• १९ चैत २०८२, बिहिबार

अर्नाकोटमा लिफ्टिङ खानेपानी आयोजना

blog

बागलुङको निसी खोला गाउँपालिका–२, देविस्थानमा रहेको अर्नाकोट गाउँ । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत १९ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ देविस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीको मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खानेपानीको खोजीमा बसाइसराइको दर बढ्दो छ । 

प्राथमिक उपचारको लागि बोहरा गाउँस्थित स्वास्थ्य चौकीको भर पर्नुपर्ने बाध्यता सामुदायिक स्वास्थ्य एकाइले केही हदसम्म टरे पनि वर्षाैदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएका अर्नाकोटवासीको घर–घरमा खानेपानीको पहुँच सुनिश्चित गर्न झण्डै पाँच करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदैछ । 

कर्मा फ्लाइट्स फाउन्डेसनको समन्वयमा निसी खोला गाउँपालिकाको २९ लाख २४ हजार ८ सय २६ रुपियाँ, युनिका फाउन्डेसनको ३ करोड ४७ लाख ८५ हजार १ सय ५९ रुपियाँ, नेपाल रेडक्रस सोसाइटी कास्कीको ६ लाख ३० हजार र १ करोड १४ लाख ९० हजार बराबरको जनश्रमदान गरी कुल ४ करोड ५८ लाख ३० हजार ६ सय पचास रुपियाँको लागतमा अर्नाकोट लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजना अन्तर्गत आयोजना बन्न लागेको हो । 

निसी खोला गाउँपालिका–२, उपल्लो बेङ्ग्रीस्थित हाडीचार मुहानबाट पानी लिफ्लिङ गरेर झण्डै दुई हजार मिटरको उचाईंमा रहेको धम्पुमा सङ्कलन गरिने छ । ढोरपाटन नगरपालिका र निसी खोलाको सिमानास्थित धम्पुमा सङ्कलन गरिएको पानी अर्नाकोटका दुई सय घरधुरीमा वितरण गरिने आयोजना निर्माण उपभोक्ता समितिका सचिव ओमबहादुर रसाइलीले जानकारी दिनुभयो । 

‘‘२०७० मा लिफ्ट प्रविधिबाट पानी ल्याउने प्रयास भए पनि दीर्घकालीन व्यवस्थापन अभाव र संरचना जीर्ण बनेपछि आयोजना प्रभावकारी हुन सकेको थिएन । यस पटक दिगोपनालाई ध्यानमा राखेर आयोजना स्तरोन्नतिको काम धमाधम भइरहेको छ’’ रसाइलीले भन्नुभयो, ‘‘लिफ्टिङ आयोजनालाई अर्नाकोटवासीको जीवनशैली परिवर्तन गर्ने अभियानको रूपमा लिएका छौं ।’’ 

आयोजना अन्तर्गत ‘एक घर एक धारा’ निर्माण गरिने भने ११ वटा पानी सङ्कलन गर्ने ट्याङ्की बन्ने छन् । पाइपलाइन विस्तरका लागि उपभोक्ताले जनश्रमदान गरिरहेको समितिका सचिव रसाइलीले बताउनुभयो । 

समितिले पानी लिफ्टिङका लागि मोटर चलाउन ट्रान्सफर्मर जडानका लागि विद्युतमा निवेदन दिएको छ । झण्डै ९० लाखको मोटर खरिद प्रक्रिया अघि बढिसकेको जनाएको छ । 

अर्नाकोटमा अधिकांश दलित र एक, दुई घर बाहुनक्षेत्री र जनजातिको बसोवास छ । खानेपानी आयोजना बन्ने भएपछि ८२ वर्षिय छलवीर विकले पर्याप्त पानी खाएर मर्ने धोको पूरा हुने भन्दै खुसी व्यक्त गर्नुभयो । ‘‘बुढेसकालमा टाढाबाट पानी खेप्न सकिँदैन, कहिलेकाहीं मुखै नधोइ खाना खानुपर्ने बाध्यता थियो’’ विकले भन्नुभयो, ‘‘पानी जोहो गर्दाको सकस अब साम्य होला कि ।’’

४९ वर्षीया नरमती विकले हरेक बिहान ढोरपाटन नगरपालिका–५, वसन्त धाराको मूलबाट दुई घण्टा लगाएर खानेपानी बोक्नुपर्ने सास्ती आयोजना बनेपछि अन्त्य हुने आशा साच्नुभएको छ । धारामा आउने दैनिक दुई ग्रागी पानीले मान्छेदेखि पशु र अन्नबालीलाई गर्नुपर्ने विकले गुनासो गर्नुभयो । 

पानीको जोहो गर्नुपर्ने बाध्यताले धेरै विद्यार्थीको पढाइमा असर गरिरहेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वर सिर्पालीले बताउनुभयो । पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाइदेखि स्वास्थ्यको क्रियाकलाप प्रभावित भएको सिर्पालीले गुनासो गर्नुभयो ।