• १९ चैत २०८२, बिहिबार

इन्द्रा सुगर प्रकरणः किसान ठगिए, सम्पर्कविहीन सञ्चालक

blog

उद्योगमा आफ्नो पसिनाको मूल्य पर्खिरहेका किसान । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १९ गते ।
नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिकास्थित गङ्गापुरमा रहेको इन्द्रा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालि अहिले सुनसान छ। उद्योगको मुख्य गेटमा ताल्चा झुण्डिएको छ, तर महीनौँदेखि तलब नपाएका कर्मचारी र आफ्नो पसिनाको मूल्य पाउने आसमा कुर्दै आएका किसानहरूको अनुहारमा चिन्ता प्रष्ट देखिन्छ।

उद्योगका सञ्चालक राकेश अग्रवाल गत वर्षदेखि करोडौँको बक्यौता नतिरी सम्पर्कविहीन रहँदा यहाँको अवस्था जटिल बनेको छ। स्थानीय किसानका अनुसार अग्रवाल हाल भारतमा बस्दै आरामदायी जीवन बिताइरहेका छन्, तर किसानहरू हातमुख जोर्नै धौ पर्ने अवस्थामा पुगेका छन्।

उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता तथा लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले उद्योग सञ्चालक अग्रवाल हाल भारतको लखनउमा रहेको उल्लेख गर्दै, सरकारले रेड कर्नर नोटिस जारी गरी उहाँलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो।

उद्योगले किसानसँग करिब ६ करोड रुपियाँ उखुको भुक्तानी दिन बाँकी राखेको छ। त्यस्तै, कर्मचारीहरूको एक करोड रुपियाँभन्दा बढी तलब रोकिएको छ भने विभिन्न बैँकहरूको करिब ४० करोड रुपियाँ ऋण जोखिममा परेको छ। उद्योगको सम्पत्तिभन्दा ऋणको भार बढी देखिँदा बैँकले उद्योग परिसरमा आफ्नै सुरक्षा गार्ड खटाएको छ।

स्थानीय किसानहरूले भनेका छन्, “यो सरासर योजनाबद्ध ठगी हो। उद्योगले उखु किन्ने, चिनी बेचेर पैसा तिर्ने बाँचा गरेर बेपत्ता भएको छ। यसले किसानको अवस्था झन् गम्भीर बनाएको छ। उद्योग बन्द हुँदा सरकारले दिने अनुदान समेत रोकिएको छ।”

गत वर्ष २१८ जना किसानको विवरण नपठाउँदा ४२ लाख ३३ हजार रुपियाँ अनुदान रोकिएको थियो। किसानहरू निराश हुँदै कम मूल्यमा क्रसर उद्योगमा उखु बेच्न बाध्य छन्, जहाँ सरकारी अनुदान पनि पाइँदैन। इन्द्रा सुगर बन्द भएपछि किसानहरू सुस्तास्थित बागमती चिनी उद्योगमा उखु लैजान बाध्य छन्।

किसानहरूको अन्तिम आशा सरकारले ल्याएको १०० दिने कार्यक्रम मा टिकेको छ। सरकारले २५ दिनभित्र उखुको भुक्तानी नगरे उद्योगीले ब्याज समेत तिर्नुपर्ने व्यवस्था ल्याउने चर्चा गरेपछि केही आशा जगाएको छ।

विशेषज्ञका अनुसार, समयमै उद्योगीलाई कानुनी दायरामा नल्याए किसानको बक्यौता नचुक्ता हुन सक्ने र यस क्षेत्रबाट उखु खेती विस्थापित हुने निश्चित छ।