• १९ चैत २०८२, बिहिबार

‘ऊर्जा, उद्योग र शिक्षामा विज्ञताको उपयोग गर्छु’

blog

केदार तिमल्सिना 

बनेपा, चैत १९ गते  । काठमाडौँ विश्वविद्यालय (केयु) बाट सबैभन्दा कम उमेरमा विद्यावारिधि (पिएचडी) गर्नुभएका डा. राम लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्नुभएको छ । 

ऊर्जा तथा प्रविधिका क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव बटुलेका डा. लामाले नेपाल सरकारको ‘ग्रिन हाइड्रोजन’ विज्ञका रूपमा दुई वर्ष महìवपूर्ण योगदान दिनुभएको छ । नेपालकै पानी र बिजुली प्रयोग गरी ‘ग्रिन हाइड्रोजन’ उत्पादनमार्फत देशलाई आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ भन्ने मान्यतासाथ विगत पाँच वर्षदेखि यस अभियानमा लागिरहनुभएको छ । मेकानिकल इन्जिनियरिङ (हाइड्रोपावर) मा विद्यावारिधि गरेका उहाँ पाँचबर्से कार्यकालमा आफ्नो विज्ञतालाई देश विकासमा प्रयोग गर्ने बताउनुहुन्छ । 

“निर्वाचनका व्रmममा जिल्लाका विभिन्न गाउँबस्तीमा पुग्दा नागरिकका थुप्रै गुनासा र अपेक्षा पाएँ,” उहाँ भन्नुहुन्छ, “स्थानीयले बाटोघाटो, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्याबारे हाम्रो ध्यानाकर्षण गराउनुभयो ।” स्थानीयस्तरमा रोजागरीका अवसर नहुँदा मानिस गाउँ छोडेर अन्यत्र जानु परेकाले रोजगारीको वातावरण बनाइदिन आग्रह गरेको उहाँको भनाइ छ ।  “चुनावी अभियानमा जिल्लामा घुम्दा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सडकको धेरै समस्या पायौँ,” उहाँ भन्नुुहुन्छ, “यस क्षेत्रमा रोड कनेक्टिभिटी (सडक सञ्जाल) लाई प्राथमिकता दिनुपर्ने छ । क्षेत्र नम्बर २ विकसित रहेकाले यहाँ रोजगारीलाई प्राथमिकता दिनुपर्ने छ । रोजगारी सिर्जना गरेर आम्दानीको बाटो देखाउनुपर्ने दायित्व हामी जस्ता जनप्रतिनिधिको हो ।” 

उहाँले प्रतिनिधि सभा सदस्य रहँदा आफूले मुख्य गरी तीन वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “विधायकको हिसाबले आफूमा भएको विज्ञता अनुसार नवीकरणीय ऊर्जाभित्र रहेको पहिलो, जलविद्युत् (हाइड्रोपावर र हाइड्रोजन); दोस्रो, उद्योग र तेस्रो, गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्ने छु,” लामाले भन्नुभयो, “नेपालमा अहिले भएका उद्योगलाई कालान्तरमा कार्बन फ्री उद्योग बनाउन पहल गर्ने छु ।” 

“आफूसँग भएको ज्ञान र सिप सदुपयोग गरेर देश निर्माणमा लगाउने छु । अहिले हामी धेरै कुरा किताबमा पढ्छौँ तर त्यो व्यवहारमा प्रयोग हुँदैन, समाजसँग मेल पनि हुँदैन । त्यसैले अब शिक्षालाई व्यावहारिक बनाउन सिद्धान्तसँगै प्रयोगात्मक पनि बनाउनु पर्छ,” उहाँले थप्नुभयो । 

“आमनागरिकले भौतिक पूर्वाधार निर्माणलाई मात्रै विकास भयो भन्ने सोच्छन् । अब हामी त्यो सोचबाट माथि उठेर मानव संसाधनको विकास, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार, पर्यटनको क्षेत्रलाई समग्रमा जोडेर एउटा मोडेल तयार गरेर अघि बढ्नु पर्छ,” डा. लामाले भन्नुभयो । उहाँले आफूले प्राप्त गरेको विज्ञतालाई मुलुकको ऊर्जा, उद्योग र शिक्षाका क्षेत्रमा उपयोग गर्ने बताउनुभयो । 

उहाँले ऊर्जाका क्षेत्रमा आवश्यक पर्ने जनशक्ति (इन्जिनियर) उत्पादन गर्ने बताउँदै भन्नुभयो, “देशभित्र रहेका स्रोतसाधनको प्रयोग गरेर उद्योगका क्षेत्रमा उत्पादकत्व बढाउँदै नेपालमै रोजगारी सिर्जना गर्नु पर्छ । साथै सूचना प्रविधि उद्योगसमेत अघि बढाउनु पर्छ । वर्षायाममा धेरै विद्युत् खेर गइरहेको छ । त्यसलाई नीति बनाएर अधिकतम कसरी प्रयोग गर्ने भन्ने प्रस्ट हुनु पर्छ । यो प्रयोग गर्न सकेमा लगानीकर्ताको लगानी खेर जाँदैन । नेपालमा हाल रहेका उद्योगलाई कार्बनरहित बनाउनका लागि ग्रिन इन्डस्ट्रिज बनाउन नीतिगत पहल गर्ने छु,” डा. लामाले भन्नुभयो ।