• १९ चैत २०८२, बिहिबार

इनिशा मृत्यु प्रकरण

आरोपितलाई थुनामा पठाउने आदेश

blog

अदालतमा बहस हुँदै गर्दा अदालतबाहिर निष्पक्ष आदेशको माग गरिरहेका इनिशाका आफन्त ।

सुर्खेत समाचारदाता

सुर्खेत, चैत १९ गते । सुर्खेतकी इनिशा विक ‘मृत्यु’ प्रकरणमा सुर्खेत जिल्ला अदालतले घटनामा संलग्न भनिएका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आइतबार र सोमबारसम्म दुवै पक्षको बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले घटनामा संलग्न भएको अभियोग लागेका चारै जनालाई मङ्गलबार राति पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

संलग्न चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको बताउनुभयो । अभियुक्त चारै जना नाबालक भएकाले उनीहरूलाई कारागार नभई बाल सुधारगृहमा पठाइने छ । 

बहसमा सरकारवादी मुद्दा भएकाले जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ताहरू आरती चपाईं र पुष्पा चालिसे, जाहेरीकर्ता इनिशाका आफन्तका तर्फबाट अधिवक्ताहरू गोविन्दराम परियार, राजेन्द्र भारती, मङ्गलसेन सार्की, भूमिप्रसाद सापकोटा, ईश्वरभक्त सुनार र कानुन व्यवसायी यमकुमारी ददेलले बहस गर्नुभएको थियो । उता प्रतिवादीका तर्फबाट अधिवक्ताहरू शङ्कर पौडेल, अनिलबहादुर शाही, उत्तमप्रसाद आचार्य, विवशकुमार बस्नेत, खगेन्द्रबहादुर खनाल र नारायणनाथ योगीले बहस गर्नुभएको थियो । साथै घटनामा संलग्नमध्ये एक जना किशोरले एसइई दिने भएकाले त्यसको व्यवस्था मिलाउन, मृतकमा आमाबुवा तथा घरपरिवारका सदस्यलाई मुद्दा अन्तिम नभएसम्म आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन र मुद्दाबाट पीडित हुन पुगेका व्यक्ति र सरकारी साक्षीको सुरक्षामा कसैले खलल पु¥याउने प्रयास गरे त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि अदालतले आदेश गरेको छ । 

गत फागुन २३ गते विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर नगरपालिका–१ मा बस्ने १६ वर्षीय इनिशा विक वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला पर्नुभएको थियो । प्रहरीले उहाँलाई कर्णाली प्रदेश अस्पताल पु¥याएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको थिए । सोही दिन घटनास्थलबाट उहाँका प्रेमी भनिएका १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । ती किशोरको बयानपछि थप तीन किशोरलाई पक्राउ गरी सुर्खेत प्रहरीले थप अनुसन्धान गरेको थियो । 

पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तस्रावका कारण बेहोस भएको बयान दिएका थिए । उक्त घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै गत आइतबार चारै जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । यता इनिशाको परिवारले न्याय नपाउने बेलासम्म इनिशाको शव नउठाने भनेपछि २५ दिनदेखि शव उठेको छैन । इनिशाको शव प्रदेश अस्पताल सुर्खेतको शवगृहमा रहेको छ ।