• २१ चैत २०८२, शनिबार

नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार : सिडिओ कार्यालय

blog

जिल्ला प्रशासन कार्यालय सर्लाही। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत २१ गते ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदीजन्य पदार्थको ठेक्का लगाउने पालिकालाई उत्खनन कार्यमा कडाइका साथ अनुगमन र नियमन गर्न ध्यानाकर्षण गराएको छ।

कार्यालयका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले शुक्रबार जिल्लाका २० वटै पालिकालाई पत्र पठाउँदै नदीजन्य पदार्थमा अनियमितता भए पालिका नै जिम्मेवार हुने उल्लेख गर्नुभएको हो।

पालिकाहरूले आफ्नो क्षेत्राधिकारभित्र रहेका नदीजन्य पदार्थको उत्खनन कार्य मापदण्डविपरीत गरिरहेको, त्यस्तो उत्खननबाट भूक्षय, बाढी, पहिरो, पुल भासिने, मानवीय क्षति पुग्ने तथा वातावरणमा नकारात्मक असर पर्ने विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएको र जनगुनासोसमेत प्राप्त भएकाप्रति जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कडरियाले पालिकालाई पठाएको पत्रमा नदीजन्य पदार्थको व्यवस्थापन पालिकाबाट हुने भएकाले जिम्मेवार निकाय पनि पालिका नै हुने उल्लेख गर्दै उत्खनन भइरहेको स्थानमा नियमित अनुगमन गरी अनियमितता भए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको छ।

नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, बिक्री–वितरणमा अनियमितता भए त्यस्तो सम्झौता गरी अनुमति दिने पदाधिकारी स्वयं जिम्मेवार हुने कडरियाले बताउनुभयो।

यस्ता अनियमितता रोक्न तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबाट आवश्यक सहयोग तथा समन्वय रहने पनि उहाँले उल्लेख गर्नुभएको छ।

स्थानीय तहलाई पठाइएको उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सो कार्यालयका सचिव तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत पठाइएको जनाइएको छ।