राजन रावत
हुम्ला, वैशाख १० गते । हुम्लाको उत्तरी क्षेत्र जोड्ने सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा खण्ड डेढ महिनापछि पुन: सञ्चालनमा आएको छ । हिल्सा–सिमकोट सडक योजनाले लगातार दुई दिन जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ पन्छाएपछि बिहीबार साँझदेखि यातायातका साधन सुचारु भएका हुन् ।
गत फागुन अन्तिम साता भएको भारी हिमपातका कारण सो सडक खण्ड अवरुद्ध हुँदै आएको थियो । हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालका अनुसार प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको समन्वयमा सडकमा जमेको एकदेखि चार फिटसम्मको हिउँ मेशिनद्वारा पन्छाइएको हो ।
मङ्गलबार बिहानदेखि सुरु गरिएको हिउँ पन्छाउने कार्य बिहीबार दिउँसो सम्पन्न भएको थियो । सडक खुलेलगत्तै हिल्साबाट पाँचवटा र सिमकोटबाट हिल्सातर्फ सातवटा बोलेरो जीप सञ्चालनमा आएको प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सिमकोटबाट यारीसम्म मात्र यातायातका साधन चल्ने गरेका थिए ।
सडक अवरुद्ध हुँदा आवतजावतमा निकै समस्या परेको थियो । एक हप्ताअघि मात्र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) हिल्साका लागि थपिएको जनशक्ति नारा लेकसम्म गाडीमा र त्यसपछि पैदल हिँडेर हिल्सा पुगेको थियो । अब सिमकोटदेखि हिल्सासम्मै सबै प्रकारका यातायातका साधन सञ्चालन हुने भएका छन् ।