• १९ चैत २०८२, बिहिबार

अस्पतालमा चिकित्सक अभाव, सेवाग्राहीलाई सास्ती

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), चैत १९ गते । हुम्लाको जिल्ला अस्पताल चिकित्सकको अभावमा चलिरहेको छ । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि यहाँका बिरामीले सास्ती खेप्नु परेको हो ।केही दिनअघि चङ्खेली गाउँपालिका–२ का अक नेपाली भिरबाट लडेर गम्भीर घाइते हुनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला पु¥याइयो तर अस्पतालले यहाँ उपचार सम्भव नहुने भन्दै अन्यत्र रेफर गरिदियो । सुर्खेत लैजान आफन्तले सिमकोट विमानस्थल पु¥याए पनि विमानस्थलमै उहाँको निधन भयो ।

चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीय बासना शाहीलाई सुत्केरी बेथाले च्याप्दा परिवारले तत्कालै जिल्ला अस्पताल पु¥याए । अस्पतालले उहाँलाई पनि सिधै प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिदियो । सिमकोट गाउँपालिका–४, बुराउँसेकी २५ वर्षीय अस्मिता बुढा (लामा) लाई पनि सुत्केरीका लागि जिल्ला अस्पताल हुम्ला पु¥याइँदा त्यसै गरी प्रादेशिक अस्पताल सुर्खेत रेफर गरियो । सिमकोट–५ की बेलु रोकाया आफ्ना पाँच वर्षीय छोराको उपचारमा आएका बेला अस्पतालपरिसरमा भेटिनुभयो । उपचार गर्ने चिकित्सक भने नभेटिएको गुनासो उहाँले गर्नुभयो । 

कर्णालीको विकट हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालका यी केही प्रतिनिधि घटना मात्रै हुन् । यस्ता धेरै घटना दिनदिनै हुने गर्छन् । १५ शय्याको यो अस्पतालमा कहिल्यै दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक हुँदैनन् । यसका कारण यहाँका जनताले उपचार पाउने सपना अधुरै रहने गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय तथा अस्पतालका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार अस्पतालमा ठुलै सङ्ख्यामा चिकित्सकीय दरबन्दी छ । नवौँ तहका विशेषज्ञ चिकित्सकका मात्रै तीन वटा दरबन्दी छन् । तिनमा एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, एक जना जनरल सर्जन र एक जना नसा तथा हाडजोर्नी रोगका चिकित्सकको दरबन्दी छ । यी तीन वटै दरबन्दी अहिले रिक्त छ ।

त्यस्तै चार जना मेडिकल अधिकृत (आठौँ तह) का दरबन्दी छन् । अन्य तीन जनाको पदपूर्ति भए पनि उनीहरू एक जना अध्ययन बिदा र एक जना सुत्केरी बिदामा छन् । अर्का एक जना पनि अहिले अस्पतालमा छैनन् । यस्तै अस्पतालमा एक जना मेडिकल अधिकृत निक साइमन नामक संस्थाबाट स्वयंसेवी रूपमा र दुई जना छात्रवृत्ति करारका चिकित्सक छन् । एक जना डेन्टल सर्जन, तीन जना अहेव, चार जना जनरल नर्सिङसहितका दरबन्दी पनि अस्पतालमा छन् तर सधैँ जसो यी दरबन्दी पूर्ण हुँदैनन् । कतिपय अवस्थामा अस्पतालमा एक जना पनि चिकित्सक हुँदैनन् ।

प्रमुख डा. तिवारी भन्नुहुन्छ, “विशेषज्ञ चिकित्सक त आउनै नमान्दा सेवा प्रवाहमा कठिनाइ छ । अस्पतालले दैनिक रूपमा इमर्जेन्सी सेवा, ल्याब सेवा, एक्सरे सेवा, भिडियो एक्सरेदेखि जिल्लामै सुत्केरी गराउने व्यवस्था भने मिलाउँदै आएको छ ।”