• १८ वैशाख २०८३, शुक्रबार

प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु

blog

दोधारा चाँदनी (कञ्चनपुर), वैशाख  १८ गते ।  कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा ‘बी’ लेभलका ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट बाह्रसिङ्गाको प्रमुख वासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवर्धन गर्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा ‘बी’ लेभलतर्फ पहिलो हुनेले ४४ हजार ४४४, दोस्रो हुनेले २२ हजार २२२ र तेस्रो हुनेले ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै, भेट्रानतर्फ पहिलो हुनेलाई १५ हजार ५५५, दोस्रो हुनेलाई ७ हजार ५५५ र तेस्रो हुनेलाई ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

उद्घाटन समारोहमा कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, भीमदत्त नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बम, कञ्चनपुर ब्याडमिन्टन सङ्घका अध्यक्ष राहुल भट्टलगायत उपस्थित हुनुहुन्थ्यो । रासस