• १५ फागुन २०८२, शुक्रबार

कांग्रेस नेतृत्वको सरकार बनेपछि कसैलाई निराश हुन दिइँदैन : सभापति थापा

blog

कपिलवस्तुको गोरुसिंगेमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। तस्बिर: नारद कोहार

नारद कोहार 

तौलिहवा, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कुनै पनि नागरिकलाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाली कांग्रेस कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति थापाले सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन कांग्रेसको मूल प्रतिबद्धता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामी आज कसम खान्छौँ- हाम्रो नेतृत्वमा सरकार चलेको दिनदेखि कुनै नागरिक निराश हुने अवस्था आउन दिने छैनौँ।”

सभापति थापाले कांग्रेस नेतृत्वको सरकारमा एक पैसाको पनि चलखेल हुन नदिने स्पष्ट पार्दै भ्रष्टाचारविरुद्ध 'शून्य सहनशीलता' को नीति अवलम्बन गरिने बताउनुभयो। वि.सं. २०४६ यता विभिन्न सरकारमा सहभागी भएका सबैको सम्पत्ति छानबिन गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि म स्वयं र मन्त्री भइसक्नुभएका सुरेन्द्रराज आचार्य जोसुकै भए पनि दोषी पाइएमा कारबाहीको दायरामा ल्याइनेछ। दोषी मेरा आफ्नै बुबा भए पनि छाडिने छैन।”

उहाँले युवाले परिकल्पना गरेको समुन्नत नेपाल निर्माण नै कांग्रेसको लक्ष्य रहेको बताउँदै जनजीविकाको मर्म र आकाङ्क्षाअनुसार पार्टी अघि बढ्ने उद्घोष गर्नुभयो। सामाजिक सञ्जालको मात्र भर नपरी निर्वाचन अभियानमा सक्रिय रूपमा खटिन उहाँले कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो।


सभापति थापाले जनभावना विपरीत कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै कांग्रेसका आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमान, सुरेन्द्रराज आचार्य र अभिषेक प्रताप शाहलाई विजयी गराउन अपिल गर्नुभयो। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने वा विपक्षी उम्मेदवारको पक्षमा लाग्ने जोकोहीलाई अनुशासनको कारबाही गरिने चेतावनीसमेत उहाँले दिनुभयो।

जिल्ला सभापति अब्दुल कलामको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन जिल्ला सचिव शक्तिसिंह ठकुरीले गर्नुभएको थियो। आमसभामा जिल्लाभरबाट नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।