राममणि दाहाल
मकवानपुर, चैत २० गते । मकवानपुरमा एक सय मेगावाट क्षमताको जलालायुक्त जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ । नेपाल विद्युत प्राधिकरणले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा कुलेखानी सिस्नेरी पम्प जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने गरी अगाडि बढाएको हो ।
प्रस्तावित उक्त आयोजनाको निर्माणसँगै हिउँदमा भारतबाट हुँदै आएको विद्युत् आयातमा कटौती हुने विश्वास गरिएको छ ।
इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन प्राधिकरणले पम्प जलाशययुक्त जलविद्युत आयोजनाको प्रस्ताव कार्यान्वयन गर्ने क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारणका लागि सार्वजनिक रुपमा राय सुझाव उपलब्ध गराउन भनेको छ । साथै प्राधिकरणले पालिकाका प्रभावित वडामा पुगेर समीक्षा र राय सङ्कलनसमेत थालेको छ । उक्त आयोजनाबाट इन्द्रसरोवर गाउँपालिकाको १, २ र ३ प्रभावित हुनेभएको छ ।
प्रभावित हुने वडा इन्द्रसरोवर गाउँपालिका वडा १ का वडाध्यक्ष सुवास थापा मगरले वडा कार्यालय मार्खुमा बिहीबार र वडा नम्बर २ मा शुक्रबार प्रस्तावित आयोजनाका बारेमा छलफल गरिएको जानकारी दिनुभयो । उहाँले आयोजनाबाट प्रभावित क्षेत्रको मानव बस्ती, भौतिक, आर्थिक, सामाजिक, प्राकृतिकलगायतका क्षेत्रमा पर्ने प्रभावहरुका बारेमा छलफलसँगै समस्याको समाधानका लागि रायसुझाव सङ्कलन गर्ने कार्यभएको बताउनुभयो ।
विद्युत् प्राधिकरणद्वारा इन्द्रसरोवर गाउँपालिकामा अवस्थित इन्द्रसरोवर तालमा जम्मा भएको पानीलाई कुलेखानी खोलामा झारेर विद्युत् उत्पादन गर्ने गरी प्रस्तावित आयोजनाबाट ऊर्जाको उच्च माग रहेको समयमा दैनिक ६ देखि १० घण्टासम्म विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।
प्रस्तावित आयोजनाले विद्यमान इन्द्रसरोवरलाई माथिल्लो जलाशयको रुपमा प्रयोग गर्ने र उक्त जलाशयको बाँधस्थलभन्दा करिव तीन किलोमिटर तल इन्द्रसरोवर गापा वडा नं. २, राङ्चे नजिक कुलेखानी खोलामा ३६ मिटर अग्लो नयाँ बाँध निर्माण गरी तल्लो जलाशय निर्माण हुनेछ । उक्त जलाशयको भण्डारण क्षमता १५ लाख ४० हजार घन मिटर रहने प्राधिकरणको भनाइ छ ।
इन्द्रसरोवरको पानीलाई इन्द्रसरोवर गापा वडा २ स्थित कलङ्की नजिकै इन्टेक निर्माण गरी करिव १.९ किलोमिटर लम्बाइको सुरुङ मार्फत कुलेखानी खोलाको बायाँ किनारमा रहेको लिप्पानेमा प्रस्तावित विद्युतगृहमा पानी खसाइनेछ र टेलरेसबाट निस्केको पानीलाई तल्लो जलाशयमा भण्डारण गर्ने गरी आयोजना प्रस्ताव गरिएको छ । विद्युतको माग कम भएको समयमा तल्लो जलाशयमा भण्डारण भएको पानीलाई सोही सुरुङ मार्फत पम्प गरी पुनः इन्द्रसरोवरमा तानिने भएको छ ।
प्रस्तावित आयोजनाबाट विद्यमान इन्द्रसरोवरको भण्डारण क्षमतामा कुनै परिवर्तन नहुने प्राधिकरणको भनाई छ । पूर्ण क्षमतामा दैनिक रुपमा आयोजना सञ्चालन हुँदा इन्द्रसरोवरको जलस्तरमा अधिकतम २० मिटरसम्म थपघट हुनेछ भने तल्लो जलाशयको जलस्तरमा अधिकतम २३.५ मिटरसम्म थपघट हुनेछ । साथै यस आयोजनाको विद्युतगृहमा प्रति युनिट ५० मेगावाट क्षमताका दुई वटा टर्वाइन जडान गर्ने योजना बनाइएको छ । आयोजनाको डिजाइन बहाव ६८.१२ घनमिटर प्रति सेकेन्ड रहने छ ।
प्राधिकरणले आयोजनाको प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने जनाएको छ । सो क्रममा त्यस क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्छ गाउँपालिका तथा त्यसक्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव उपलब्ध आग्रह गरेको छ ।
कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट गरी हाल १०६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।