• १९ चैत २०८२, बिहिबार

एक पालिका एक उद्योग, एक घरमा एक रोजगार हुनुपर्छ : सांसद हर्कराज राई

blog

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सांसद हर्कराज राई। तस्बिरः केशब गुरुङ

काठमाडौँ, चैत १९ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राईले एक पालिका एक उद्योग र एक घर एक रोजगारी हुनुपर्नेमा जोड दिनुभएको छ । फागुन २१ गतेको चुनावपछि बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘एक पालिका एक उद्योग, एक घरमा एक रोजगार हुनुपर्छ भन्ने हाम्रो माग छ’, सांसद राईले भन्नुभयो । 

उहाँले जनताको सेवा सुविधालाई सार्वजनिक सम्पत्ति प्रयोग गर्न पाउने गरी कानुन बनाउन जोड दिनुभएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रममा प्राकृतिक संरक्षण, संस्कृतिको संरक्षण, भ्रष्टाचारको अन्त्य, पारदर्शी काम गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले देशको शान्ति सुरक्षाका लागि आवश्यक उपाय अपनाउन र अत्यावश्यक कामलाई प्राथमिकता दिन जोड दिनुभएको छ । 

अनुसन्धान नगरी सरकारले ल्याएका कामलाई अगाडि बढाउनु नहुने उहाँको भनाइ छ ।  सांसद राईले वृद्धभत्ता, ब्रिज कोर्श जस्ता सवालमाथि सरकारले गरेका निर्णयमा विचार गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

सांसद राईले सुकुम्बासी भन्दै जनताका घर टहरा भत्काउनु नहुने, भूमिहीन र सुकुम्बासीलाई लाजपूर्जा दिनुपर्नेमा जोड दिनुभयो । धनी मात्र नभएर गरिबको पनि हो यो देश भन्ने आवास जनातामा हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ उपत्यका मात्र नेपाल हो भन्ने सोच राख्नु नहुनेमा उहाँले जोड दिनुभएको छ । भूपू गोर्खा सैनिकको समान तलबका लागि नेपाल सरकारले पहल गर्नुपर्नेमा उहाँको जोड छ। 

सदनमा सम्बोधन गर्दा लामो भूमिका भन्दा उहाँले जनताका माग भन्दै विभन्न सवाल उठाउनुभयो ।  उहाँले देश बनाउन आएका सांसद परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सांसदलाई समयलाई ख्याल गर्नसमेत अनुरोध गर्नुभयो । ‘हामी देश बनाउन आएका छौँ । सबैभन्दा पहिला हामीले हामीलाई परिवर्तन गर्नुपर्छ । शपथमा १२ मिनेट र आज पहिलो बैठकमा १६ मिनेट ढिला भएका र्छौँ । सरकार यो विषयलाई गम्भीर रुपमा लिनुपर्छ ।’ 

उहाँले पृथ्वी रहुन्जेल यो देश रहिरहनुपर्छ । हाम्रो देशको चन्द्र सूर्यको झन्डा रहनुपर्छ भन्दै एमसीसी खारेज गर्नसमेत माग गर्नुभएको छ । सीमा क्षेत्रमा छिमेकी मुलुकले गरेको हस्तक्षेपलाई सरकारले हेर्नुपर्ने उहाँको माग छ । 

उहाँले संविधान संशोधनको सवाल उठिरहेको बताउँदै जनताले सोझै मतदान गरेर कार्यकारी चुन्न पाउने व्यवस्था गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

जेनजी आन्दोलनमा स्कुलका विद्यार्थीलाई बोलाएर २३ गतेको घटना घटाउने र २४ गते आगजनी गर्नेलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले सरकारका मन्त्री र सांसदको सम्पत्ति छानबिन गरेर सम्पत्ति छानबिनको सुरुवात गर्नुपर्नेमा जोड दिनुभएको छ । 

शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्ने माग उहाँको छ । हप्तामा तीन दिन पढेर चार दिन विद्यार्थीले उत्पादन र आविष्कारसँग काम गर्नुपर्ने उहाँको भनाइ छ । कृषिमा देखिएका समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक हल खोज्नुपर्नेमा जोड दिनुभयो ।