• १८ चैत २०८२, बुधबार

छात्रावासमै विद्यार्थीले जन्माइन् बच्चा

blog

तस्बिर : एआई

भैरहवा समाचारदाता

भैरहवा, चैत १८ गते । पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थी (छात्रा) ले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ । कक्षा ११ मा अध्ययनरत एक छात्रा कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो । 

टाढाबाट आएको हुनाले विद्यालयले उहाँलाई छात्रावास उपलब्ध गराएको थियो तर विद्यार्थी गर्भवती भएको विषयमा विद्यालय प्रशासन, शिक्षक तथा होस्टेल व्यवस्थापनलाई पूर्वजानकारी नभएको भन्दै स्थानीयले गम्भीर लापर्बाही भएको आरोप लगाएका छन् । घटना भएको राति छात्राले छात्रावासमै बच्चा जन्माएपछि होस्टेल वार्डेनको सहयोगमा उहाँलाई तत्काल आफन्तको सम्पर्कमा ल्याएर उपचारका लागि बुटवल पठाइएको थियो । त्यहाँका विद्यार्थीका अनुसार सुत्केरी हुनुअघिसम्म पनि ती छात्रा नियमित कक्षामा सहभागी हुनुका साथै विद्यालयमा सञ्चालित परीक्षामा समेत सहभागी हुनुभएको थियो ।

स्थानीय बासिन्दाले भने यो घटनाले विद्यालयको निगरानी र जिम्मेवारीमाथि प्रश्न उठेको बताएका छन् । “नौ महिनासम्म छात्राको अवस्था थाहा नपाउनु विद्यालयको गम्भीर कमजोरी हो,” एक स्थानीयले भन्नुभयो, “यस्तो लापर्बाहीप्रति सम्बन्धित पक्षलाई जिम्मेवार बनाउनु पर्छ ।”

घटनापछि अभिभावक र स्थानीय तहमा विद्यालयप्रतिको विश्वास कमजोर भएको गुनासोसमेत बढेको छ । छात्रावासमा बस्ने विद्यार्थीको नियमित स्वास्थ्य अवस्था, परामर्श तथा निगरानी प्रणाली प्रभावकारी नभएको भन्दै सुधारको माग गरिएको छ । विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले घटना भएको स्वीकार गर्दै यसबारे आफूहरूले बच्चा जन्मिएपछि मात्र जानकारी पाएको बताउनुभयो । 

“ती विद्यार्थी टाढाबाट आएकी हुनाले होस्टेलमा बस्दै आएकी थिइन् । सुत्केरी भएको कुरा हामीलाई पछि मात्रै थाहा भयो,” उहाँले भन्नुभयो, “तत्काल अभिभावकलाई खबर गरेर जिम्मा लगाएका छौँ ।” उहाँले घटनाबारे थप अनुसन्धान गर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छात्रावास व्यवस्थापनलाई निर्देशन दिएको बताउनुभयो ।