कन्हैयालाल केशरी
पर्सा, चैत २१ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री वाग्लेले शुक्रबार यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन दबाब पर्ने भए तापनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन निर्देशन दिनुभयो ।
“लक्ष्य अनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी व्यवसायी मारमा पनि पर्ने गर्छन् तर उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाइ फकाइ वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु,” उहाँले भन्नुभयो, “घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासा पनि छन् । त्यस्ता गुनासालाई पनि अन्त्य गर्न जरुरी छ ।”
उहाँले भन्नुभयो, “कडाइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर उद्योग व्यवसाय गर्न नै हतोत्साही हुने वातावरण भने बनाउने छैनौँ,” उहाँले भन्नुभयो, “राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईंहरू मेरो नोटिसमा आउनुहुने छ । सरकारले हामीले जुन विराट् लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिने छ ।”
अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा/पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साही गर्ने नीति अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला,” उहाँले भन्नुभयो, “बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ तर बजार अनुगमनको पनि दुरुपयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।”
अर्थमन्त्री वाग्लेले बदमासी गर्नेविरुद्ध राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताउँदै भन्नुभयो, “भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्ने छौँ,” उहाँले भन्नुभयो, “अहिले हिजो जस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नु पर्छ भन्ने छ । अब सेवा प्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्ने छ ।”
शुक्रबार नै वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको आव २०८३/८४ को पूर्वबजेट अन्तव्रिर्mयामा अर्थमन्त्री वाग्लेले सुशासन र सुधार सरकारको वेगलाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभयो ।
धैरै दिनदेखि सम्बोधन हुन नसकेका राजस्व अनुसन्धान विभाग र आर्थिक क्षेत्रमा देखिएका १५ वटा निष्क्रिय ऐन खारेज गर्ने निर्णयलाई कार्यान्वयन गरी उद्योगी व्यवसायीको चाहना अनुरूप आर्थिक क्षेत्रमा देखिएका सुधारलाई प्राथमिकतासाथ अगाडि बढाएको पनि उहाँले बताउनुभयो ।
उहाँले आर्थिक एजेन्डालाई अगाडि बढाउन सरकारले जनमत पाएकाले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई सबैको साथ र सहयोगमा दृढतापूर्वक सामना गरिने कुरा व्यक्त गर्नुभयो ।
राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्ने काम सरकारले गर्ने बताउँदै अर्थमन्त्री वाग्लेले जेनजी आन्दोलनको मर्म पनि यही रहेको स्मरण गर्नुभयो । दुई/चार जनालाई कारबाही गरेर बाँकीलाई संरक्षण गर्ने काम यो सरकारबाट नहुने भन्दै उहाँले राजनीतिक कार्यकर्ता वा प्रशासनिक कर्मचारी जोकोहीलाई पनि कानुनसम्मत कारबाही हुने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री वाग्लेले सरकारको काम पारदर्शी बनाई सुशासन र समृद्धि र सुधारको अनुभूति दिलाउन केही ऐनलाई संशोधन गर्नुपर्ने बताउँदै सहज वातावरणमा काम गर्न तथा झन्झटिलो प्रक्रियालाई निष्क्रिय बनाउन सरकार पछि नपर्ने उल्लेख गर्नुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राजस्व सचिव भूपाल बराल, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र आन्तरिक राजस्व विभागका महानिर्देशक जनकराज शर्माले आर्थिक क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै समाधानको बाटो देखाउन आग्रह गर्नुभयो ।