धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २१ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार चोरी मुद्दामा दुई जना र लागुऔषध मुद्दामा दुई जना र अभद्र व्यवहार मुघामा एक जना गरी पाँच जनालाई पक्राउ गरिएको छ ।
चोरी मुद्दामा जिल्लाको विष्णुपुर गाउँपालिका–५ का १९ वर्षीय मो. तसमिल, २९ वर्षीय अनिल यादवलाई पक्राउ गरिएको छ । जेनेरेटर चोरी गरेको आरोपमा उनीहरुलाई शुक्रबार बेलुका पक्राउ गरिएको हो । राजविराज नगरपालिका–१६ बेरियास्थित महेन्द्र देवको निर्माणाधीन घरबाट जेनेरेटर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले तसमिल र यादवलाई नियन्त्रणमा लिएपछि प्रहरीलाई बुझाइएको थियो । उक्त घटनामा प्रयोग गरिएको १५ हर्सपावरको जेनेरेटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सप्तरी जिल्ला अदालतबाट छ दिनको म्याद थप गराई उनीहरुउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, लागुऔषधसहित जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ का ३१ वर्षीय सुरेन्द्रकुमार शर्मा र रुपनी गाउँपालिका–३ का १८ वर्षीय विक्रमकुमार मण्डललाई पक्राउ गरिएको छ । जिल्लाको राजगढ गाउँपालिका–२ बनैनिया क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शंका लागी चेकजाँच गर्दा विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट डाइजापाम १० एम्पुल, करेक्स एक बोतल, फेनेरगन नौ एम्पुल, सिरिन्ज, गाँजा २५ ग्राम लगायतका लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जनाउनुभयो । दुबै जनालाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी, अभद्र व्यवहार मुद्दामा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २२ वर्षीय शिवनारायण दासलाई पक्राउ गरिएको छ । दासले राजविराज–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साइकल चोरी भएको घटनामा होहल्ला तथा प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रनाउ पुरीले जानकारी दिनुभयो । उहाँमाथि पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।