रवीन्द्र उप्रेती
बर्दीबास, चैत १९ गते । महोत्तरी र धनुषाको सिमानामा पर्ने रातुपुल क्षेत्रमा प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ।
लागु औषध नियन्त्रण ब्युरो शाखा बर्दीबास र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष चेकिङका क्रममा धनुषाको लालगढबाट बर्दीबासतर्फ पैदल आइरहेका तीन युवालाई बुधबार राति करिब ८ बजेतिर लागु औषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुली, दुधौली नगरपालिका–५, सिरथौली बस्ने २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दिपेश साह रहेका छन्।
प्रहरीका अनुसार तलासीका क्रममा उनीहरूको साथबाट ट्यापेन्टा ट्याब्लेट ४० पिस र स्पासरेष्ट ट्याब्लेट ४० पिस फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उनीहरूले उक्त लागु औषध धनुषाको मिथिला नगरपालिका–६ स्थित अनु फार्मेसी, ढल्केबरबाट खरिद गरेको बताएका थिए।
यस आधारमा इलाका प्रहरी ढल्केबर र ब्युरो टोलीले फार्मेसीमा छापा मार्दा ट्यापेन्टा ट्याब्लेट ७६०० पिस, स्पासरेस्ट २० एमजी ९५० पिस, डोएल ७५ एमजी ६०० पिस, डोएल १०० एमजी ९४४ पिस ट्याबलेट र नगद १ लाख ३५ हजार रुपियाँ बरामद भएको छ।
फार्मेसी सञ्चालक ५० वर्षीय रामकुमार महत्तोलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी ढल्केबरले अनुसन्धान र आवश्यक कारबाही सुरु गरेको छ।