नीराजन परियार
चौमाला (कैलाली), चैत १९ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा (डीगाउँ) मा सञ्चालन गरिएको निःशुल्क चियाघर यतिबेला ज्येष्ठ नागरिकको भेटघाट र खुसी साट्ने, संवाद गर्ने केन्द्र बनेको छ । एक महिनाअघि जुगेडा डीगाउँमा ज्येष्ठ नागरिकको सम्मानका लागि ज्येष्ठ नागरिक निःशुल्क चियाघर सञ्चालन गरिएको हो । निःशुल्क चियाघरमा हजुरबुवा र हजुरआमा चिया पिउन र फुर्सदको समयमा आफ्ना अनुभव र कथा सुनाउँदै समय बिताइरहेको दृश्य देखिन्छ ।
निःशुल्क चियाघर तथा पुस्तकालयका सञ्चालक पृथ्वी शाहले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएकाले सम्मानसाथ समय बिताउने वातावरण सिर्जना गर्ने उद्देश्यले निःशुल्क चियाघर सुरु गरेको बताउनुभयो । उहाँले आफ्ना आमाबुवाको सम्झनामा सञ्चालन गरेको निःशुल्क चियाघरमार्फत समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान, माया र आत्मीयताको भावना अभिवृद्धि गर्ने नयाँ काम सुरु गरेको बताउनुहुन्छ ।
बाजुरा घर भएर हाल धनगढी जुगेडा निवासी समाजसेवी शाहले आफ्नै कमाइको केही अंश समाजका ज्येष्ठ नागरिकको सेवामा लगाउने उद्देश्यले यो पहल गरेको बताउनुहुन्छ । आगामी दिनमा धनगढी उपमहानगरपालिका–१९ मा निःशुल्क चियाघर सेवा विस्तार गर्ने बताउँदै उहाँले अहिले वडा नं. १५ मा कामसमेत सुरु गरिसकेको जनाउनुभयो ।
ज्येष्ठ नागरिक समाजका गहना, प्रेरणाका स्रोत र जीवित इतिहास भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकका लागि हिँडडुल, योग गर्न पार्क निर्माण गर्ने अभियान पनि थालनी गरेको उहाँको भनाइ छ ।
उहाँले स्थानीय सरकारसँग माग पनि गरेको बताउँदै सरकारबाट सम्भव नभए आफ्नै जमिनमा पार्क बनाउने तयारी गरेको बताउनुभयो । धनगढीको जुगेडामा स्थापना भएको यो निःशुल्क चियाघरमा अनुभव आदानप्रदान गर्ने, पुराना सम्झना साट्ने र सामाजिक सम्बन्ध बलियो बनाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
आयुर्वेदिक चियाको स्वादसँगै पत्रपत्रिका र विभिन्न पुस्तक पढ्न पाउने सुविधासमेत सो घरमा रहेको छ । प्रत्येक दिन बिहान घरनजिकै निःशुल्क रूपमा चिया खान पाउँदा खुसी लागेको स्थानीय ज्येष्ठ नागरिक अजवसिंह डङ्गौरा थारूले बताउनुभयो ।