गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २१ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
सम्पत्ति शुद्धीकरण कसुरमा अग्रवालमाथि विभागले अनुसन्धान गरिरहेको छ । अग्रवालमाथि विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको समयमा कालोबजारी गरेको, ठुलो मात्रामा कर तथा भ्याट छली गरेको, फिडरलाइनमा अनियमितता गरेको, गुणस्तरहीन वस्तु उत्पादन गर्दै उपभोक्ता ठगी गरेको र विद्युत् प्राधिकरणमा दुई अर्ब ६५ करोड रुपियाँ बक्यौता नतिरेको आरोप छ ।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विवादास्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो । भट्ट र अग्रवाललगायतका समूहले शक्तिकेन्द्रलाई प्रभावमा पारेर अदृश्य रूपमा ठुलो आर्थिक हिनामिना गरी राज्यलाई नोक्सानमा पार्दै आएको आरोप लाग्दै आएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका भट्टको पासपोर्ट पनि रोक्का गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले भट्ट, अग्रवाल र अन्य विवादास्पद व्यावसायीमाथि अनुसन्धान गरिरहेको छ ।