रमेश विश्वकर्मा
गुल्मी, चैत २१ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा आठ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म आठ लाख ३८ हजार २५० रुपियाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी, संस्था दर्ता÷नविकरण र राष्ट्रिय परिचयपत्रबाट राजस्व संकलन गरिएको हो। जसमा राहदानीबाट आठ लाख २२ हजार पाँच सय रुपियाँ, संस्था दर्ता नविकरणबाट तीन हजार २५० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १२ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको छ। पछिल्लो एक हप्तामा हातहतियार नविकरण तथा नामसारी भएको छैन।
यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट १३७ जनाले नयाँ नागरिकता लिनुभएको उहाँले जानकारी दिनुभयो। १५७ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। एक हप्तामा नाबालक परिचयपत्र १६ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १६६ र राहदानी वितरण २२४ जनाको गरिएको छ।
राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३७८ जना, राष्ट्रिय परिचयपत्र वितरण ४४८ जना, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १९ जनाको गरिएको छ। यो साता एक संस्था दर्ता र तीन संस्था नविकरण गरिएको छ। प्रशासनले एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि नै सार्वजनिक गर्दै आएको छ।