गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते । पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा पनि हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा गरेको भारी वृद्धि गरेसँगै बुधबारदेखि देशका अधिकांश गन्तव्यको हवाई भाडा बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीको सहकार्यमा बुधबारदेखि सबै आन्तरिक गन्तव्यको उडान भाडा बढेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “पश्चिम एसियामा जारी द्वन्द्वका कारण इन्धनको मूल्य र आपूर्तिमा समस्या देखिएपछि त्यसको असर नेपालको उड्डयन क्षेत्रमा समेत परेको छ । आयल निगमले हवाई इन्धनको मूल्य ७५ प्रतिशले बढाएपछि बुधबारदेखि पर्वतीय उडानसहित सबै आन्तरिक गन्तव्यको हवाई भाडा बढ्न पुगेको छ ।”
सरकारले तोकेको लागत दर (हरेक दुई वर्षमा नवीकरण हुनुपर्ने भए पनि २०७३ देखि स्थिर रहेको), हवाई इन्धनको मूल्य, यात्रुले तिर्ने विमानस्थल शुल्क र १३ प्रतिशत भ्याट जोडेर हवाई भाडा निर्धारण हुने गरिएकोमा उक्त आधारमध्ये कुनै एकमा असर पुग्दा समग्र हवाई भाडा समायोजना हुने गरेको उहाँले बताउनुभयो ।
वायुसेवा सञ्चालक सङ्घले आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपियाँ वृद्धि गरेसँगै इन्धनको मूल्य बढेर प्रतिलिटर २५१ रुपियाँ पुगेपछि वायुसेवा कम्पनीले आफ्नो उडान खर्च धान्न हवाई भाडा बढाएको जनाएको छ । बढेको हवाई भाडा सबै उडान गन्तव्यका साथै हेलिकोप्टरको भाडामा समेत लागु हुने छ ।
वायुसेवा कम्पनीले सबैभन्दा बढी काठमाडौँबाट धनगढीको हवाई भाडा पाँच हजार ४८० रुपियाँ बढेर ११ हजार ९० रुपियाँ पुगेको भने काठमाडौँबाट हुने पर्वतीय उडानको भाडा चार हजार २२५ सय रुपियाँले बढेर आठ हजार ६१५ रुपियाँ पुगेको छ । नयाँ भाडादर अनुसार काठमाडौँ–भद्रपुरको भाडा तीन हजार ७२५ रुपियाँ, विराटनगरको दुई हजार ९८०, जनकपुर एक हजार छ सय, भरतपुर एक हजार ३३०, पोखरा एक हजार ९७०, भैरहवा दुई हजार ५५५, नेपालगन्ज चार हजार ४५, तुम्लिङटार दुई हजार २९०, सिमरा एक हजार १२०, सुर्खेत चार हजार २८५ र काठमाडौँदेखि राजविराजको भाडा दुई हजार ५४० रुपियाँले बढेको छ ।