गर्भमै तुहिएका स्त्री भ्रूणहरूले
जन्मिन नपाएको शोक मनाए कि
जन्मिनु नपरेको हर्ष ?
सुरक्षा खोजेका छोरीहरूले
बा जातिका ‘ब्याड टच’ लाई
स्नेह महसुस गरे कि,
दुव्र्यवहार ?
उडान भर्न नसकेका चरीहरूले
आफूलाई कायर ठाने कि
कैदी ?
दाइजोका कारण
मारिएका बुहारीहरूले
गुहार मागे कि मृत्यु ?
बोक्सीआरोपित सेता फरियाहरूका
मौनधारणको कारण
कण्ठ कि समाज ?
मलाई जान्नु छ–
अग्निपरीक्षा दिएका सीताहरू
र जिउँदै जलेका सतीहरूका सत्य,
उनीहरूलाई पोल्ने तŒव
आगो कि आरोप ?
शान्तिको रक्तिम उज्यालोमा
मेरा प्रश्नहरू
एक बिस्कुन उत्तर बनेर
भरिने छ न्यायको आँगन–
पोथी बासेको बिहान ।
ए, पोथी हो !
तिमी बास्न सुरु गर आजैबाट
ठिक अहिल्यैबाट
सदियौँदेखि
रूढिले दबाएर
‘पोथी बास्नु हुँदैन’ भनेर
जन्मसिद्ध अपराधी झैँ
कैद बनाइएका
कुण्ठित कुण्ठाहरू बास
अर्थात् रक्तिम रहरहरू बास !
तिम्रै आँगन हुँदै,
प्रत्येक घरधुरीमा बास
देशका चम्का चम्कामा बास
सभा र सदन थर्कने गरी बास !
तिमी बासेको बिहान
नाराहरू नीति बनेर
ढकढक्याउने छन् उज्यालोका ढोका,
परिवर्तनले स्वर्णिम बिहानी चियाउने छ !
सधैँलाई निदाउने छ अन्धकार,
विद्रोहका मुड्की कसेर
चुडाल्ने छन् बन्धनका डोरी,
र आजादीको चौरमा
चर्ने छन् बाच्छीहरू ।
पूर्वयुगका पखेटाले
वर्तमानको उडान गरिरहेका
चरीहरूले फेर्ने छन् नयाँ पखेटा र
नजिकबाट नियाल्ने छन्– आकाश !
उर्लंदो खहरेहरू शालीन नदी बनेर
स्वयम् पोखरीहरू महासागर बनेर
निस्कने छन् नवयुगको अनन्त यात्रामा
विजयी जुलुस मनाउँदै ।