• १० वैशाख २०८३, बिहिबार

तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृत फेला

blog

साहारा लिम्बू

फुङलिङ, वैशाख १० गते । तमोर नदीले बगाएर बेपत्ता भएका बालक मृतअवस्थामा भेटिएको छ । नदीले बगाएर बेपत्ता भएको बालक पाँच दिनपछि मृत अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार मेरिङदेन गाउँपालिका ६ नाल्बु घर भई हाल फुङलिङ नगरपालिका ३ मा बसोबास गर्दै आएका ९ वर्षीय बालक फुर्वा शेर्पा मृत अवस्थामा भेटिएका हुन्। 

फुङलिङ स्थानीय हेमन्त श्रेष्ठको घरमा डेरा गरि बस्दै आउनुभएका निङमा शेर्पाको छोरा फुर्वालाई मृत अवस्थामा भेटिएको हो । बालकलाई खोजी गर्ने क्रममा विहीबार साँझ करिब साढे पाँच बजे मृत अवस्था फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकलाई मेरिङदेन गाउँपालिका ३ दोभान छेउको किनारमा उत्तानो परेको अवस्थामा भेटिएको हो ।

बालकलाई मृत अवस्थामा भेटिपछि कानूनी प्रक्रियाका लागि दोभान इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपक लिम्बूको नेतृत्व टोलि खटाइएको थियो । कानूनी प्रक्रिया पुरा गरि शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालको शव गृहमा ल्याएर राखिएको प्रहरीको भनाइ छ।

बालक गत शनिबार फुङलिङ नगरपालिका २ हान्दु्रङ र मिक्वाखोला गाउँपालिका १ खोक्लिङको क्षेत्रमा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।