४३ वटै वडा र ७ सय ५३ वटै पालिकालाई कांग्रेसले जोडेर नेतृत्व गर्ने कुरा उल्लेख गर्नुभयो । देशलाई विकासको गति चाहिएको छ भन्दै तर यो कुनै व्यक्ति आएर भन्दा पनि टिमले गर्ने कुरा भएकोले कांग्रेस नयाँ टिमसहित आएको चर्चा गर्नुभयो ।

गठबन्धनको राजनीतिले नेपालको सिङ्गो राजनीतिलाई फोहोर र दूषित बनाएको भन्दै सभापति थापाले अब फोहोर राजनीतिलाई शुद्ध बनाउने संकल्पसहित कांग्रेस आएको बताउनुभयो । 

सभापति थापाले भन्नुभयो– "हाम्रो राजनीति फोहोर भएको छ, त्यो फोहोर राजनीतिलाई हामीले सफा गर्छौँ । हाम्रो राजनीति प्रदूषित भएको छ, त्यसलाई प्रदूषण मुक्त बनाउँछौँ ।"


उहाँले कांग्रेस ५ वर्षको समय प्रतिज्ञा गरेर आएको भन्दै अब फागुन २१ गते चुनाव भएपछि चैतमा नयाँ सरकार बन्छ र कांग्रेसले बहुमत ल्याएर नयाँ वर्षको दिन वैशाख १ गते देशवासीको नाममा उभिएर संकल्प गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस उपसभापति पुष्पा भुसालले नेपाली कांग्रेसले नै अब देशको नेतृत्व गर्ने बेला आएको बताउनुभयो । उहाँले कांग्रेसको पक्षमा जनताको लहर आएको उल्लेख गर्नुभयो । सोही कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हीरा केसी र क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले विकासका लागि नेपाली कांग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो ।