प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत पर्यटनमा सम्भावना बोकेको देश हो । विश्वकै उत्कृष्ट तालहरू, हिमाल, धार्मिक तथा ऐतिहासिक सम्पदा मात्र होइन, कृषि पर्यटन, साहसिक पर्यटन र खेल पर्यटनले पनि नेपालको पर्यटन विकासमा महत्वपूर्ण टेवा पु¥याइरहेका छन् । मन्दिर, चैत्य, विहार, परम्परागत ठाँटीहरूले उत्तिकै पर्यटनमा सुगन्ध थपेको छ । दिनहुँजसो मनाइने फरक फरक जातजातिका पर्व, संस्कार र रीतिरिवाजले नेपाललाई विश्वमाझ चिनाउन थप सहज भएको छ ।
नेपालमा पटक पटक भइरहने सरकार परिवर्तन, चरम भ्रष्टाचार, राजनीतिक अस्थिरता, राज्यका तीन तहका सरकारबिच समन्वयको अभाव, पर्यटनसँग सम्बन्धित निकायमा विज्ञ र योग्यभन्दा पनि राजनीतिक भर्ती केन्द्रका रूपमा स्थापित गराउनुले पनि अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि उल्लेखनीय प्रगति हुन सकेको छैन् । विसं २०७२ को महाभूकम्पले तहसनहस पारेको पर्यटन बजारलाई २०७६ सालमा विश्वभर नै महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणले शून्यको अवस्थामा पु¥यायो । कोरोना सङ्क्रमणपछि फस्टाउँदै गरेको पर्यटन बजारलाई गत भदौ २३ र २४ को जेनजी आन्दोलनले पुनः एक पटक ठुलो असर ग¥यो ।
यसअघिका सरकारले पनि पर्यटन क्षेत्र सुधारको प्रयास नगरेका भने होइनन् । यस पटक झन्डै दुईतिहाइ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ को विशेष निर्वाचनमा प्राप्त ग¥यो । रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै पर्यटन क्षेत्रमा सकारात्मक सुधार हुने अपेक्षा गरिएको छ । यसअघि एकलौटी सरकार स्थापना हुन नसक्दा आसलाग्दा काम गर्न कठिनाइ हुने व्यवस्थाको अन्त्य भएको छ । यसले पर्यटन क्षेत्रमा पनि उल्लेखनीय सुधार हुने धेरैको विश्वास छ । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा काठमाडौँ उपत्यकाको संस्कृति र रीतिरिवाजको संरक्षणमा गर्नुभएको कार्यले पनि देशभरको पर्यटनको क्षेत्र थप चलायमान हुने आशा गर्न सकिन्छ । महानगर प्रमुख रहँदा काठमाडौँको परम्परागत संस्कृति झल्कने विविध पूर्वाधार निर्माण र विभिन्न जात्रा पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्धन गर्ने कार्यमा उहाँ अग्रसर हुनुभयो । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो शपथ कार्यक्रममा शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । यसले सनातन परम्पराको प्रवर्धनमा टेवा पुगेको छ । शपथ ग्रहण समारोहमै सेफ सन्तोष शाहको समन्वयनमा गरिएको मिथिला चित्रकलाले पनि मिथिलाको कला र संस्कृतिलाई झल्काएको थियो ।
प्राथमिकतामा पर्यटन
नवगठित सरकारको गत चैत १३ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको सयबुँदे कार्यसूचीमा निजी क्षेत्रको प्रवर्धन तथा पूर्वाधार विकासमार्फत पर्यटन उद्योगलाई बलियो बनाउने लक्ष्य रहेको छ, जसमा पर्यटन क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र लगानी बोर्डमा दर्ता भएका ठुला पर्यटकीय परियोजनाको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गर्ने भनिएको छ । पर्यटन क्षेत्रमा लगानी गर्न चाहने स्वदेशी तथा वैदेशिक लगानीकर्तालाई झन्झटमुक्त सेवा दिन लगानी बोर्ड नेपाल अन्तर्गत आगामी एक महिनाभित्रै ‘एकद्वार स्वीकृति प्रणाली’ स्थापना गरी सञ्चालनमा ल्याउने नयाँ सरकारको प्राथमिकता छ, जसले ठुला होटेल, रिसोर्ट र साहसिक पर्यटनमा आउने लगानीलाई निर्धारित समयावधिभित्रै स्वीकृति दिने, सुनिश्चित गर्न सहयोग गर्ने छ । यो कार्य पूर्ण रूपमा डिजिटल, पारदर्शी र ‘ट्रयाकिङयोग्य’ हुने छ । यस कार्यबाट पर्यटन व्यवसायीले सरकारी कार्यालय धाउनुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने बाध्यता अन्त्य गर्न सघाउने छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो चुनावी भाषणमा समेटिएका पर्यटकीय सम्भाव्य क्षेत्रको व्यवस्थित पर्यटनबारे अध्ययन गरिने विषयलाई पनि सरकारका सय कार्यसूचीमा समेटिएको छ । सरकारले उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुराको सुन्दर बडिमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन योग्य खाका प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ । नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने विषय कार्यसूचीमा प्राथमिकताम तोकिएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रलाई धन्यवाद ज्ञापन गर्नेसमेत निर्णय भएको छ । सरकारले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय कार्यसूचीको रूपमा लिई नेपाल वेलनेस इयर–२०२७ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने पनि उल्लेख गरेको छ । यसै गरी नेपालको पर्यटन क्षेत्रलाई सुदृढ र प्रतिस्पर्धी बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय पर्यटन विभागले समेत पर्यटन क्षेत्र आबद्ध सरोकारवालाबिच विस्तृत छलफलको समेत सुरुवात गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पर्यटन विभागका प्रमुख एवं पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटनमन्त्री खड्कराज पौडेलसहित पर्यटन क्षेत्र आबद्ध सरोकारवालाबिच पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने र पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।
अबका अपेक्षा
नेपालको पर्यटन क्षेत्रलाई दिगो, प्रतिस्पर्धी र उच्च आयआर्जन गर्ने बनाउन नयाँ सरकारले विविध बहुआयामिक काम गर्नु अपरिहार्य देखिन्छ, जसमा पूर्वाधार विकास अन्तर्गत अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, सडक, यातायात, ट्रेकिङ रुट र ग्रामीण पहुँच सुधार, स्वच्छ पानी, बिजुली, इन्टरनेट जस्ता आधारभूत सेवाको विस्तार गर्नुपर्ने देखिन्छ । युरोपेली सङ्घ (इयु) द्वारा कालोसूचीमा रहेको नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि पनि यो सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ । यो विषय रास्वपासहित देशका मुख्य राजनीतिक दलका घोषणापत्रमा समेत समावेश गरिएको थियो । नेपालको गहनाका रूपमा रहेका संस्कृतिक, धार्मिक रीतिरिवाज, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथलगायत ऐतिहासिक धार्मिक स्थलहरूको प्रवर्धन गर्दै होमस्टे, इको–टुरिज्म, वेलनेस टुरिज्म (योग/ध्यान) विस्तार गर्दा मुलुकको पर्यटनमा टेवा पुग्ने छ । नेपालमा भएका कतिपय पर्यटकीय स्थानको बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा हालसम्म पनि प्रचारप्रसार हुन सकेका छैनन् । त्यसका लागि विभिन्न सामाजिक सञ्जाल, वेबसाइट, भिडियोबाट प्रचारप्रसारका साथै ‘भिजिट नेपाल’ जस्ता अभियानलाई जोड दिँदै अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा सक्रिय सहभागिता जनाउनु पर्छ । यस्तो प्रचारप्रसारका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई समेत जोड्न सकिन्छ, जसले नेपालको पर्यटन क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव पर्छ । नेपाल घुम्नका लागि तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सामान्य सूचनाको अभाव हुँदा उनीहरू अलमलमा पर्ने गरेका छन् । त्यसका लागि ‘टुरिस्ट हेल्प डेक्स’ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
नेपालबाट विदेश घुम्न जानका लागि थुप्रै ट्राभल एजेन्सीहरूले ‘टुर प्याकेज’ गराउने गरेका हुन्छन् । विदेशीहरूलाई पनि नेपाल घुम्न यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका साथै विभिन्न देशमा ट्राभल एजेन्सीहरूको स्थापना गर्ने र भएका एजेन्सीहरूलाई सक्रिय बनाउने हो भने नेपालमा पर्यटकको सङ्ख्या बढाउन सकिन्छ । विदेशबाट नेपाल घुम्न आउने पर्यटकका लागि सहज होस्, भनेर पर्यटक बसको व्यवस्थापन गरिनु निकै सकारात्मक हो तर काठमाडौँमा पर्यटक बसपार्कको व्यवस्थापन नहुँदा पर्यटक अन्योलमा पर्ने गरेका छन् । पर्यटक बसहरूलाई मापदण्ड अनुसार सञ्चालन गराउने, पर्यटक बसको गुणस्तर कायम गराउनेलगायतका कार्यमा समेत ध्यान जानु जरुरी देखिन्छ । यसका अलवा नेपाल पर्यटन बोर्डलगायतका सरकारी निकायमा हुने राजनीतिक नियुक्तिलाई निरुत्साहन गर्दै योग्य, सक्षम र विज्ञ व्यक्तिलाई नियुक्ति दिने व्यवस्थाका साथै प्रचारप्रसारका लागि खर्च हुने बजेटमा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्नु पर्छ । नेपाल घुम्ने पर्यटकका लागि अन्तर्राष्ट्रियस्तरको मापदण्ड लागु गर्दै गाइड, होटेल स्टाफ, ड्राइभरहरूलाई तालिमको व्यवस्था, पर्यटकमैत्री व्यवहार, सुरक्षा सुनिश्चित गर्नु पर्छ । नीतिगत सुधार अन्तर्गत सहज पर्यटक भिसा प्रक्रिया, लगानीमैत्री नीति र निजी क्षेत्रसँग सहकार्य बढाउने, पर्यटक सुरक्षा प्रणाली बलियो बनाउने, पर्यटनसम्बन्धी ऐन, नियम कानुनलाई सबै पक्षसँगको सहकार्यमा समयानुकूल परिमार्जन गर्दा पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गर्न सकिन्छ । प्रचारप्रसारले पर्यटक क्षेत्र चलायमान बनाउन त सकिएला तर पर्यटकलाई आकर्षण गर्ने हिमाल, जङ्गल र सम्पदा क्षेत्रको संरक्षण गर्दै फोहोर व्यवस्थापन र दिगो पर्यटन नीति कार्यान्वयन पनि गराउनु पर्छ ।
स्थानीयस्तरसम्म पर्यटकीय गतिविधि बढाउन स्थानीय समुदायलाई तालिम, युवालाई पर्यटन उद्यमशीलतामा प्रोत्साहन गर्नु पर्छ । स्थानीय उत्पादन (हस्तकला, खाना, संस्कृति) को प्रवर्धन गर्ने र पर्यटनबाट भएको राजस्व स्थानीयस्तरमै पुग्ने व्यवस्थाले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने छ । नेपालमा पछिल्लो समय पर्यटकको आकर्षण भएका होमस्टे सञ्चालनका लागि स्थानीयस्तरमै कार्यविधि बनाएर यसलाई व्यवस्थित बनाउनु पर्छ । नियमनकारी निकायले भने प्रभावकारी अनुगमन गर्नु पर्छ । नेपालसँग विश्वमै अद्वितीय प्राकृतिक र सांस्कृतिक सम्पदा छन् । यदि सरकारले पूर्वाधार, नीति, सेवा र दिगोपनलाई सन्तुलित रूपमा अगाडि बढायो भने नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्य बनाउन सकिन्छ ।