• १९ चैत २०८२, बिहिबार

निबुवा खोला होम पाइप निर्माण

blog

नगरपालिका–१ र ३ जोड्ने निबुवा खोलामा होम पाइप लगाउँदै । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), चैत १९ गते ।
धनकुटा नगरपालिका–१ र ३ जोड्ने निबुवा खोलामा स्थानीय समाजसेवी द्रोर्ण प्रसाद गुरागाईंको सहयोगमा होम पाइप लगाइएको छ। समाजसेवी गुरागाईंले आवश्यक सामाग्री खरिद र ढुवानी गरिदिएपछि खोलामा होम पाइप स्थापना गरिएको हो।

यो खोलामा वाल निर्माण गरी होम पाइप राखिएपछि साना र ठूला दुवै यातायातका साधन वारपार गर्न सहज हुने स्थानीय बताउँछन्। करिब ३९ फिट लम्बाइ, बिच भाग ८ फिट र छेउछेउ १३ फिट ढलान गरेर पाइप स्थापना गरिएको छ। होम पाइप निर्माणका लागि आवश्यक रड, सिमेन्ट, दुईवटा पाइप र अन्य सामग्री खरिद तथा ढुवानी समाजसेवी गुरागाईंले गरिदिनुभएको छ। खोलामा पाइप राख्न एक सयभन्दा बढी स्थानीयले श्रमदानमार्फत वाल निर्माणमा सहयोग पु¥याएका छन्।

समाजसेवी गुरागाईंले भन्नुभयोे, “यो मेरो पूर्खौली जन्मथलो हो। यहाँ केही सेवा गरेर खोलामा वारपार गर्न सहजता मिलोस् भन्ने उद्देश्यले पाइप लगाएको हुँ।”

धनकुटा बिहिबारे हाट–मालबासे–मधुगंगा सडकखण्डमा पर्ने यो खोलामा वर्षौंदेखि होम पाइप वा पुल नहुँदा स्थानीय लामो समयदेखि सास्ती भोग्दै आएका थिए। पहिले बासबाट बनाइएको अस्थायी पुलमार्फत वारपार गर्नुपथ्र्यो। अब पाइप लगाउँदा यात्रु र सवारी साधन सञ्चालनमा सहजता बढेको छ।

समाजसेवी गुरागाईंले आफ्नो खर्च सार्वजनिक नगरी सेवा भावबाट काम गरेको बताए। तत्कालिन भिरगाउँ गाविस (धनकुटा नगरपालिका–२) अन्तर्गत रहेको यो क्षेत्रका लागि नगरपालिकाले करिब २० लाख रुपियाँको लागत अनुमान गरेर स्टिमिट निकालेको थियो। तर आवश्यक सामग्री समाजसेवीले उपलब्ध गराएपछि बाँकी काम स्थानीयले श्रमदानमार्फत सम्पन्न गरेका छन्।

स्थानियले वर्षायाममा खोलामा बाढी आउँदा वारपार गर्न कठिनाइ हुने गुनासो गर्दै आएका थिए। टेम्पो चालक नेत्रबहादुर घिमिरेले भन्नुभयो, “अब पाइप भएपछि यात्रु र सवारी साधन सञ्चालन सहज भएको छ। पहिले खोलामा बढी पानी आउँदा डर लाग्थ्यो।”

स्थानिय डम्बर राना मगरले भन्नुभयो, “प्रदेश र संघीय सरकारले विकास निर्माणमा आवश्यक सहयोग नगरेको अवस्थामा पनि हामी स्थानीयहरू श्रमदानमा जुटेका छौं। हप्तामा एक दिन पाइप मर्मत र सडक सरसफाइमा समय दिन्छौं।”

यो सडक मध्यमार्गी भए पनि धार्मिक स्थल मधुगंगा धाम जाने मार्गमा पर्ने भएकाले सरकारको ध्यान आवश्यक रहेको स्थानीयको भनाइ छ। हाल यस सडक हुँदै दैनिक १५–२० वटा टेम्पो र ४–५ वटा साना सवारी साधन सञ्चालन हुन्छन्। होम पाइप निर्माणपछि करिब ६ सय घरपरिवार लाभान्वित हुने अनुमान गरिएको छ।