• १९ चैत २०८२, बिहिबार

उद्योगको प्रदूषणले मानव स्वास्थ्यमा असर

blog

नवलपरासी समाचारदाता

कावासोती, चैत १९ गते । विगत २५ वर्षदेखि डेढ बिघा जमिनले जीवन निर्वाह गर्दै आउनुभएका पूर्वी नवलपरासी देवचुली नगरपालिका–१, केउरानीका सत्यनारायण गुरौलेलाई अहिले त्यसको उत्पादनले खान पुग्दैन । कारण हो फोहोर पानीले सिँचाइ हुँदा उत्पादनमा कमी आएको छ । यस्तो पीडा गुरौलेलाई मात्र होइन, अन्य किसानले पनि भोगिरहेका छन् । 

पूर्वी नवलपरासीस्थित चौधरी उद्योगग्रामका उद्योग (सिजी उद्योगग्राम) बाट निस्किने प्रदूषण र प्रशोधन नगरी फालिने दूषित पानीका कारण देवचुली नगरपालिकाका किसान मर्कामा परेका छन् । त्यसको प्रदूषित पानीले कृषिमा मात्र होइन मानवको स्वास्थ्यमा समेत असर परेको छ । स्थानीयवासीले स्वास्थ्य र कृषि उत्पादनमा असर भोगिरहेको भन्दै असन्तुष्टि पोखेका छन् । 

कृषक गुरौले आफूले २५ वर्षअघिसम्म डेढ बिघा जमिनमा खेती गरेर जीवन निर्वाह गर्दै आए पनि अहिले खेती गर्न नसकिने अवस्था आएको बताउनुभयो । कुलोमा रासायनिक पदार्थ मिसिएको प्रदूषित पानी बग्न थालेपछि खेती हुन छाडेको उहाँले बताउनुभयो । खेती नहुने भएपछि किसान गुरौ डोको बुनेर बिक्री गरी पेट पालिरहेको बताउनुहुन्छ । 

उद्योगग्रामबाट निस्किने फोहोर पानी, रसायन कुलोमा मिसाइँदा अहिले वरिपरिका सबै किसान प्रभावित भई उनीहरूको जीवनचक्र नै खलबलिएको स्थानीय भोजनारायण थारू बताउनुहुन्छ । २०५० सालमा नवलपरासीमा चौधरी ग्रुपले चौधरी उद्योगग्राम स्थापना गरेको हो । उद्योगग्रामभित्र चाउचाउ, जुस, चिजबल, आलु चिप्स, चुरोट, बियरलगायत आठ उद्योग छन् । 

यस क्षेत्रमा उद्योगको प्रदूषणले किसानको खेतीबाली मात्र बिथोलिएको छैन, उद्योगबाट निस्किने धुवाँधुलो र दुर्गन्धले स्वास्थ्यमा समेत समस्या पारिरहेको स्थानीय कपिल न्यौपानेले बताउनुभयो । उद्योगग्राम स्थापना हुनुअघि पुस्तौँदेखि बस्दै आएका बासिन्दाले उद्योगका कारण भोग्नु परेको असरको विरोध गर्दा पनि रोकथाम गर्नेतर्फ ध्यान नदिएको देवचुली नगरपालिका–१५ का वसन्त 

पोखरेलको भनाइ छ । यही प्रदूषित पानी र उद्योगको प्रदूषणका कारण पछिल्लो समय बालबच्चालाई एलर्जी भएर शरीरभरि बिमिरा आउने गरेको र वृद्धवृद्धालाई सास फेर्न पनि गाह्रो हुने गरेको पोखरेलले बताउनुभयो । 

देवचुली नगरपालिका–२ का वडाध्यक्ष शरदप्रसाद घिमिरेले उद्योगग्रामले प्रशोधन नगरी पानी फालेका कारण दुर्गन्ध र फोहोरको समस्या बढेको र कयौँपल्ट उद्योगका आधिकारिक व्यक्तिलाई अनुरोध गर्दासमेत सुनुवाइ नभएको बताउनुभयो । 

घिमिरेका अनुसार उद्योगग्रामको प्रदूषणविरुद्ध स्थानीयवासीले आन्दोलन गर्दा हरेक पटक उद्योगका प्रतिनिधिले ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ को क्षमता बढाउने आश्वासन मात्र दिने गरे पनि हालसम्म त्यसतर्फ काम नभएको उहाँले बताउनुभयो ।